हेटौंडाः हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत तेक्वान्दो खेलका खेलाडी छानिएका छन् । मंगलबार हेटौंडा–४, कर्रास्थित कभर्ड हलमा सम्पन्न छनोट प्रतियोगितामा महिलातर्फ ३ वटा तौल समूहमा ११ जना र पुरुषतर्फ ३ वटा तौल समूहमा १२ जना खेलाडी छनोट भएको मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभएको छ ।
पुरुषतर्फ ४५ केजी समूहमा युसुफ हुसेन प्रथम, विवेक ब्लोन द्वितीय, जेनिस चौलागाई र वैभव भट्ट तृतीय भए । ४८ केजी तौल समूहमा अरविन घलान प्रथम, समीर तामाङ द्वितीय, संगम थिङ र निमेष पोखरेल तृतीय भए । ५१ केजी तौल समूहमा इमरान बज्यु प्रथम, दिपेश आले मगर द्वितीय, रस्किन अधिकारी र चुनदीप तितुङ तृतीय भएका छन् ।
महिलातर्फ ४२ केजी तौल समूहमा रमिसा राई प्रथम, मोनिका साह द्वितीय, अर्पणा गोले र ईमिना गोले तृतीय भए । ४४ केजी तौल समूहमा कविना राई प्रथम, प्रनिका राजथला द्वितीय, भूमिका श्रेष्ठ तृतीय भए । ४६ केजी तौल समूहमा कृष्मा ब्लोन प्रथम, शुभेच्छा घलान द्वितीय, रिचा लामा र नाम्सा शाक्य तृतीय भएका छन् । सरकारी तथा निजी गरी १५ वटा विद्यालयका ४६ जना विद्यार्थी छनोट प्रतियोगितामा सहभागी थिए ।
पालिकास्तरीय छनोट प्रतियोगिताबाट छानिएका विद्यार्थी खेलाडीले अब जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्नेछ । यस वर्ष हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविको व्यवस्थापन तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको हो । प्रतियोगिता सञ्चालनमा मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी तथा प्रशिक्षकहरुले प्राविधिक सहयोग गरेका थिए ।