नेपालीहरुको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड दशैं सुरु भएको छ । आज सोमबार दशैंको पहिलो दिन घटस्थापना गरिँदैछ । विभिन्न शक्तिपीठ, कोतघर, सामूहिकरुपमा बनाइएका देवी मूर्तिस्थल एवम् घरघरमा घटस्थापना गरेर जमरा राखेपछि दशैं सुरु हुन्छ । दशैंको मुख्य दिन विजया दशमीलाई मानिए पनि आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासँगै दशैं सुरु हुने गर्दछ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दशैं मनाइन्छ । घटस्थापनासँगै नौ दिनसम्म नवदुर्गा पूजा गरिन्छ, जसलाई नवरात्रि पनि भनिन्छ । नवरात्रिभर बिभिन्न शक्तिका प्रतीक नवदुर्गाहरुको पूजा तथा शक्तिपीठहरुको दर्शन गरिन्छ । दैत्यहरुसँग देवताको विजयउत्सव स्वरुप हामीले मनाउने दशैंको महिमा जोडिएको छ । वर्षातको अन्त्य र हिउँदको आँगमनसँगै मौसममा हुने परिवर्तनले पनि दशैंलाई उल्लासमय बनाउने गर्दछ । दशैंमा प्रत्येक नेपालीले आफ्नो आर्थिक क्षमताअनुसार राम्रो लगाउने र मिठो खाने परम्परा रहेको छ ।
घटास्थापनासँगै दशैंको नवरात्रि सुरु हुन्छ । प्रतिपदादेखि नवमीसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौवटी देवीको पूजा आराधना गरिने भएकाले यस अवधिलाई नवरात्रि भनिएको हो । यी नौ वटा देवीहरुलाई नवदुर्गाको प्रतीक मानिन्छ । प्रतिपदाका दिन शक्तिस्वरुपा भगवती शैलपुत्रीको पूजा आराधना गरिन्छ । साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल हुन्छ । द्वितीयाका दिन ब्रह्मचारिणीको पूजा गरिन्छ । यी देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ । तृतीयाका दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । यिनको दश हातमा विभिन्न शस्त्र–अस्त्रले विभूषित छन् । चतुर्थीका दिन कुष्माण्डा भगवतीको पूजा आराधना गरिन्छ । यिनको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा र आठौं हातमा जपमाला रहेको छ ।
नवरात्रिको पाँचौं दिन शक्तिस्वरुपा भगवती स्कन्दमाताको पूजा गरिन्छ । कमलको फूलको आशनमा बस्ने सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको हो । षष्ठीका दिन देवी कात्यायनीको पूजा आराधना गरिन्छ । चार हात भएकी कात्यायनीको बाहन सिंह हो । सप्तमी अर्थात् फूलपातीका दिन शक्तिस्वरुपा भगवतीलाई कालरात्रिको रुपमा पूजा गरिन्छ । तीन आँखा र चार हात भएकी यिनले हातमा तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी छिन् । नवरात्रिको आठौं अर्थात् अष्टमीका दिन महागौरीको पूजा गरिन्छ । चार हात भएकी महागौरीको माथिल्लो दायाँतिरको हातमा अभयमुद्रा र त्रिशूल छन् भने बायाँतिरको हातमा डमरु र वरमुद्रा छन् । नवरात्रिको अन्तिम नवमीका दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । कमलको फूलमा बस्ने र चार हात भएकी यिनका हातमा चक्र, गदा, शंख र कमलको फूल छन् ।
नेपालीहरु धर्म तथा संस्कृतिप्रेमी भएकै कारण दशैँ पर्वलाई मितव्ययी र खुसीयालीका साथ मनाउनु पर्दछ । वर्षदिनको सुखदुःख र घामपानी सबैलाई बिर्सिएर दुर्गादेवीको आराधना र पूजापाठ तथा परिवारका मान्यजनबाट टीका, आशीर्वाद र जमरा ग्रहण गरेर शारीरिकरुपमा स्वस्थ र मानसिकरुपमा प्रशन्न हुँदै सबैले दशैं मनाउन सक्नुपर्छ । पारिवारिक पुनर्मिलन र जमघटको कारण पनि दशैँ पर्व सबैका लागि विशेष महत्वपूर्ण बन्ने गरेको छ । दशैंमा मात्र नयाँ लुगा लगाउने र मिठोमसिनो खाने भन्ने हुँदैन । हुँदा र पुग्दा जहिले पनि आफ्ना आवश्यकतालाई पूरा गर्नुपर्छ । चाडपर्वको नाममा आर्थिक क्षमताभन्दा बढी खर्च गरेर तडकभडक देखाउनै पर्ने गलत संस्कारलाई अन्त्य गर्नु आवश्यक छ ।