हेटौंडा–२ स्थित सिद्धार्थ माविमा तयार पारिएको मतगणनास्थल । तस्वीरः सुरेश श्रेष्ठ/समृद्ध समाज ।

हेटौंडाः प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य मकवानपुरमा भोलि सोमबार बिहानदेखि मात्रै सुरु हुने भएको छ । आइतबार साँझदेखि मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा ल्याउन सुरु गरिए पनि सबै मतपेटिका आइपुग्दा अबेर राती भइसक्ने जानकारी गराउनुहुँदै मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले भन्नुभयो, ‘भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणनाको कार्य सुरु गर्नेछौं ।’

आइतबार सम्पन्न मतदानमा मकवानपुर जिल्लामा १ लाख ७८ हजार २ सय ८२ मत खसेको छ । यो कुल मतदाता संख्याका आधारमा ५९ प्रतिशत हो । ९२ हजार ८ सय ७७ पुरुष तथा ८५ हजार ४ सय महिला र अन्य ५ ले मतदान गरेको मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभएको छ ।

मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार छन् भने क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार छन् । यस्तै प्रदेश सभा १ को (क) मा १० जना, (ख) मा १५ जना उम्मेदवार छन् । यस्तै २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार छन् ।