नेपाली हिन्दू धर्मावलम्बीहरुले वडादशैंपछि मनाउने अर्काे ठूलो र महत्वपूर्ण चाड तिहार हो । तिहार कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिनदेखि सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीयाका दिनसम्म मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकका ५ दिन क्रमशः कागतिहार, कुकुरतिहार, गाईतिहार (लक्ष्मी पूजा), गोरुतिहार (गोबद्र्धन पूजा) र भाइतिहार (भाइटीका) पर्दछन् । तिहारकै अवधिमा धनतेरस, धन्वन्तरी जयन्ती, यमदीपदान, नरक चतुर्दशी, म्हःपूजा, किजापूजाजस्ता पर्वहरु पनि पर्दछन् । तिहारकै बीचमा नेपालको मौलिक सम्वत्को रुपमा मनाइँदै आएको नेपाल सम्वत्समेत पर्दछ । नेपाली साहित्य क्षेत्रका महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि तिहारकै समयमा पर्दछ । यसकारण तिहारलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक, सामाजिक, साहित्यिक धेरै प्रकारका विशेषता तिहारसँग जोडिएका छन् ।
यस वर्षको तिहार पर्व घरआँगनमा भित्रिसकेको छ । तिहारलाई उज्यालो पर्वको रुपमा पनि लिइन्छ । झिलीमिली बत्ती, फूलमाला, देउसी–भैलोले यसको सांस्कृतिक पक्ष झल्काउँछन् । जागिर, व्यवसाय, अध्ययन अथवा विभिन्न कारणले घरपरिवारबाट टाढा हुनेहरु चाडपर्वको अवसरमा एकठाउँमा जुट्ने मौका मिल्ने भएकाले पारिवारिक एवम् सामाजिक सुसम्बन्ध कायम राख्न पनि यस्ता चाडपर्वको विशेष महत्व छ । तिहार दाजुभाइ–दिदीबहिनी विशेष पर्वको रुपमा नेपालीहरुमाझ स्थापित छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर एक अर्काको दीर्घायु एवम् सुस्वास्थ्यको कामना गरिन्छ । यसले दाजुभाइ दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । भाइटीका मनाएर तिहारले एकातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय, पवित्र र स्नेह सम्बन्ध देखाउँछ भने अर्कोतिर कागतिहार, कुकुरतिहार, गाई÷लक्ष्मी पूजा, गोबद्र्धन÷गोरु पूजा गरेर मानव तथा पशुबीचको सम्बन्धको उदाहरण प्रस्तुत गर्दछ ।
तिहारका एउटा महत्वपूर्ण विशेषता र नेपालीको मौलिक संस्कृति बनेको छ, देउसी–भैलो । नेपाली परम्परागत संस्कृतिको रुपमा खेलिने देउसी–भैलो पछिल्लो समय विकृत बन्दै गएको छ । देउसी–भैलोको नाममा पाश्चात्य गीत–संगीत गाउने तथा बजाउने क्रम बढेको छ । देउसी–भैलोलाई आर्थिक उपार्जनको माध्यम बनाउने प्रचलन पनि बढ्दै गएको छ । उज्यालो पर्व तिहारमा विभिन्न प्रज्वलनशील र विष्फोटक पदार्थको प्रयोगले पनि विकृति बढाउँदै लगेको छ । तिहारको समयमा जाँडरक्सी अत्यधिक पिउने तथा तास–जुवा खेल्ने क्रम पनि विकृतिका रुपमा बढ्न थालेका छन् । तिहारको समयमा बढी प्रयोग हुने मिठाइलगायत खाद्यान्नमा हुने मिसावट पनि अर्को समस्या बनिरहेको छ । धार्मिक, सांस्कृतिक महत्वका चाडपर्वमा विभिन्न विकृतिजन्य क्रियाकलाप बढ्नु हुँदैन । यस्ता विकृतिलाई हरेक नागरिकले अन्त गर्दै लानुपर्छ ।
यस वर्षको तिहारमा चुनावी माहोल पनि देखिनेछ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण तिहारमा राजनीतिक दलका नेता कार्यकर्ता एवम् उम्मेदवार र समर्थकहरु चुनावी प्रचारप्रसारमा व्यस्त हुनेछन् । आपसी सद्भावको पर्व तिहारले समस्त नेपालीबीच सद्भाव र सहअस्तित्व अभिवृद्धि गर्न मद्दत गरोस् । धार्मिक, सांस्कृतिकरुपमा महत्वपूर्ण हरेक चाडपर्वमा हुने विकृतिजन्य क्रियाकलाप न्यूनीकरण हुनुपर्छ । यस वर्षको तिहार सबै नेपालीले हर्षोल्लाससाथ मनाऔं । तिहारको नाममा हुने सबैखाले विकृति अन्त गरौं । हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुक, सहयोगी एवम् सम्पूर्ण नेपालीहरुमा तिहार (दीपावली) तथा नेपाल सम्वत्को हार्दिक मंगलमय शुभकामना ।