हेटौंडाः हेटौंडा–२ स्थित नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २५ औं वार्षिकोत्वसमा वृद्धाश्रमलाई सहयोग गरेको छ । मंगलबार बिहान हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई नगद ११ हजार १ सय रुपैयाँ सहयोग गरेर संस्थाले आफ्नो वार्षिकोत्सव मनाइएको हो ।
बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा जिल्ला सहकारीका अध्यक्ष नारायण प्रसाद देवकोटाले ओम वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई नगद चेक हस्तान्तरण गर्नुभयो । चेक ग्रहण गर्नुहुँदै अध्यक्ष श्रेष्ठले व्यक्ति र विभिन्न संघ संस्थाको स–साना सहयोगले नै वृद्धाश्रमको व्यवस्थापन भइरहेको बताउनुभयो । उहाँले विभिन्न सहयोगबाट नै अहिले आश्रमको ३४ लाख रुपैयाँ बराबरको अक्षय कोष निर्माण भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा अक्षय कोषलाई १ करोड रुपैयाँमा पुर्याउने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले आश्रममा अहिले ३० जना वृद्धवृद्धा आश्रित रहेको जानकारी दिनुभयो । जसमा ९ जना महिला आश्रित छन् भने बाँकी पुरुषहरु आश्रित छन् । घर परिवारका सदस्यबाट विभिन्न कारणले आश्रममा आश्रित सबै वृद्धाहरुलाई घर परिवारको जस्तै वातावरण आश्रममा सिर्जना गरिरहेको उहाँले बताउनुभयो । जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीले नाफा कमाउने मात्र नभई समाजसेवाका कामहरु पनि गर्नुपर्ने बताउनुभयो । विभिन्न परोपकारी संस्थाहरुको सानो सहयोगले आश्रमको व्यवस्थापनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
यस्तै, नमुना प्रगती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिठाराम दाहालले संस्थाको सानो सहयोगले आश्रममा केही राहत पुग्न सक्ने भन्दै सहयोग गरिएको बताउनुभयो । संस्थाको २३ औं वार्षिकोत्सव पनि ओम वृद्धाश्राममा मनाएको स्मरण गर्नुहुँदै अध्यक्ष दाहालले २५ वार्षिकोत्सव पनि ओम वृद्धाश्रममा मनाउन पाउँदा खुशी लागेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले मंगलबार संस्थाको वार्षिकोत्सवको अवसरमा आश्रमको आजीवन सदस्य लिनुभएको छ ।
संस्थाको कार्यप्रगती विवरण संस्थाका व्यवस्थापक बद्री प्रसाद भण्डारीले प्रस्तुत गर्नुभयो । भण्डारीले अहिले संस्थाको कुल सेयर पुँजी रकम २ करोड ७७ लाख ९७ हजार रुपैयाँ रहेको बताउनुभयो । संस्थाको बचत रकम २९ करोड ४९ लाख ३३ हजार ९१ रुपैयाँ, कोष ३ करोड ९९ लाख ७८ हजार ४५ रुपैयाँ, ऋण लगानी २९ करोड ९३ लाख ४६ हजार ९ सय ३४ रुपैयाँ, कुल सम्पत्ती ३८ करोड २४ लाख ४६ हजार ३ सय ५३ रुपैयाँ र करयोग्य नाफा १ करोेड १६ लाख ६९ हजार ४ सय ८३ रुपैयाँ रहेको उहाँले बताउनुभयो । उहाँले संस्थाको कुल सेयर सदस्य २ हजार ५ सय ८४ जना रहेको बताउनुभयो ।