संघीय संसदअन्तर्गत्को प्रतिनिधिसभा सदस्य र सातै प्रदेशको प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । आजको चार दिनपछि मतदान हुँदैछ । मतदान गराउने जिम्मेवारी पाएका कर्मचारीहरु भोलिदेखि मतदान केन्द्रमा पुग्दैछन् । राजनीतिक दल, नेता, कार्यकर्ता, उम्मेदवार सबै निर्वाचनको प्रचारमा होमिएका छन् । मतदातालाई आफ्नो पक्षमा मतदान गराउन उम्मेदवार तथा सहयोगीहरु घरदैलो गरिरहेका छन् । तर, आम मतदाता भने निर्वाचनलाई लिएर खासै उत्साहित देखिएका छैनन् । राजनीतिक दल, तिनका नेतृत्व एवम् विगतमा चुनाव जितेर गएका प्रतिनिधिहरुको कार्यशैलीप्रति आम मतदाता सन्तुष्ट हुन सकेका छैनन् । राजनीति विकृत बन्दै गएको र पुराना अनुहार नै निर्वाचनमा खडा भएकाले पनि मतदाता उत्साहित बन्न नसकेका हुन् । राजनीतिक दल र बारम्बार जनताबाट अनुमोदित भई गएका व्यक्तिहरुले देश र जनताको लागि खासै काम गर्न नसकेको हुँदा मतदाताहरु विकल्पको खोजीमा भए पनि दलहरुले उपयुक्त विकल्प दिन सकेका छैनन् ।

आम मतदाताले नयाँ पुस्ताका नेतृत्वको आवश्यकता महसुस गरिरहेका छन् । तर, प्रमुख राजनीतिक दलहरुले अधिकांश क्षेत्रमा ७–८ दशक पार गरिसकेका नेताहरुलाई उम्मेदवार बनाएका छन् । ठूला दलहरुमा प्रभावशाली नेताहरुले गुट–उपगुट सिर्जना गर्दा युवा र क्षमतावानहरुले अवसर पाउन सकिरहेका छैनन् । गत वैशाखको स्थानीय तह निर्वाचनपछि देशव्यापीरुपमा स्वतन्त्र युवा उम्मेदवारको लहर चलेको भए पनि सबै निर्वाचन क्षेत्रमा सक्षम र आशालाग्दा युवा उम्मेदवार मतदाताले फेला पार्न सकेका छैनन् । अर्थात् आम मतदाताले चाहेको र खोजेको जस्तो उम्मेदवार पाएका छैनन् । अधिकांश पुरानै अनुहार दोहोरिएका र विद्यमान राजनीतिकै मूलधारबाट प्रशिक्षित उम्मेदवारका कारण मतदाता पनि दोधारमा देखिएका छन् । दलीय राजनीतिसँग नजिक भएका मतदाताले आफ्नो दलकै उम्मेदवारलाई मतदान गर्ने भए पनि अन्य मतदाता पनि त्यसबाट सजिलै मुक्त हुन सक्ने अवस्था देखिएको छैन ।

लामो समयदेखि अवसर पाएर पनि केही गर्न नसकेका उम्मेदवारलाई भन्दा राजनीतिप्रति आकर्षित भएर देश र नागरिकका लागि केही गर्छु भन्ने भावना र क्षमता भएकालाई मौका दिनु आवश्यक छ । को व्यक्ति कुन पार्टीको हो ? उसले कति वर्ष राजनीतिमा बितायो ? कति पटक सांसद र मन्त्री भयो ? उसको पार्टीमा कस्तो हैसियत छ ? जस्ता कुराहरुमा भन्दा कसले आम नागरिक र देशको लागि योगदान गर्न सक्छ भन्ने आधारमा मतदाताले मतदान गर्न सक्नुपर्छ । कसले कति आश्वासन दिएको छ भन्ने भन्दा पनि को कति इमान्दार र सक्षम छ भन्ने कुरा मतदाताले विचार गर्नुपर्छ । आम मतदाता कसैको लोभलालच र प्रलोभनमा पर्नु हुँदैन । मतदाताले इमान्दार भएर योग्य व्यक्तिलाई मतदान गर्न सकेमा निर्वाचनको औचित्य पुष्टि हुनुको साथै मुलुकले राम्रो प्रतिनिधि पाउन सक्छ ।

पुराना पुस्ताका उम्मेदवारभन्दा नयाँ पुस्ताका युवा उम्मेदवारप्रति आम मतदाताको आशा र विश्वास बढी छ । नयाँ सोच, विचार, योग्यता र क्षमता भएका युवा नेतृत्वको आवश्यकतालाई सबैले स्वीकार गरेका छन् । यति हुँदाहुँदै पनि आफूले चाहेजस्तो लोकप्रिय र आशालाग्दा अनुहार नहुँदा मतदाताले जाहेर गर्ने मत निश्चित हुन सकेको छैन । अहिलेका आम मतदाता पार्टीप्रति अन्धभक्त भएर ‘एकछापे’ मतदान गर्ने मनस्थितिमा देखिएका छैनन् । अहिलेको निर्वाचनबाट संघ तथा प्रदेशको व्यवस्थापिका सदस्य चयन हुन्छन् । उनीहरुले गर्ने मुख्य काम भनेको संघ र प्रदेशको लागि आवश्यक कानुन बनाउने हो । उनीहरुमध्येबाटै संघीय तथा प्रदेश सरकारको नेतृत्व चयन हुन्छ र प्रायः मन्त्रीहरु बनाइन्छ । यसले गर्दा सक्षम नेतृत्व चयनमा मतदाता क्रियाशील बन्नुपर्छ । यसका लागि उनीहरु उत्साहित भएर असल र योग्य प्रतिनिधि चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्नु पर्छ ।