तस्वीरः गुगल ।

हेटौंडाः नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक व्यवस्थापनका विषयमा आज हेटौंडा उपमहानगरपालिकामा सरोकारवालाबीच छलफल भएको छ । लकडाउनका कारण नयाँ शैक्षिक सत्रको पठनपाठन कहिलेबाट सुरु हुने भन्ने यकिन नभए पनि परिस्थिति सामान्य भएलगत्तै पठनपाठनलाई सुचारु गर्न आवश्यक तयारी स्वरुप पाठ्यपुस्तक आपूर्तिको अवस्थाका बारेमा छलफल भएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको अग्रसरतामा भएको छलफलमा पुस्तक व्यवसायीले संस्थागत विद्यालयको ७० प्रतिशत पाठ्यपुस्तक आइसकेको र सरकारी विद्यालयको पाठ्यपुस्तक जनक शिक्षा सामग्रीको चितवनस्थित क्षेत्रीय कार्यालयले नै उपलब्ध नगराएका कारण ल्याउन नसकिएको बताएका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष बासु न्यौपानेले संस्थागत विद्यालयको पाठ्यपुस्तक आएको र सरकारी विद्यालयका पाठ्यपुस्तक चितवनमै आइनपुगेको बताउनुभयो । छलफलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीले यस वर्ष जटिल परिस्थितिका कारण संस्थागत विद्यालयको पाठ्यपुस्तक गत वर्षकै लागु गरिने भएको जानकारी दिनुभयो ।

छलफलमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाले सहज र सर्वसुलभ रुपमा विद्यार्थीलाई पाठ्यपुस्तक वितरणको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले पाठ्यपुस्तकमा सम्भव भएसम्म सहुलियत एवम् छुट गर्न पनि आग्रह गर्नुभयो । लकडाउनका कारण अभिभावक मर्कामा परेको उल्लेख गर्नुहुँदै व्यवसायीले सामान्य अवस्थामा भन्दा अहिलेको अवस्थालाई हेरेर अभिभावक र विद्यार्थीको सहजतालाई ध्यान दिन जोड दिनुभयो । पुस्तक तथा स्टेशनरी व्यवसायी संघका निवर्तमान अध्यक्ष अजीत थापाले भने केही विद्यालयले कानून विपरित पाठ्यपुस्तक विद्यालयबाटै विक्री गरिरहेको भन्दै उपमहानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।

उपमहानगरपालिकामा भएको छलफलले संस्थागत र सरकारी दुबै विद्यालयको पाठ्यपुस्तक एकसाथ विक्री सुरु गर्ने, लकडाउनपछि अवस्था सामान्य भएपछि मात्रै विक्री वितरण गर्ने निर्णय समेत गरेको छ । छलफलमा राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद चौलागाईको पनि उपस्थिति रहेको थियो ।