हिन्दू धर्मसँग सयौं पर्व र संस्कृतिहरू जोडिएर आउँछन् । सबैको आआफ्नै महत्व र विशेषता छन् । जसमध्ये एक हो दशैं । हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड हो यो । दशैं आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइन्छ । यी १५ दिन सबैको फरक फरक विशेषताहरू छन् ।पु्रानो मान्यता अनुसार आश्विन शुक्लपक्षको दशमी तिथिका दिन भगवान रामले लंकाका राजा रावणको वध गरेका थिए । त्यसैवेला देखि दशै मनाउन थालिएको हो । त्यसैगरी जगदम्वा भगवती दुर्गाले दानवराज महिषाशुरको वध गरी पृथ्वीमा असत्य, अपराध र अत्याचारको राजलाई समाप्त पारेकी थिइन् । यसैले पनि असत्य माथी सत्यको विजयको रुपमा दशैलाई मनाउन थालिएको हो । शुरुवात जसरी भएपनि दशै पर्वलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, युद्धमाथि शान्तिको, हिंसामाथि अहिंसाको जीतको रुपमा लिइन्छ । दशैलाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप र एकताको प्रतिकको रुपमा मनाइन्छ ।
आश्विन शुक्ल प्रतिपदा देखि दशमी सम्म १० दिन विभिन्न शक्तिपिठहरुको दर्शन, शक्तिको उपासना, पूजापाठ, व्रत र उत्सवकोरुपमा दशै मनाइन्छ । परिवारवाट टाढा भएका सदस्यहरुको जमघट र भेटघाट हुने पर्व पनि हो दशै । दशैमा सरकारी तथा गैरसरकारी कार्यालयहरु एक हप्ता तथा शिक्षण संस्थाहरु पन्ध्रदिन विदा हुने गर्दछ । त्यसैले पनि अधिकांश मानिसहरु आफ्नो जन्मस्थान वा आफूले चाहेको स्थानमा जमघट भई धुमधामसंग दशै मनाउने अवसर प्राप्त गर्दछन् । दशै सवैभन्दा ठूलो राष्ट्रिय पर्व पनि हो ।
दशैका महत्वपूर्ण दिनहरुः
घटस्थापनाः भागवत महापुराणअनुसार मर्यादा पुरुषोत्तम श्री रामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजययात्रा गरेर रावणमाथि विजय प्राप्त गरेका थिए । त्यहाँ आश्विन शुक्ल पक्षको नौ अहोरात्रलाई नवरात्र व्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवीदेवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन नमिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि दशैंको नवरात्र आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः कालमा मात्र यो व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । यस दिन घट (कलश) को स्थापना गरी देवीदेवतालाई आह्वान गरिन्छ ।
महासप्तमी (फूलपाती)ः नवरात्रको सातौं दिनलाई फूलपाती भनिन्छ । दशैंमा यो दिनको महत्व अधिक रहेको छ । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभो, अनार, अदुवाको बोट, कचु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन राजधानीको टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका पातहरूलाई पूजा गरी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।यी नौ पातमा क्रमशः ब्रह्मायणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आह्वान गरेर सोह्र सामग्रीले पूजिन्छ । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।
महाष्टमीः नवरात्रको आठौं दिन महाकाली (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ । देवीभागवतअनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली वीरभद्रका साथ भद्रकाली अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन छ । पूजापश्चात यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन मात्र सर्वसाधारणको लागि खुल्ला रहन्छ । यसै दिन दशैंघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यति नै बोका बलि दिइन्छ । त्यस्तै देशका विभिन्न दुर्गा मन्दिरहरूमा धुमधाम पूजाआजाका साथै राँगा, बोकाको बलि पनि चढाइन्छ । यसै दिन सुदूूरपश्चिमको प्रमुख शक्तिपीठ निङ्गलाशैनी मन्दिरमा लगभग १ हजार ३ सय राँगो र ४ सयवटा बोकाको बलि चढाइन्छ ।
