हेटौंडाः हेटौंडामा एक सातामै तरकारीको मूल्य सस्तो भएको छ । एक साताअघि महंगिएका तरकारी अहिले निर्वाचनको चहलपहल बढिरहेका बेलामा सस्तो भएको हो ।
एक साताअघि प्रतिकेजी ८० रुपैयाँ मूल्य पर्ने काउली अहिले प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको छ । प्रतिकेजी एक सय रुपैयाँसम्म पर्ने गोलभेँडा पनि अहिले प्रतिकेजी ५० रुपैयाँमा पाइन्छ । यस्तै, तिहारको समयमा प्रतिकेजी १ सय २० रुपैयाँसम्म मूल्य पुगेको नयाँ आलु अहिले प्रतिकेजी ७० रुपैयाँमा पाइन्छ । पुरानो आलुको मूल्य भने अहिले पनि प्रतिकेजी ५० रुपैयाँ रहेको छ ।
चाडपर्वको समयमा एक्कासी महंगिएको तरकारी अहिले सस्तो हुँदै गएको छ । मौसमी तरकारीको आपूर्ति बढ्न थालेपछि तकारीको मूल्य घटेको हो । एक सातामा ३० रुपैयाँसम्म तरकारीको मूल्य घटेको हेटौंडा—४, खोप्पेगल्लीमा रहेको थोक तरकारी बजारका व्यापारी जितेन्द्र साहले जानकारी दिनुभयो ।
अहिले बरेला प्रतिकेजी ७० रुपैयाँ, काउली ५० रुपैयाँ, ब्रोकाउली १ सय २० रुपैयाँ, अदुवा १ सय २० रुपैयाँ, कारेला ७० रुपैयाँ, परबल ५० रुपैयाँ, स्कुस ३५ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, बजारमा बन्दा प्रतिकेजी ५० रुपैयाँ, भण्टा ५० रुपैयाँ, मुला ७० रुपैयाँ, प्याज ६० रुपैयाँमा पाइने साहले जानकारी दिनुभयो ।
पसलैपिच्छे तरकारीको मूल्य फरक हुँदा उपभोक्ता भने मारमा पर्ने गरेका छन् । सोही बजारमै रहेको कुनै तरकारी पसलमा प्रतिकेजी ५० रुपैयाँमा पाइने काउली अर्को पसलमा ७० रुपैयाँमा बिक्री भइरहेको पाइएको छ । यस्तै, प्रतिकेजी ५० रुपैयाँमा पाइने गोलभेँडा पनि केही पसलमा त्यसभन्दा बढी मूल्यमा बिक्री भइरहेको पाइएको छ ।
मंगलबार हेटौंडा—४ स्थित खोप्पेगल्लीका तरकारी पसलहरुमा रहेका हरियो तरकारीको खुद्रा बिक्री मूल्य न्यूनतम ३५ रुपैयाँदेखि अधिकता एक सय २० रुपैया“सम्म रहेका छन् । उक्त बजारमा सबैभन्दा सस्तो तरकारी स्कुस रहेको छ भने महंगो तरकारी ब्रोकाउली रहेको छ । चिसो मौसम सुरु भएसँगै काउली, ब्रोकाउली, आलु, परबल, बरेला, पालुङ्गो साग, मेथीको साग र चम्सुरको सागजस्ता मौसमी तरकारीहरु बजारमा आउन आउन थालेको छ । मौसमी तरकारी भित्रिन सुरु गरेपनि उपभोक्तले खोजेजस्तो तरकारीको मूल्य सस्तो भने छैन । मौसमी तरकारीको उत्पादन बढेसँगै अब केही दिनमा तरकारीको मूल्य अझ घट्ने सम्भावना रहेको व्यापारीहरुको भनाइ छ ।