नेपाल सांस्कृतिक विविधता भएको देश हो । यहाँ विभिन्न जात तथा धर्मका मानिसले विभिन्न चाडपर्व मनाउने गर्दछन् । वर्षैभरि जस्तो कुनै न कुनै चाडपर्वको माहोल बनिरहेको हुन्छ । यस्तै चाडहरुमध्येको एउटा महत्वपूर्ण चाड हो– तीज । यस वर्षको हरितालिका तीज पर्व आज मंगलबार परेको छ । भाद्र शुक्ल तृतीयाको दिन मनाइने हरितालिका तीज चार दिनसम्म मनाउने गरिन्छ । तीज नेपाली हिन्दू नारीको ठूलो महत्व र पर्खाइको चाड बन्ने गरेको छ । धर्म, संस्कृतिसँग सम्बन्धित चाडपर्वका विविध सकारात्मक पक्षहरु रहेका हुन्छन् । तीजको दर खाने परिपाटीमा केही विकृति देखिए पनि तीजका थुप्रै सकारात्मक विशेषताहरु पाइन्छन् ।
सबै छोरीचेली एकठाउँमा जम्मा भई भेटघाट, खानपिन, नाचगान गरेर यो पर्व मनाइने हुँदा यसले महिलालाई स्वतन्त्रता र सन्तुष्टि प्रदान गर्दछ । तीजमा दिदीबहिनीहरु सामूहिकरुपमा हर्षोल्लासका साथ नाच्दा, गाउँदा रमाइलो माहोल सृजना हुन्छ । पर्वकै नाममा भए पनि टाढा–टाढा रहेका आफन्तबीच भेटघाट तथा सुख, दुःख साटासाट गर्ने परम्परा बाकेको तीजको सामाजिक–सांस्कृतिक महत्वमा कमी हुँदै गएको छ । धार्मिक मान्यतामा विश्वास गर्नेहरुका लागि पनि तीज पर्व विशेष मानिन्छ । आफ्ना श्रीमानको दीर्घायू तथा सुयोग्य भावि श्रीमान पाउने कामना गर्दै व्रत, उपासना पूजा तथा आराधना गरेर यो पर्व मनाइन्छ । परापूर्वकालमा पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन तीजको निराहार ब्रत बसेको र कामना पूरा भएको विश्वासका आधारमा अविवाहिताले राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायू र प्रगतिको कामना गर्दै तीजमा ब्रत बस्ने चलन रहेको छ ।
पहिला–पहिला महिलाहरु समाजले कोरेको संस्कारको परिधिमा जबरजस्ती बाँधिनुपर्ने हुन्थ्यो । मनमा लागेको कुरा अरुका सामु प्रस्तुत गर्न नपाउने नारीले आफ्नो मनमा लागेको कुरा तीजमा गीतमार्फत् व्यक्त गर्दथे । मनको बह पोख्न जुनपायो त्यही बेलामा माइत जान तथा माइतका आफन्तसँग कुराकानी गर्न सकिँदैनथ्यो । त्यतिबेला अहिलेजस्तो सहज सञ्चार तथा यातायातको सुविधा थिएन । मन लागे पनि सधैं गरगहना लगाएर चिटिक्क परेर बस्न पाउँदैनथे । घरधन्दा र मेलापातले फुर्सद पनि हुँदैनथ्यो । त्यस समयमा आफ्नो मनको बह पोख्ने, रमाइलो गर्ने र उन्मुक्त हुने भरपर्दो ठाउँ माइती र माइती गाउँका साथीसंगी हुन्थे भने तीजले त्यो अवसर जुटाइदिन्थ्यो । जसले गर्दा तीजको महत्व र गरिमा बढाएको थियो । अहिले सहज यातायात र सूचना प्रविधिको उपलब्धताले आफन्तबीच सम्पर्कका लागि तीज कुर्नै नपर्ने भएका कारण तीजको सांस्कृतिक पक्ष कमजोर बन्दै गएको हो ।
भाद्र शुक्ल द्वितीयाको दिन दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व भाद्र शुक्ल पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । महिलाहरुको महान चाड तीज अचेल विकृत बन्दै गएको छ । तीजको नाममा महिनौं अघिदेखि दर खाने र अनावश्यक कपडा तथा गहना प्रदर्शन गर्ने क्रम बढ्दै गएकाले तीजलाई विकृत बनाउँदै लगेको हो । यसले कमजोर आर्थिक अवस्था भएका महिलालाई अप्ठ्यारो पर्छ नै । हुनेले त फेरिफेरि लुगा र गरगहना लगाउलान्, नहुनेले के गर्ने ? तीज पर्व भनेको कपडा र गहनामा प्रतिस्पर्धा गर्न होइन । वर्ष भरिका दुःख, पीडा, संघर्ष र त्यसबाट प्राप्त भएको सफलता एकअर्कालाई सुनाउँदै तीज मनाउनु आवश्यक छ । हाम्रो परम्परागत र मौलिक धार्मिक, सांस्कृति र सामाजिक मूल्य मान्यताअनुसार तीज मनाउनुपर्छ । यसैबाट तीजको महत्व र गरिमा कायम हुन्छ । सबै महिला दिदीबहिनीलाई तीजको हार्दिक शुभकामना ।