सिएम रिमाल हेटौंडा

आज हाम्रो देश नेपालमा सामाजिक शिक्षा विषयको पढाइ चुनौतीको विषय बनेको छ । यसको एकमात्र कारण यसमा समावेश गरिएका विभिन्न विषयवस्तुहरु हुन् । कक्षा १ देखि ३ सम्म यसमा आफू, आफ्नो परिवार तथा छरछिमेक, हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रो क्रियाकलाप पढाइन्छ भने कक्षा ४ र ५ मा स्थानीय विषयवस्तुलाई समावेश गरिएको छ र कक्षा ६ देखि ८ सम्म हामी र हाम्रो समाज, जनसङ्ख्या शिक्षा, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगलाई पाठ्यक्रममा समावेश गरिएको छ । यसैगरी कक्षा ९ र १० मा हामी हाम्रो समुदाय र राष्ट्र, विकासका पूर्वाधारहरु, हाम्रो पृथ्वी अन्तर्गत नेपाल र विश्वको भूगोल, हाम्रो विगत अन्तर्गत नेपाल र विश्वका घटनाक्रम, आर्थिक क्रियाकलाप तथा अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत शान्ति र सहयोग विषयलाई समावेश गरिएको छ ।

यी विषयवस्तुहरु पढाउनका लागि विज्ञानजस्तै प्रश्नोत्तर विधि, प्रदर्शन विधि, समस्या समाधान विधि, अवलोकन विधि, छलफल विधि, खोज विधि, अभिनय विधि, परियोजना विधि, कथा वाचन विधि, घटना अध्ययन विधि निर्धारित गरिएको छ । यी विधिहरुको समुचित प्रयोगले प्राथमिक कक्षाका विद्यार्थीहरुमा अवलोकन, वर्गीकरण, समस्या समाधान गर्ने र विश्लेषण गर्ने क्षमताको विकास हुन्छ । माथिल्लो कक्षाहरुमा समाजका विभिन्न पक्षहरु, समाजमा निरन्तर भइरहेको परिवर्तनको विश्लेषण, मानव र प्रकृतिको विभिन्न क्षेत्रहरुको विश्लेषण, आर्थिक पक्षहरुको विश्लेषण गर्ने पद्धति र सोंचको विकास हुन्छ । समग्रमा भन्नुपर्दा यो विषय राष्ट्र निर्माणका लागि अति आवश्यक विषयको रुपमा रहेको छ ।

तर प्रारम्भिक कक्षाहरुमा सामाजिक शिक्षालाई गम्भीर विषयको रुपमा लिईदैन । यसको एक मात्र कारण प्रायः जसो मानिसहरु के ठान्दछन् भने यसमा विज्ञान र गणितजस्ता केही कुरो छैन जुन वास्तविक जीवनमा काम लागोस् । समाजको यस्तो सोचले नै यस विषयलाई दोस्रो दर्जाको विषय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसकारण माथिल्लो कक्षामा यस विषयसँग सम्बन्धित विषयहरु जस्तै राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास वा भूगोल विषय रोज्ने विद्यार्थीहरुलाई कमजोर ठानिन्छ । यसको प्रमुख कारण के हो भने केही खास किसिमका व्यवसायलाई मात्र हाम्रो समाजमा उपल्लो दर्जा प्राप्त छ ।

यहाँ ध्यान दिनुपर्ने अर्को कुरो के हो भने जुन विद्यार्थीले विज्ञान विषय रोजेर पनि त्यसमा राम्रो गर्दैन, उसलाई पनि कमजोर नै ठानिन्छ । यहाँ सामाजिक दृष्टिकोणले के स्पष्ट हुन्छ भने विज्ञान र गणितजस्ता विषयमा कमजोर विद्यार्थी नै यस्ता विषय रोज्दछन् । यसको दोस्रो कारण के हुन सक्दछ भने सामाजिक शिक्षाजस्ता विषय रसहीन हुनुका साथै जीवनमा आर्थिक उपार्जनको कुनै रमाइलो सपना देखाउँदैनन् । यसको तेस्रो कारण यस विषयको उदय केही वर्ष पहिले भएको र यसमा लगातार परिमार्जन भइरहेको हुनसक्छ ।

