नेपाली समाजमा बालविवाहको समस्या विकराल बनिरहेको छ । विगतमा तराई क्षेत्रमा बढी हुने गरेको बालविवाह अहिले सबैतिर उस्तै बन्दै गएको छ । मकवानपुर जिल्लामा पनि पछिल्लो समय बालविवाहका घटना वृद्धि हुँदै गएको छ । जिल्लाका स्थानीय तहहरु धमाधम बालमैत्री घोषणा भइरहेको र घोषणा गर्ने तयारीमा रहेको भए पनि जिल्लामा बालविवाह बढ्दै जानुले बालमैत्री घोषणा निरर्थक बनिरहेको छ । मकवानपुर जिल्लामा बालविवाह व्यापक भइरहेको भन्ने प्रमाण २० वर्ष उमेर नपुगी आमा बन्नेको संख्या उल्लेख्य रहनुले दिएको छ । हेटौंडा अस्पतालमा प्रसुति सेवा लिन आउने गर्भवती तथा सुत्केरी गराउन आउनेमध्ये ७ प्रतिशतभन्दा बढी किशोरी भेटिनुले बालविवाह भयावह बन्दै गएको अनुमान गर्न सकिन्छ । बालविवाहको विरुद्धमा कानुनी व्यवस्थाका साथै विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु क्रियाशील भइरहेको अवस्थामा बालविवाह बढ्दै जानुले राम्रो संकेत गर्दैन ।

हेटौंडा अस्पतालमा पुस महिनामा मात्रै ३१ जना किशोरी आमा बनेका छन् । ३ सय ४९ जना महिलाहरु सुत्केरी भएकोमा ३१ जना २० वर्षभन्दा कम उमेरमै आमा बन्नेहरु भेटिएका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा हेटौंडा अस्पतालमा १३७ जना किशोरी आमा बनेका छन् । साउनमा २०, भदौमा ३०, अजोसमा १८, कात्तिकमा २० र मंसिरमा १८ जना किशोरी आमा बनेका छन् । मासिक औसत ३२० जना गर्भवतीले अस्पतालबाट प्रसुती सेवा लिँदा औसत २३ जना किशोरी आमा बन्ने गरेको हेटौंडा अस्पतालको तथ्यांकले देखाउँछ । यो तथ्यांक हेटौंडा अस्पतालमा आएर प्रसुती सेवा लिएकाहरुको भए पनि जिल्लाका अन्य अस्पताल वा स्वास्थ्य केन्द्रमा प्रसुती सेवा लिन आउनेहरुको अवस्था पनि यस्तै हुनसक्ने अनुमान गर्न सकिन्छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु एउटा समस्या हो भने त्योभन्दा पनि ठूलो समस्या २० वर्षभन्दा कम उमेरमा सन्तान जन्माउनु हो । किशोरावस्थामा सन्तान जन्माउँदा शिशु र आमा दुबैलाई जोखिम हुने गर्दछ ।

नेपालमा बालविवाह कानुनीरुपमा दण्डनीय छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नहुने कानुनी व्यवस्था भए पनि बालविवाहको क्रम रोकिएको छैन । बालविवाहको विरुद्धमा समाजमा विभिन्न माध्यमबाट सचेतना फैलाए पनि बालविवाहको क्रम नरोकिएपछि कानुनीरुपमा बालविवाहलाई दण्डनीय बनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पुगेको हुुनुपर्ने व्यवस्था गरेको छ । २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । बालविवाहको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था उक्त ऐनमा छ । यस्तै, मुलुकी देवानी संहिता, २०७४ ले पनि विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ । उक्त ऐनमा पनि तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने र ऐनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोही कारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिनेछैन भनी व्यवस्था गरेको छ ।

विगतमा अभिभावकमा चेतनाको कमीले अभिभावककै करकापबाट हुने गरेको बालविवाह पछिल्लो समय केटाकेटीकै अपरिपक्व निर्णयबाट भइरहेको पाइन्छ । अझ मोबाइल फोन र सामाजिक सञ्जालले कम उमेरमै हुने प्रेम सम्बन्धको उपज बालविवाह बन्नु थप चुनौती देखिएको छ । सामाजिक समस्या र कानुनीरुपमा दण्डनीय रहेको बालविवाह भइरहनुले समाज सचेत हुन नसकेको र कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको पुष्टि गर्दछ । बालविवाह हुनु एउटा समस्या हो भने त्यसका कारण किशोरावस्थामा नै आमा बन्नु अर्को समस्या बनिरहेको छ । यसले मातृशिशु स्वास्थ्यमा जटिलता सृजना गर्नुका साथै बालमैत्री स्थानीय शासन कार्यान्वयनमा पनि थप चुनौती प्रदान गर्ने निश्चित छ ।