फाइल तस्विर ।

हेटौंडाः आज सोमबार फागू पूर्णिमाको अवसरमा पहाडी जिल्लामा होली खेलिँदै छ । हरेक वर्ष सरकारले पहाडी जिल्लामा पूर्णिमाका दिन र तराईका जिल्लामा भोलिपल्ट सार्वजनिक विदा दिने गरेको छ ।

फागू पूर्णिमालाई तराई मधेशमा होली भन्ने गरिन्छ । यो पर्वमा विभिन्न रङहरु एक अर्कालाई लगाउने र खुशीयाली साटासाट गर्दै रमाइलो गरी मनाइन्छ । यसलाई रङहरुको पर्व पनि भनिन्छ । एक–आपसमा भएका शत्रुता भुलेर खुशीयाली मनाउँदै रङहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।
नेपालमा पहाडी र तराई क्षेत्रमा अलगअलग दिन होली खेल्ने प्रचलन रहेको छ । हिन्दू धर्मावलम्बीहरुका अनुसार दानवतामाथि मानवताको विजय भएको खुशीयालीमा यो पर्व मनाउने गरिन्छ । बजारमा पनि होलीको रौनक देखिएको छ । बजारका पसलहरुमा होली खेल्दा लगाइने कपडा, रङहरु, विभिन्न प्रकारका होली खेल्ने सामग्री बिक्रीका लागि राखिएका छन् । विद्यालय तथा कलेजहरुमा आइतबार नै होली खेलिएका छन् ।

होलीमा हुने भिडभाड र विकृतिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले इच्छाविपरित कसैलाई रङ नलगाउन सूचित गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गरी नेपालीहरुको साझा पर्वलाई सभ्य, शिष्ट र मर्यादितरुपमा मनाउन आग्रह गरेको छ । नारद पुराण र भविष्य पुराणजस्ता प्राचिन ग्रन्थहरूमा होली पर्वको बारेमा वर्णन गरिएको संस्कृतिविद्हरुको भनाई छ । भारतको रामगढमा रहेको ईसापूर्व ३ सय वर्ष पुरानो एउटा अभिलेखमा यस पर्वबारे चित्रण गरिएको पाइन्छ । संस्कृत साहित्यमा बसन्त ऋतु र बसन्तोत्सवको रुपमा फागु पूर्णिमा अर्थात् होलीको वर्णन गरिएको पाइन्छ । नेपालमा निकै हर्षोल्लासका साथ मनाइने यस पर्व दशैंतिहारजस्तै गरी मनाइन्छ ।

होलीको करिब एक हप्ताअघि काठमाडौंको बसन्तपुर दरवारअगाडि चिर ठड्याएर होलीको सुरुवात गरिन्छ । होलीको अघिल्लो साँझ ‘होलिका दहन’ गर्ने गरिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा प्रल्हादलाई मार्न अग्निमा आशन गर्दा होलिका आफैं जलेर नष्ट भएको र असत्यमाथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । हिन्दू धर्म मान्नेहरुको बाहुल्यता रहेको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइन्छ । होलीमा पानी छ्याप्ने, विभिन्न प्रकारका रङ लगाउने चलन छ । होलीमा इच्छाविपरित रङ दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, मादकपदार्थ र नशालु पदार्थ खाएर होहल्ला गर्नेजस्ता विकृति देखिने गरेको छ ।