हेटौंडाः काठमाडौंमा कात्तिकमा हुने एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको लागि मकवानपुरको जिल्लाको छनौट सुरु भएको छ । बिहीबार हेटौंडाको हुप्रचौरमा भएको छनौट कार्यक्रममा जिल्ला भरिका २४ जना खेलाडीको सहभागिता रहेको थियो ।
सहभागी मध्येबाट उत्कृष्ट १४ जनाले यसै महिनाको अन्तिम साता काठमाडौंमा हुने प्रदेश स्तरीय छनौट खेलमा सहभागिता जनाउने मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले बताउनुभयो । छनौट कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले क्रिकेटलाई राम्रोसँग समेट्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले क्रिकेट खेलको मैदान निर्माणमा उपमहानगरले पूर्णरुपमा सहयोग गरी मकवानपुरले क्रिकेटलाई अगाडी बढाउन प्रयास गर्ने बताउनुभयो ।
मकवानपुर क्रिकेट संघले गौरिटार रंगशालामा क्रिकेट मैदान निर्माणको प्रकृया अघि बढाएको छ । साथै गत वर्ष सम्पन्न बागमती प्रदेश खेलकुदमा पुरुष क्रिकेटतर्फ मकवानपुरले स्वर्ण पदक प्राप्त गर्न सफल भएको थियो । संघका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य करन महत्रा क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।