महानवमी ःनवरात्रको नवौ दिनविशेष गरी सिद्धिदात्री देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधन आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ ।बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागि दिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ ।यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाऊँ अर्थात त्यागौं भन्ने शास्त्रीय मान्यता दशैंको छ । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थालेपछि दशैंमा बलिको शुरुवात भएको हो ।
विजयादशमीनवरात्रको दशौ दिनलाई विजयादशमी भनिन्छ । कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन् तर विजयनाम गरेको योग नै सबै कार्यकानिम्ति सिद्धिदायक हुन्छ । यस सम्बन्धमा श्रीमद्देवीभागवत भन्छ– ‘नवरात्रमा नवरात्रपर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभ साइतमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजया दशमी भनिएको हो ।’ यस दिन आफूभन्दा ठूला र मान्यजनका हातबाट टीका तथा प्रसाद ग्रहण गरिन्छ । नातासम्बन्ध स्थायी राख्न र आशीर्वाद ग्रहण गर्नका लागि मामाघर, ससुराली आदिमा गइन्छ । टीका लगाउने चलन ५ दिनसम्म रहन्छ । कतै कतै एकै दिनमा दशैंको टीका सक्ने गरिएको पनि पाइन्छ ।
कोजाग्रत पूर्णिमादशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गर्दछन् । यसरी १५ दिन सम्म मनाइदैं दशैंको समापन गरिन्छ ।
हाम्रा हरेक चाडपर्वहरुको विभिन्न सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेका छन् । तर धार्मिक विचलन तथा पश्चिमेली संस्कृतिको कुप्रभावले हाम्रा चाडपर्वहरुको महत्व ओझेलमा पर्दै गएको छ । सामाजिक विकृति र विसंगतिहरुले गर्दा चाडपर्वहरुको महत्वलाई घटाउदै लगेको छ । आजभोली चाडपर्वहरु मनाउने विधि÷तरीकाहरु भड्किलो तथा खर्चिलो वन्दै गएको पाइन्छ ।
विनासकारी भूकम्प, कोरोनाको महामारी लगायत अन्य प्राकृतिक प्रकोपले थिचिएको हाम्रो अर्थतन्त्र धरासायी वन्दै गएको छ । स्वदेशी घट्दो उत्पादन र वैदेशिक आयातमा निर्भर हाम्रो अर्थतन्त्रको अवस्थाले अधिकाँश नेपालीहरु गरिवीको चपेटामा पिल्सीएका छन् । व्यापारीहरुका अनुसार यसवर्ष गतवर्षको तुलनामा झण्डै ४० प्रतिशत महंगी वढेकोछ । चाडपर्वमा हौसिएर खर्च गर्ने प्रवृत्ति वढेकोले पनि आम्दानी र खर्चको तारतम्य मिलाउन धेरैलाई कठिन हुन गर्दछ । चाडपर्व भन्नासाथ मिठो मसिनो खानुपर्ने, नयाँ÷राम्रो लुगा लगाउनुपर्नेर वढी खर्च गरेर हरुको देखासेकी गर्नुपर्ने हाम्रो परम्परा वन्दै गएको छ । यसलाई सामाजिक प्रतिष्ठाको विषय वनाइदै छ । हुनेलाई त वढी खर्च गरेपनि खासै फरक नपर्ला, तर नहुनेले कहाँ वाट जुटाउने वढी खर्च ? यसवाट झ्न उनीहरु ऋणमा डुव्दै झन्झन गरीव हुन वाध्य भएका छन् ।
विभिन्न संस्थाहरुको तथ्याँक अनुसार नेपालमा हाल ४ लाख भन्दा वढी मानिसहरु सुकुम्वासी छन् । उनीहरुका लागि यस मुलुकमा वासका लागि झुपडि हाल्ने सम्म आफ्नो जग्गा जमिन छैन । त्यसैगरी कुल जनसंख्याको झण्डै एक चौथाई अर्थात ३५ लाख मानिसहरु विहान वेलुकी हातमुख जोर्ने समस्यावाट ग्रसित छन् । उनीहरु निरपेक्ष गरीवीको रेखामुनी वस्न वाध्य छन् । त्यसैगरी वेरोजगारीहरुको संख्या पनि उल्लेखनियरुपमा रहेको छ ।
