सम्झाना अधिकारी प्रधानाध्यापक बालजागृति युवा वर्ष मावि हेटौंडा–६, मकवानपुर

चाडपर्व सकिएसँगै भर्खरै मात्र विद्यालयहरु संचालनमा आएका छन् । दसै, तिहार र छठ पर्वको बिदासँगै यो वर्षको लामो बिदा सकिएको छ । अब विद्यालयहरु नियमित संचालन हुन्छन् । विद्यालयको शैक्षिक तालिका अनुसार पठनपाठन र परीक्षाहरु संचालन हुने समय भएको छ । विद्यालयको पठनपाठन, पाठ्य कार्ययोजना लगायतका विषयमा हेटौंडा–६ स्थित बालजागृति युवा वर्ष माध्यामिक विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीसँग समृद्ध समाज दैनिकका लागि सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुरकानीः

पर्व विदापछि विद्यालय सञ्चालनमा आएको छ । विद्यालयको सञ्चालन, व्यवस्थापन र विद्यार्थीहरुलाई पठनपाठन सम्बन्धी अबको तयारी कस्तो छ ?

अधिकारीः चाडपर्वको बिदाको समयमा विद्यालयमा पठनपाठन बन्द भएपनि प्रशासन भने बन्द भएको थिएन । प्रशासनिक कामहरु निरन्तर चलिरहेको थियो । हामीले त्यतिबेला पनि धेरै कार्ययोजना तयार गरेका छौं । प्रथम त्रैमासिक सुरु हुनुभन्दा एक महिना अगाडि नै हामीले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई विद्यालय समयभन्दा अगाडि र पछाडी एक–एक घण्टा अतिरिक्त कक्षा सन्चालन गरेका थियौँ । अतिरिक्त कक्षा निकै प्रभावकारी भयो । आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने योजना रहेको छ । पुस्तकालयको प्रयोगलाई बढी सक्रिय बनाउने र सानै उमेरदेखि पठन संस्कृतिलाई विकास गर्दै लैजाने गरी शैक्षिक क्रियाकलापलाई अगाडि बढाउने योजना रहेको छ ।

प्रधानाध्यापक हुँदै गर्दा तपाईका मुख्य–मुख्य योजनाहरु के–के रहेको थियो ?

अधिकारीः अन्य विद्यालय जस्तै हाम्रो विद्यालयका अभिभावकहरु आर्थिक रुपमा कमजोर छन् । विद्यालय पनि आर्थिक तथा भौतिक समस्याको कारणले सामान्य कुराहरुमा पनि व्यवस्था गर्न सकेको थिएन । सानो ठाउँको अभावले गर्दा दिवा खाजा समेत पनि सञ्चालन गर्न सकेका थिएनौं । शिशु कक्षाका साना बालबालिकाहरुलाई राखेर पढाउनको लागि उपयुक्त कोठा पनि थिएन । ती अवस्थाहरुलाई मध्यनजर गर्दै मैले स–साना समस्याहरुलाई समेट्दै धेरै योजना बनाएको थिएँ ।

प्रधानाध्यापक हुनु भएपछिको ६ महिनामा तपाइँले आफ्ना योजनाहरु कसरी कार्यान्वयन गर्नुभयो ?

अधिकारीः मेलै प्रअको जिम्मेवारी लिँदै गर्दा शिक्षकहरुसँग एउटा बैठक बोलाएको थिएँ । यो वर्षको प्रमुख योजनाको रुपमा विद्यालयमा विद्यार्थी संख्यामा जोड दिने भनेर शिक्षकहरुलाई प्रतिबद्धता गराएको थिएँ । किनभने न्यून विद्यार्थी हुँदा दरबन्दी कटौती लगायत धेरै समस्याहरु झेल्दै आउनु परेकोले पहिलो प्राथमिकतामा शिक्षकलाई प्रोत्साहनको विषयलाई जोड दिएको थिएँ । बालबालिकालाई बालमैत्री विद्यालयको स्वरुपमा लैजान योजना बनायौं । शिक्षक साथीहरुको कुराहरु सुनेँ र उहाँहरुको समस्या पनि समाधान गर्दै अगाडि बढेँ । त्यसैगरी मैले विद्यालयकै सोतहरु प्रयोग गरेर खेलकुद सम्बन्धी समस्याहरु पनि केही हदसम्म हल गरी बालमैत्री विद्यालय बनाउनेतर्फ अघि बढ्दै छु ।

विद्यालयमा विद्यार्थी कम हुनुको कारण के रहेछ ? के कारणले गर्दा विद्यार्थी आकर्षण गर्न सकिएन ?

