हेटौंडाः हेटौंडा–१८, हर्नामाडीका कृष्ण अधिकारी व्यावसायिक कुखुरापालक किसान हुनुहुन्छ । उहाँको खोरमा १७ हजार लेयर्स कुखुरा छन् । दैनिक पाँच सय १० क्रेट अण्डा दिने कुखुराका लागि अधिकारीले दैनिक ३७ बोरा दाना खपत हुने गरेको बताउनुहुन्छ । दैनिक एक लाख रुपैयाँको दाना खुवाएर उत्पादन हुने अण्डाबाट अहिले अधिकारीले ८५ हजार रुपैयाँ मात्रै आम्दानी गर्नुहुन्छ ।
दैनिक करिब १५ हजार रुपैयाँ घाटा व्यहोरिरहनुभएका अधिकारी व्यावसायिक कुखुरापालन गरेर नाफा कमाउने आशाको त कुरा छाडौं लगानी मात्रै पनि कसरी उठाउने भन्ने चिन्ताले पिरोलिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले लकडाउनको घोषणा गरेसँगै कुखुरापालक किसान थप समस्यामा परेका छन् । लगानी र मिहिनेत गरेर केही कमाइ हुने आशा विपरित लगानी मात्रै उठाउन पनि नसकिने चिन्ताले अधिकारी जस्ता किसानलाई सताइरहेको छ । लगातारको नोक्सानी व्यहोर्न नसकेर किसानले खोर खाली नै राख्न थालेका छन् ।
कृष्ण अधिकारी जस्तै हेटौंडा–१८, हर्नामाडीका ऋषिराम दूलाल आफ्नो मात्रै नभएर कुखुरा पालेर केही कमाउन सकिन्छ कि भनेर लगानी गरेका स्थानीय साना किसानको पनि बेहाल हुने चिन्तामा हुनुहुन्छ । हर्नामाडी क्षेत्रका एक दर्जन भन्दा बढी साना, मझौला किसानलाई कुखुराको चल्ला, दाना समेत विक्री गर्दै आउनुभएका दूलाल सरकारले लगडाउनको घोषणा गरेसँगै थप मारमा परेको बताउनुहुन्छ । मासुका लागि पालिने ब्रोइलर कुखुराको लागत अहिले प्रतिकेजी एक सय ८० रुपैयाँ भए पनि किसानले अहिले एक सय २५ देखि एक सय ४० रुपैयाँसम्म पाउने स्थिति रहेको औँल्याउनुहुँदै दूलालले भन्नुभयो, ‘मूल्यमा सुधार हुन सक्ने आशाले विक्री गर्नुपर्ने बेला भएका सात हजार कुखुरा बिक्री नगरी राखेका छन् । लगानी नै नउठ्ने भएपछि विक्री गर्नुभन्दा खोरमै दाना खुवाएर राखेका छन् ।’ लेयर्स कुखुराको अण्डा प्रतिक्रेट दुई सय ५० रुपैयाँदेखि दुई सय ७५ रुपैयाँमा विक्री गर्दा किसानको आम्दानी र खर्चमा बराबरी हुने दावी गर्दै दूलाल भन्नुुन्छ, ‘लकडाउन हुनुअघि दुई सय २५ रुपैयाँ प्रतिक्रेट अण्डा विक्री गरेका किसानले अहिले एक सय ७० रुपैयाँसम्ममा विक्री गर्न बाध्य छन् ।’
गत वर्ष वर्डफ्लुको संक्रमणयता बजारमूल्यमा सुधार हुनै नसकेको कुखुरापालक किसानको भनाइ छ । ब्रोइलर र लेयर्स दुबै खाले कुखुरापालक किसान निरन्तर मारमा रहेका बेला लकडाउनले थप चपेटामा परेको र किसानहरु पलायन हुने स्थिति आएको दूलालको भनाइ छ । पछिल्लो समय किसानले खोरमा चल्ला नहालेको उहाँले जानकारी दिनुभयो । ‘अहिले किसानले उचित मूल्य नपाएर पलायन हुनुपरेको छ । केही सातापछि बजारमा मासु र अण्डाको अभावमा उपभोक्ताले चर्को मूल्यको मार व्यहोर्नुपर्ने खतरा बढेको छ ।’
