हेटौंडा–२ स्थित सिद्धार्थ माविमा ल्याइएको मतपेटिका । तस्वीरः विनोद बानियाँ/समृद्ध समाज ।

हेटौंडाः मकवानपुर जिल्लामा मतदानको कार्य सम्पन्न भएलगत्तै मतदान केन्द्रबाट मतगणनास्थलमा मतपेटिका ल्याउने कार्य सुरु भएको छ । मकवानपुर जिल्लामा हेटौंडा–२ स्थित सिद्धार्थ माविमा मतगणनास्थल तयार पारिएको छ ।

आइतबार अबेर रातीसम्ममा जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका ल्याइसकिने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभएको छ । मकवानपुरमा १ सय ६७ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदानस्थल कायम गरिएको थियो भने ३ सय ६४ वटा मतदान केन्द्र कायम गरिएको थियो ।

आइतबार सम्पन्न प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लामा १ लाख ७८ हजार २ सय ८२ मत खसेको छ । यो कुल मतदाता संख्याका आधारमा ५९ प्रतिशत हो । ९२ हजार ८ सय ७७ पुरुष तथा ८५ हजार ४ सय महिला र अन्य ५ ले मतदान गरेको मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभएको छ ।

मकवानपुर जिल्लामा ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा मकवानपुर २ लाख ९४ हजार ९ सय १९ जना मतदाता थिए ।