अधिकारीः हाम्रो विद्यालयको मुख्य समस्या भनेको नै न्यून विद्यार्थी संख्या हुनु नै हो । अहिले ३ सय जना बालबालिका अध्ययन गरिरहेका छन् भन्न पाउनु मेरो खुसीको कुरा हो । अहिलेको समयमा अंग्रेजी शिक्षालाई विशेष प्राथमिकता दिने भएकोले सामुदायिक विद्यालयप्रति विद्यार्थीहरु कम आकर्षित भएको हो जस्तो मलाई लाग्छ । हामीले विगतका वर्षमा विभिन्न समस्याका कारणले अंग्रेजी माध्यममा पठनपाठन गर्न नसकिरहेको अवस्था भएकोले त्यतिबेला विद्यार्थी संख्या कम भएको हो ।

विगतका वर्षहरुमा हामीले समाजका आवश्यकता अनुसार अंग्रेजी माध्यममा पठनपाठन गर्न नसक्नु र बालमैत्री वातावरण तयार गर्न नसकेको कारणले हाम्रो विद्यालयमा विद्यार्थी संख्या कम भएको थियो । समाजको आवश्यकता अनुसारको प्रभावकारी शिक्षा प्रदान गर्नका लागि सबैभन्दा प्रमुख समस्या भनेको हाम्रो आर्थिक तथा भौतिक अभाव हो । अन्य विद्यालयको तुलनामा भौतिक सुविधाहरु कम हुनु, प्रशासनिक कर्मचारीको अभाव हुनु र आर्थिक रुपमा कमजोर हुनु नै प्रमुख समस्याहरुको रुपमा रहेका छन् । त्यसलाई चिर्दै समाजको आवश्यकता अनुसार विद्यालयलाई परिवर्तन गरेर नयाँ नयाँ योजनाहरु ल्याएर काम गर्ने योजना रहेको छ ।

शिक्षक हुँदा र प्रधानाध्यापक हुँदाको जिम्मेवारीमा कत्तिको फरक पाउनुभएको छ ?

अधिकारीः शिक्षक मात्र हुँदा र प्रधानाध्यापक हुँदामा धेरै भिन्नता छ । शिक्षक मात्र हुँदा मैले एउटा मात्र विषयमा ध्यान दिन पर्थ्यो । अहिले प्रधानाध्यापक हुँदा जिम्मेवारीको बढेको छ । विद्यालयमा भएका सबै विद्यार्थीहरुको ख्याल राख्नु पर्छ । अभिभावकको गुनासो सुन्नु पर्छ । शिक्षकहरुको समस्या र त्यसको समाधानमा कदम चाल्नु पर्छ । अहिले प्रशासनिकसँगै शिक्षणको काम पनि गर्दा भूमिका बढेको छ । शिक्षामा कर्मचारीको अभाव छ । शिक्षक हुँदा धेरै अपेक्षाहरु हुने । शिक्षकले प्रशासनबाट गरेको अपेक्षा पूरा गर्नुपर्छ । चाहेर पनि सबै अपेक्षाहरु पुरा गर्न सकिँदैन । तर, सबै शिक्षकहरुको आवश्यकता पूरा गर्न कोशिश गरिरहेको छु ।

विद्यार्थीमा कस्तो कमजोरी भएको कारण विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र प्रभावकारी शिक्षा संचालन गर्न सकेन ?

अधिकारीः जुन वातावरणमा बालबालिका हुर्केको हुन्छ त्यसलाई हामीले निरन्तरता दिन सकेका छैनौं । अहिले प्रविधिको समय आएको छ । शिक्षालाई पनि प्रविधिसँग जोडेर हेर्नु पर्ने समय आएको छ । तर, हामीसँग स्रोत, साधन र आर्थिक, भौतिक उपलब्धताको कमीका कारण शैक्षिक गुणस्तर अभिवृद्धि गरी प्रभावकारी शिक्षा संचालन गर्न सकिएको छैन ।

विद्यालयका सकारात्मक पक्षहरु के–के छन् ?

अधिकारीः अन्य विद्यालयको तुलनामा शिक्षकहरुको शिक्षण शैलीपनि अत्यन्तै प्रभावकारी रहेको छ । नियमितता, अनुशासन लगायत सम्पुर्ण कुरा हेरेर धेरै टाढा टाढाका विद्यार्थीहरु पनि पढ्न आउँछन् । यही नै हाम्रो विद्यालयको सकारात्मक पक्ष हो । शिक्षकहरुलाई पनि जिम्मेवारी दिनु पर्ने रहेछ ।

अभिभावकहरुबाट सबैभन्दा बढी कस्तो–कस्तो गुनासो आउँछ ?

अधिकारीः सुरुमा अभिभावकले बच्चाहरु पढ्नमा ध्यान नै दिँदैन भन्ने गुनासो सबैभन्दा बढी र साझा रुपमा आउने गरेको छ । शिक्षकहरुले गृहकार्य जाँच गर्नुभएन, विद्यालयले विद्यार्थीको पढाइ सम्बन्धी चासो भएन जस्ता गुनासाहरु आउँछन् । उहाँहरुको गुनासाहरुलाई हामीले सकारात्मक रुपमा लिएर सुधार गर्दै आएका छौं । हामीले अभिभावकका गुनासोलाई कहिल्यै नकारात्मक रुपमा लिएनौं बरु हामीले त्यसलाई अवसरको रुपमा प्रयोग गर्दै आएका छौं ।