सांकेतिक चित्र ।

हेटौंडाः हेटौंडाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्रीको अभाव भएको छ । हेटौंडा—५, गर्दोइमा रहेको लक्ष्मी आधारभूत विद्यालयका केही विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री अभाव रहेको विद्यालयले जनाएको छ ।

विपन्न विद्यार्थीको बाहुल्यता भएकाले विद्यालय पोशाक र शैक्षिक सामग्रीको अभाव भएको विद्यालयका शिक्षक सावित्री अधिकारीले जानकारी दिनुभयो । ज्याला मजदुरी गरी दैनिकी चलाउने अभिभावकका बालबालिका विद्यालयमा अध्ययन गर्न आउने उहाँले बताउनुभयो । विद्यालयमा ३ जना घरेलु बालश्रमिक अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो । आर्थिक अभावका कारण उनीहरुले कपी, कलमजस्ता शैक्षिक सामग्री खरिद गर्न नसक्ने उहाँको भनाइ छ ।

विद्यालयको आन्तरिक स्रोतबाट केही विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको शिक्षक अधिकारीले बताउनुभयो । सबै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको क्षमताले नपुग्ने उहाँले स्पष्ट पार्नुभयो । विद्यालयमा अध्ययनरत केही विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री आवश्यक परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले जाडो मौसम छ । विद्यार्थीहरु स्वीटर नलगाई विद्यालय आउँछन् । स्वीटर नहुँदा दैनिक बढ्दै गरेको चिसोका कारण विद्यार्थीहरु विद्यालयसम्म आउन सकेका छैनन् ।”

विद्यार्थीलाई पोशाक लगाएर विद्यालय आउन आग्रह गर्दा विद्यार्थीले आर्थिक समस्या देखाउने गरेको शिक्षक अधिकारीले बताउनुभयो । पछिल्ला २ शैक्षिक सत्रको तुलनामा विद्यालयमा विद्यार्थीको आकर्षण बढेको उहाँले जानकारी दिनुभयो । आधारभूत तहसम्म निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था रहेपनि आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बालबालिका वञ्चित हुनुपरेको उहाँले दावी गर्नुभयो ।

विद्यालयले सञ्चालन गरेको प्रथम त्रैमासिक परीक्षामा करिब ३० जना विद्यार्थी अनुपस्थित रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयमा चालु शैक्षिक सत्रमा २ सय ७० जना विद्यार्थी भर्ना भएपनि २ सय ४० जना विद्यार्थीमात्र प्रथम चैमासिक परीक्षामा सहभागी भएको उहाँले बताउनुभयो । विद्यालयले सार्वजनिक गरेको प्रथम त्रैमासिक परीक्षाको नतिजा सन्तोषजनक नभएको भन्दै उहाँले शैक्षिकस्तर सुधार गर्न अतिरिक्त कक्षामा विद्यार्थीलाई जोड दिइएको बताउनुभयो ।

विशेषगरी गणित विषयमा विद्यार्थी कमजोर देखिएको उहाँले बताउनुभयो । तराईका बालबालिकासमेत रहेकाले घरमा जाँदा लामो समयसम्म विद्यालय अनुपस्थित हुने कारण कतिपय विषयवस्तु छुट्दा नतिजा सोचेजस्तो नआएको उहाँको भनाइ छ । अतिरिक्त कक्षामा भने विद्यार्थीको उपस्थिति तुलनात्मकरुपमा उत्साहजनक देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अभिभावक बिहानै मजदुरी काममा जाने भएकाले साना कक्षाका बालबालिका खाना नखाई पढ्न आउने गरेका छन् ।” विद्यालयमा दिवा खाजा वितरणमा समेत समस्या रहेको उहाँले बताउनुभयो । विद्यालय उपस्थिति हाजिरीअनुसार कक्षा ६ सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी १५ रुपैयाँ स्थानीय तहले दिने गरेको भन्दै उहाँले विद्यालयले कक्षा ८ सम्मका विद्यार्थीलाई खाजा उपलब्ध गराएको जानकारी दिनुभयो । जसले गर्दा दिवा खाजाको लागि रकम अपुग भएको उहाँले बताउनुभयो ।