विशाल घिमिरे

अहिले विश्वव्यापी रुपमा संक्रमण भएको कोरोना भन्ने महामारी सँगै जनताका मनमा तपाईं र सरकारको कार्यशैलीलाई लिएर विभिन्न प्रश्न आएको छ । बालुवाटारमा रासनको कमि छैन होला । वास्तविक पीडितले न खान न चैनले बस्न पाएका छन्, जनता भन्दैछन् राहत वितरणमा नि राजनीतिकरणको दुर्गन्ध आएको छ । समाजबाद हुँदै साम्यवाद पुग्ने भन्नुहुन्थ्यो, सोलुखुम्बु हुँदै कैलाली र बाँके हिँडिरहेको तपाईको समाजवाद कलंकी नपुग्दै थाकेर सुस्ताइराछ ।
प्रधानमन्त्री ज्यु तपाइलाई थाहा छ ? वर्षौदेखि गरिब जनताका जनजीवनका सवालहरु नछिर्ने बालुवाटारका गेट बाहिर बाँच्ने आशा र आफ्ना बच्चा बोकी टाढाको गाउँ जान हिँडेकाहरुको थकित ताँती छ । हुन त मन्त्री र मन्त्रालयको कमि नभएको हाम्रो देशमा जनता सोधिरहेका छन्, आम जनता र श्रमिकको पीडा सुन्ने मन्त्रालय कहाँ छ ? सबै भनिरहेका छन् पानीजहाज, रेल र दुरदृष्टिको कुरा गर्ने र टाढाको देख्ने तपाईंको नजिक र सामुन्ने रहेका जनताको पीडा र रोदन देख्नमा कमि आएछ ।
प्रधानमन्त्री ज्यु तपाईलाई थाहा छ ? कोरोना त केही समयअघि आएको रोग भयो, यहाँ वर्षौदेखि भोक, रोग, शोक र बेरोजगारीको उत्पीडनले गरिब जनताको कन्चेटमा बन्दुक तेर्साइरहेको छ । देश भित्र रहेका मात्र हैन विदेशमा रहेका नेपालीको पनि उत्तिकै गुनासो आएको छ । उनिहरु भनिरहेका छन्, रेमिटान्स पठाउँदा प्रफुल्ल हुने सरकार, हामीले जागिर गुमाउँदा र हाम्रो भिसा सिद्दिँदा कहाँ छ ?
प्रधानमन्त्री ज्यु तपाइलाई थाहा छ ? श्रम र परराष्ट्र मन्त्रालयको काम नि नाममा मात्र सीमित भएको छ । त्यही महाकाली पारी आएर पनि अलपत्र परेकाहरु भनिरहेका छन्, आफुलाई श्रमिक र मजदुरको नेतृत्व कहलाउने नेताले भरिएको सरकार कहाँ छ ? हुन त बालुवाटारको साउन्डप्रुफ कोठा भित्र म जस्तो मामुली व्यक्तिको आवाज नपुग्न सक्छ । होला तपाईलाई पनि स्वतःस्फुर्त ढंगले सरकार चलाउन धेरै बाधा छ । यत्ति मात्र भन्न चाहान्छु । जनतालाई सरकारसँग धेरै आशा छ ।