मकवानपुर कुखुरा व्यवसायी संघका निवर्तमान उपाध्यक्ष जयराम अर्यालले भने संघको भूमिका कमजोर भएको औँल्याउनुभयो । संघले किसानको लागतका आधारमा बजार मूल्य निर्धारण गरेर त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने अर्यालले बताउनुभयो । संघले अण्डा र कुखुराको मूल्य तोक्दा किसानको मूल्य मात्रै तोक्नुपर्नेमा तयारी मासुको समेत बजार मूल्य तोकेर अनावश्यक काम गरेको अर्यालले दावी गर्नुभयो । किसानहरु पनि समस्या पर्दा मात्रै संघमा धाउने अनि सहज हुँदा आफ्नो खुसी गर्ने प्रवृत्तिले समस्या भएको अर्यालको ठहर छ ।
कुखुराको मासु र अण्डाका लागि मकवानपुर जिल्ला आत्मनिर्भर हुनुका साथै कुखुराको मासु र अण्डा मकवानपुरको प्रमुख निर्यातजन्य वस्तु समेत हो । किसान र व्यवसायीको ठूलो लगानी भएको क्षेत्रमा देखिएको समस्या समाधानमा मकवानपुर उद्योग वाणिज्य संघले पछिल्लो समय केही सहजीकरण समेत गर्दै आएको छ । लकडाउनका बेला कुखुराको दानाको ढुवानी, कुखुरा र अण्डाको ढुवानीदेखि बजारमा सहज विक्री वितरणमा समेत सहजीकरण गर्दै आएको उल्लेख गर्नुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले कुखुरापालक किसानले लगानी समेत उठाउन नसक्ने स्थिति आउनु चिन्ताजनक विषय भएको औँल्याउनुभयो । उहाँले आइतबार हटिया र हर्नामाडीका केही किसानसँग भेटेर कम्तिमा लागत उठाउनका लागि के गर्न सकिन्छ त्यसमा संघले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
‘जिल्लाका लागि आवश्यक उत्पादन गरी जिल्लाबाहिर समेत निर्यात भइरहेको कुखुराजन्य उत्पादनमा संलग्न किसानको लगानीको सुरक्षा र उचित लाभका लागि संघले आवश्यकताअनुसार बजार सुनिश्चित गर्न बजारमा विक्री केन्द्र स्थापना गर्ने, विचौलियाको अन्त्य गर्ने लगायतका काममा किसानलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफू कुखुरापालन व्यवसायको क्षेत्रको व्यक्ति नभएकोले वस्तुस्थितिका बारेमा बुझिरहेको र भोलिका दिनमा किसानकै संलग्नतामा उत्पादनको बजार सुनिश्चित गर्न आवश्यक लगानी र प्रवद्र्धनमा सहयोग गर्ने अध्यक्ष कटुवालले बताउनुभयो ।
यता मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले चितवनका ठूला व्यवसायीका कारण देशभरको बजार प्रभावित भएको दावी गर्नुहुन्छ । चितवन जिल्लाका लाख–लाखको संख्यामा व्यावसायिक कुखुरापालक व्यवसायीले बजारमूल्यमा हस्तक्षेप गर्ने हुनाले मकवानपुरका किसानको हित र संरक्षणमा काम गर्न गाह्रो भइरहेको अध्यक्ष अधिकारी बताउनुहुन्छ । लकडाउनका कारण थप समस्यामा परेको उल्लेख गर्नुहुँदै पछिल्ला केही दिन बजार मूल्यका विषयमा केही कमिकमजोरी भए पनि किसानको लगानी समेत उठ्न नसक्ने अवस्थाले व्यवसाय चौपट भएको उहाँको भनाइ छ ।