हिन्दु धर्मावलम्बी महिलाहरुको विशेष पर्व तीज सोमबारबाट सुरु भएको छ । सोमबार साँझ दर खाएर तीज पर्व सुरु भएको छ । पितृसत्ताका कारण महिला पीडित शोषित हुनुपरेको विगतको समयमा महिलाले आफ्ना पीडा बेदना पोख्ने पर्वको रुपमा तीजलाई बुझिन्छ । तीजलाई आफ्ना चेलीलाई माइतीले माया, स्नेह प्रस्तुत गर्ने पर्वको रुपमा पनि लिइन्छ । समाजको आधुनिकतासँगै तीजको मौलिकता भने गुम्दै गएको देखिन्छ । सामाजिक, आर्थिक हैसियत बढ्नुले महिलाहरु तीजलाई रमाईलो गर्ने पर्वको रुपमा मात्रै बुझ्ने गरेका छन् । तीजको समाजशास्त्रीय पक्षका विषयमा मकवानपुर बहुमुखी क्याम्पसको समाजशास्त्र विषयका उपप्राध्यापक रामेश्वर बरालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
नेपाली समाजमा तीजको सामाजिक, सांस्कृतिक महत्वलाई कसरी लिनु पर्छ ? तीज पर्वलाई कसरी अपनाइरहेको देखिन्छ ?
बरालः मुलतः तीज पर्व हिन्दु महिलाहरुले मनाउने पर्व हो । तीजको परम्परागत र सांस्कृतिक अर्थ थियो त्यो अर्थमा अहिले आएर धेरै हदसम्म परिवर्तन देखिएको छ । कतिपय सन्दर्भमा त संस्कृति र पर्व मनाउने तौरतरिकाबीच विरोधाभाष समेत देखिने गरेको छ । अहिले आएर सामाजिक रुपमा पर्वले दिन खोजेको सन्देश त महिलाहरुले आफ्नो आवाज उठाउने, आफू दमित भएका, शोषित भएका, राज्य तथा पारिवारिक, सामाजिक रुपमा आफू दमित भएका समस्याहरुलाई उठान गर्ने पर्वको रुपमा देखा परेको छ । खासगरी गीतको माध्यमबाट । यसका अलावा समय भन्दा अघि नै दर खाने अनि आफू भन्दा निम्न आयस्तर भएको समुहमा के कस्तो प्रभाव पार्छ भन्ने नसोची गरगहनाको अति प्रदर्शन गर्ने गर्छन् यसले सामाजिक रुपमा राम्रो प्रभाव पारेको देखिँदैन ।
अहिले संस्कृतिभित्र विकृति भयो भन्ने आलोचनाहरु हुने गरेका छन् । यसरी विकृति मौलाउनु वा बढ्दै जानुको कारण के देख्नु हुन्छ ?
बरालः विकृति बढ्दै जानुको मुख्य कारण चैं नेपाली समाजमा काम एकातिर व्यवहार अर्कोतिर भने झैं महिलाहरुले एकातिर महिलामुक्ति भन्ने अर्काेतिर परम्परालाई छताछुल्ल रुपमा कुनै एउटा निश्चित गन्तव्यमा पुग्ने गरी त्यसलाई समर्थन हुने गरी नअपनाएका कारणले यस्ता समस्या देखिएका छन् । धनी महिलाहरु अलि बढी नै धनी र गरिब महिलाहरु बढी नै गरिब भएको सन्दर्भमा चाडपर्व मनाउनु विरोधाभाष देखिन्छ ।
के गर्न सक्यौं भने चै यस्ता विकृति न्यूनीकरण गर्न सकिन्छ ?
बरालः विकृति न्यूनीकरणका लागि त चेतनास्तर र शिक्षा नै हो मुख्य कुरा । मिडियाले पनि जनचेतना जागृत गर्ने, राजनीतिक दलहरुले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्ने, उनीहरुको सैद्धान्तिक पक्षबाट हेर्दा कहाँनेर समस्या भयो भनेर हेर्ने र त्यसलाई सच्याउने । चेतनशील बौद्धिक वर्गहरुले लेखहरु लेखेर आफ्ना विचारहरु दिने जस्ता कार्य गरेर यसलाई न्यूनीकरण गर्न सकिएला ।
विकृतिहरु यसरी व्यापकरुपमा फैलिनुमा चै अरु त्यस्तो के कारण हुन सक्छ ?
बरालः पहिलादेखि नै महिलाहरु स्वतन्त्रताप्रेमी नै हुन् । तर स्वतन्त्रतालाई स्वतन्त्रताको रुपमा प्रयोग नगरी अराजकताको रुपमा प्रयोग गर्दा विकृति फैलिएको एउटा पक्ष छ । अर्काे पक्ष चैं महिलाहरुले फेसन अलि बढि नै शोअप गर्ने र सामाजिक सञ्जालप्रतिमार्फत पनि अनियन्त्रित रुपमा फेसनलाई सञ्चार गरिएको छ । ती कुराले पनि विकृति बढाएको छ । अर्को कुरा चैं भएको धन सम्पत्तिलाई सदुपयोग गर्ने, उत्पादन प्रणालीमा लगाउने भन्दा पनि फेसन, गरगहना, लत्ताकपडा र खानपिनमा देखाउने अति उपभोक्तावादी प्रवृत्तिले पनि यस किसिमको समस्या देखिने गरेका छन् ।
तीजको अवसरमा नेपाली महिलाका कस्ता समस्या उजागर हुनुपर्ने देख्नुहुन्छ ?
बरालः नेपाली महिलाको समस्यामा एकरुपता जस्तै छ । नेपाली महिलाहरुले अहिले ३३ प्रतिशत आरक्षण गरिएको छ । महिलाको अधिकार शतप्रतिशत हुन्छ । तर, महिलाको अधिकार ३३ प्रतिशतमा खुम्च्याउने प्रयास पित्तृसत्ताबाटै भइरहेको देखिन्छ । त्यो कुरालाई महिलाहरुले नबुझिकन सामाजिक आयामहरुमा, मन्त्रालयहरुमा, विभागहरुमा विभिन्न कार्यालयमा महिलाहरुको सहभागिता हुनुपर्ने हो त्यो देखिन सकेको छैन । केही रुपमा बढेको देखिए पनि पितृसत्तात्मक चिन्तनका कारण उनीहरु पछाडि पारिएकै अवस्था छ । यो आम रुपमा देखिएको समस्या हो । यो भनेको महिलामुक्तिसँग जोडिएको कुरा हो । महिलावादीहरुले उठाउनुपर्ने विषय हो । महिलाहरु उत्पादनसँग जोडिने, घरबाट बाहिर निस्कने, महिलाहरुले समान आयको काम गर्नुपर्नेमा महिलाहरुले त्यो रुपमा नसोँचेको अवस्था पनि छ । महिलाको सहभागितालाई व्यापक बनाउनुपर्ने देखिन्छ ।