अर्कातर्फ मुलुकमा नवधनाढ्यको संख्या पनि वढ्दै गएको छ । उनीहरुको सम्पत्तिको लेखाजोखा गर्न नभ्याउने भएको छ । दलाली र भण्ट्रचारीहरुको विगविगी रहेको छ । यसले गर्दा देशमा धनी र गरीव (हुने र हँुदाखाने) वर्गहरु विचको दुरी झ्न वढ्दै गएको छ । धनीवर्गहरुले मोजमस्तीका लागि जतिपनि खर्चगर्ने प्रवृत्तिलाई वढाउदै लगेका छन् । यसको प्रत्यक्षमार नहुने वा हुँदा खानेवर्गहरुमाथि परेको छ । यसले गर्दा पनि चाडपर्व सकिएपछि ऋणको भारले बिदेशिनुपरेका नेपालीहरुको संख्यामा कमी छैन । कतिपयले मानसीक सन्तुलन नै गुमाउनु परेका छन् भने गरीवी कै कारणले आत्महत्या गर्नेहरुको सूची लामो हुदै गएको छ । सरकारी तथा गैरसरकारी कार्यालय तथा निजी कम्पनीका केही कर्मचारीहरुले दशैभत्ता समेत पाउने भएकोले दशैखर्च जोहो गर्न केही हदसम्म सहज हुन्छ, त्यसैगरी व्यापारीहरुले पनि दशैलाई नै आफ्नो प्रमुख आम्दानीका स्रोत वनाएका हुन्छन् तर दैनिक ज्याला गरेर दुईछाक टार्नुपर्नेहरुका लागि दशै दशा वन्दै गएको छ ।
सरकारले सहुलियत दरमा उपभोक्ता कर्जा अनि त्यसमा सर्वसाधारणको पहुँच, अत्यावश्यक खाद्यवस्तुमा मूल्य नियन्त्रण, अनुदान, करछुट लगायत अन्य विधि प्रयोग गरेर आम उपभोक्ताको क्रयशक्ति वढाउनु पर्ने हो । तर व्यवहारमा सरकारको भुमिका यस्तो छैन । वजार अनुगमन प्रभावकारी छैन । चाडपर्वको वेलामा सरकारी संयन्त अनुगमन गरेको नाटकमात्र गरिरहेका छन् । सरकार आम उपभोक्ताको हितमा भन्दा पनि केही सिमीत व्यापारीहरुको हितमा काम गर्दै आइरहेको छ । वजारमा सरकारको दरिलो उपस्थिति नहुँदा व्यापारीहरुमा सकेजति लुटौं भन्ने अवस्था सिर्जना भएको छ । यसले महंगीलाई वढाउन मलजल गरेको छ ।
दशै तिहारमा अन्य समयको भन्दा वढी खर्च हुने गर्छ । खर्च चै वढ्ने तर आम्दानी नवढ्ने हुदाँ समस्या वढेको छ । त्यसैले पनि घाँटी हेरी हाड निल्नु भने झै आफ्नो आम्दानी अनुसार खर्च गर्नुपर्ने हो । तर विभिन्न वाध्यता र परिवन्धले गर्दा पनि कम आय हुनेहरुले यसलाई व्यवहारमा लागु गर्न सकेका छैन्न । लघुवित्त र अन्य वीत्तिय संस्थाहरुले ऋण प्रवाहको नाममा सर्व साधरणहरुलाई झन् गरिव वनाउदै लगेका छन् । त्यस्तै साहुमहाजनसंग चर्काे व्याजदरमा ऋण काढेर धुमधामसंग चाडपर्व मनाउने प्रचलनलार्इृ राम्रो मान्न सकिदैन । त्यसैपनि आयो दशै ढोल वजाई गयो दशै ऋण वोकाई भन्ने पुरानो उक्ति व्यवहारमा चरितार्थ हुदै गएको छ ।
दशै तिहारमा जाडरक्सीको सेवन वढी हुने, खसीवोकाहरु लगायत पशुहरुको काटमार वढी हुने, जुवातासवढी खेलिने प्रवृत्ति वढ्दै गएकालेपनि फजुल खर्चलाईवढाएको छ । लुटपाट, झैगडा र सवारी दुर्घटनाले पनि चाडपर्वहरुलाई खल्लो वनाउदै लगेका छन् ।यसले गर्दा जनधनको क्षतिलार्इृ वढाएको छ ।यस्ता सामाजिक विकृति, विसंगतिहरु वषौनी वढ्दै गएको छ । साच्चै चाडपर्व भनेका हाम्रा अमूल्य संस्कृति, मूल्य मान्यता र संस्कार हुन् । चाडपर्वहरु वढी भड्किलो र खर्चिलो हुनु हुदैन, सवैले धान्न र मान्न सक्ने हुनुपर्दछ । सामाजिक सद्भाव वढाउने, मेलमिलाप वढाउने र सामाजिक मूल्य र मान्यतालाई संगठित वनाउने हुनु पर्दछ । यसमा देखिएका विकृतिहरुलाई हटाउदै लानु पर्दछ । यसका लागि सवैको सहयोग अनिवार्य छ । वडादशैको अवसरमा सवैमा हार्दिक मंगलमय शुभकामना ।