संघीय संसदको प्रतिनिधिसभा र प्रादेशिक संसदको प्रदेशसभा सदस्य निर्वाचन आउन २ साता बाँकी छ । प्रतिनिधिसभा र सातैवटा प्रदेशसभा सदस्यको निर्वाचनका लागि आगामी मंसिर ४ गते आइतबार एकैदिन मतदान हुँदैन । प्रतिनिधिसभाका एक सय ६५ र सातैवटा प्रदेशसभाका ३ सय ३० जना सदस्यका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ मतदान हुनेछ भने समानुपातिकतर्फ प्रतिनिधिसभाको एक सय १० र प्रदेशसभाको २ सय २० सदस्य निर्वाचनका लागि पनि सोही दिन मतदान सम्पन्न हुनेछ । निर्वाचनपछि आगामी ५ वर्षका लागि संघीय र प्रदेश व्यवस्थापिका गठन हुनेछ र सोही व्यवस्थापिकाले संघीय सरकारको प्रधानमन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीहरु निर्वाचित गर्नेछ । त्यससँगै संघ र प्रदेशमा नयाँ सरकार बन्नेछ ।

निर्वाचन कार्यक्रमअन्तर्गत् मतदानको मिति नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरु आ–आफ्नो प्रचारप्रसारमा व्यस्त बनिरहेका छन् । आमसभा, कोणसभा, घरदैलोलगायतका चुनाव प्रचार कार्यक्रमको चटारोले उम्मेदवारहरुलाई भ्याईनभ्याई भइरहेको छ । आसन्न निर्वाचनकै सन्दर्भमा हिमालयन टेलिभिजनले सातै प्रदेशका राजधानीमा चुनावी बहस कार्यक्रम महासंग्राम सञ्चालन गर्ने क्रममा बागमती प्रदेशको राजधानी हेटौंडामा हंगामा भएको छ । स्थानीय क्वीक २० होटलमा आयोजित प्रत्यक्ष प्रसारणसहितको महासंग्राम कार्यक्रम सुरु भएपछि कार्यक्रममा अवरोध गरिएको थियो । हाम्रो नेपाली पार्टीका मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारले बहस कार्यक्रममा आफूहरुलाई मञ्चमा स्थान नदिएको भन्दै कार्यक्रममा अवरोध गरेका थिए । चुनावी बहस कार्यक्रम भएकाले उम्मेदवारलाई मात्र मञ्चमा स्थान दिनुपर्ने भन्दै कार्यक्रममा अवरोध गरिएको थियो ।

एउटा राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा आफूहरुलाई मञ्चमा नराखिएको भन्दै अराजकता प्रदर्शन हुनु शोभनीय मान्न सकिँदैन । टेलिभिजन कार्यक्रम प्रस्तोताले मञ्चमा प्रतिनिधिमूलक उम्मेदवार र विश्लेषक राखेर कार्यक्रममा सहभागी सबैलाई पालैपालो आफ्नो विचार व्यक्त गर्न दिने बताउँदा–बताउँदै कार्यक्रम नै रोक्नुपर्ने गरी अवरोध गर्दा उम्मेदवारको शालिनता र भद्रतामाथि प्रश्न उठेको छ । मिडिया निरंकुश भएको, पैसामा बिकेको, दलाली गरेको जस्ता आरोप लगाउँदै कार्यक्रममा गरिएको अवरोधले प्रेस स्वतन्त्रतालाई नै चुनौती दिएको छ । आफूलाई स्थान नदिएकै कारण प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अवरोध गर्नु र जथाभावी आरोप लगाउनु उचित होइन । आफूलाई चित्त नबुझेको कुरा व्यक्त गर्ने अधिकार हरेक नागरिकलाई छ । शालीन र भद्र किसिमबाट पनि आफ्ना असन्तुष्टि राख्न सकिने अवस्था हुँदाहुँदै कार्यक्रम नै बिथाल्नेगरी प्रस्तुत हुँदा उम्मेदवारको हैसियतमाथि प्रश्न उठ्न सक्छ ।

निर्वाचनमा हरेक उम्मेदवारले आफ्नो एजेण्डा र कार्ययोजनाले मतदाता आकर्षित गर्नुपर्ने हुन्छ । तर, निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई कमजोर देखाएर मतदाता आकर्षित गर्ने गलत परिपाटी नेपाली राजनीतिमा व्याप्त छ । आफ्नो कमजोरी ढाक्न अरुको कमजोरीलाई उजागर गरेर आफू चोखो बन्ने प्रवृत्तिले सबैलाई ग्रस्त बनाएको छ । पुराना र ठूला राजनीतिक दलहरुका नेतृत्वको सत्तालिप्सा र पदलोलुपताका कारण मतदाताहरु वैकल्पिक र स्वतन्त्र छवि भएका उम्मेदवारतर्फ आकर्षित हुनसक्ने सम्भावना देखिइरहेको अवस्थामा आफूलाई स्वतन्त्र भन्दै चुनाव प्रचार गरिरहेका उम्मेदवारहरुबाटै अभद्र व्यवहार प्रदर्शन हुनुले राम्रो संकेत गर्दैन । निर्वाचनमा उम्मेदवारहरुबीच सौहार्द सम्बन्ध र स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । मित्रवत् प्रतिस्पर्धा नै निर्वाचनको सुन्दर पक्ष हुने भएकाले उम्मेदवारले संयमता देखाउनु आवश्यक छ ।