तस्बीरःगुगल ।

हेटौंडाः नेपाली हिन्दूहरुको दोस्रो प्रमुख चाड तिहार सुरु भएको छ । तिहारको मुख्य दिन भाइटीकाको उत्तम साइत यस वर्ष विहान ११ः३७ बजेलाई निर्धारण गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गत बुधबार यस वर्षको तिहारको शुभसाइतहरु सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेअनुसार यस वर्ष कार्तिक १० गते परेको भाइटीकाको शुभसाइत विहान ११ः३७ मा रहेको छ ।

हरेक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिनदेखि तिहार सुरु हुन्छ । कार्तिक शुक्ल पक्षको द्वितीया सम्म ५ दिन तिहार मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कार्तिक ५ गते शनिबारका दिन यमदीपदान अर्थात् धनत्रयोदशी (धन्तेरस) पर्व परेको छ । यो दिन सुन चाँदीजस्ता धातुका वस्तु खरिद गर्नु एकदमै उत्तम मानिन्छ ।

कार्तिक ६ गते आइतबार काग तिहार परेको छ भने ७ गते कुकुर तिहारसँगै लक्ष्मीपूजा पनि रहेको छ । तिथिअनुसार कार्तिक ८ गते हुनुपर्ने लक्ष्मीपूजा उक्त दिन सूर्य ग्रहण लाग्ने भएपछि ७ गते नै लक्ष्मीपूजा गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक ७ गते सोमबार नरक चतुर्दशी परेकाले बिहान झिसमिसेमै तेल लगाएर स्नान गर्नु (नरके नुहाउनु) उचित हुने समितिले जानकारी दिएको छ । सोही दिन कुकुर तिहार, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि रहेको जनाइएको छ ।

यसैगरी कार्तिक ८ गते मंगलबार गाई तिहार रहेको छ । ९ गते बुधबार गोवद्र्धन पूजा, वलीपूजा, हलितिहार, गोरुपूजा तथा म्हपूजा परेको छ । बुधबारबाटै नेपाल सम्वत् ११४३ प्रारम्भ हुनेछ ।

यो वर्ष यमद्वितीया अर्थात् भाइटीका (किजापूजा) कार्तिक १० गते बिहीबार परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलको भनाइ छ । उत्तर फर्केर भाइटीका लगाउनु उपयुक्त हुने उहाँले बताउनुभयो ।