कुनै पनि विषयलाई सरल र जटिल बनाउन सकिन्छ । यदि विद्यार्थीहरुलाई सुरुदेखि नै यो विषय कठिन र त्यो विषय सरल हो भन्न थालियो भने उनीहरुको मनमा पनि त्यस्तै धारणा बस थाल्छ । परिणामस्वरुप धेरै विद्यार्थी विज्ञान र गणितलाई जटिल र सामाजिक शिक्षालाई सरल ठान्ने भ्रममा पर्छन् । वास्तवमा कुनै पनि विषय सरल वा कठिन हुँदैन । यो मात्र व्यक्तिको रुचि र अभ्यासमा निर्भर पर्दछ ।

सामाजिक शिक्षा विषय अध्ययन गराउँदा पाठमा भएका सामग्रीसँगसँगै जीवनको अनुभवलाई जोड्नुपर्छ । यसको साथसाथै शिक्षकले त्यसलाई पढाउँदा कुन विधि उपयुक्त होला भन्ने ध्यान पनि पु¥याउनुपर्छ । यसो गर्दा कक्षा शिक्षण पनि अरुचिकर हुँदैन । यस कारण के भन्न सकिन्छ भने यदि शिक्षक उत्साही र सृजनशील छन् भने पाठ्यपुस्तकमा दिइएका सामग्री कमसल भए तापनि राम्रो शिक्षण गर्न सकिन्छ ।

विद्यालय तहमा सामाजिक अध्ययन विषयको शिक्षण सिकाइको औचित्य खोज्दै जाँदा यसभित्रका धेरै पक्षमाथि ध्यान पुर्याउनुपर्ने हुन्छ । सर्वप्रथम संयुक्त राज्य अमेरिकाले आफ्नो समाजको विविधतायुक्त संरचना सम्बोधन गर्न र बालबालिकामा नागरिक भावनाको विकास गराउन विद्यालय तहमा सामाजिक अध्ययन विषयको आवश्यकता महसुस गरेको थियो । अमेरिका धेरै हदसम्म यो विषयको औचित्यलाई व्यावहारिक रुपमै पुष्टि गर्न सफल पनि भयो । तर नेपाल जस्ता कम विकसित राष्ट्रहरुमा अत्यन्त फितलो कार्यान्वयनका कारण यो विषय सङ्कटमा रहँदै आएको छ । तथापि, संघीय सरकारले विद्यालयका सबै तहमा यो विषयलाई अनिवार्य विषयको रुपमा राख्नु निःसन्देह प्रशंसनीय कदम मान्नुपर्दछ ।
सामाजिक विषयको अध्यापन किन ?

मानिसहरुले आफ्नो समाज र संस्कृतिको सञ्चारण र रुपान्तरण गर्ने प्रक्रियालाई सहज रुपमा लिएनन् भने यसले समाजको विकासलाई क्षति पु¥याउँछ । एकजना विद्वान् पाल इ. ब्रान्डविनले यही तर्कलाई स्वीकार्दै सामाजिक अध्ययन विषयका बारेमा भनेका छन्– “मानिस आफ्नो संस्कृतिको सञ्चारण र रुपान्तरण जुन प्रक्रियाबाट गर्दछ, सामाजिक अध्ययन विषय त्यसैसँग सम्बन्धित छ ।” यहाँ, संस्कृतिको सञ्चारण भन्नाले पुर्खाले आफ्नो सन्तानलाई प्रदान गर्ने ज्ञान र मूल्य तथा मान्यता बुझाउँछ । तर पछिल्लो पुस्ता वा सन्ततिले उक्त ज्ञान, मूल्य र मान्यतालाई यथावत् रुपमै स्वीकार गर्छ भन्ने छैन । उसले आफ्नो अनुभव र समाजको माग, आवश्यकता वा चाहना अनुसार नवीन ज्ञान, मूल्य र मान्यताको खोजी गरी पुर्खाबाट सञ्चारित संस्कृतिलाई अझ् समृद्ध र परिष्कृत तथा समयसापेक्ष पनि बनाउन सक्छ । यसलाई नै रुपान्तरणको प्रक्रिया भन्ने गरिन्छ । तसर्थ सामाजिक अध्ययन विषयलाई अनुभव तथा खोजद्वारा ज्ञानको यही सञ्चारण र रुपान्तरण गर्ने विषयको रुपमा लिने गरिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने हाम्रा पुर्खाबाट सञ्चारित कतिपय ज्ञान, मूल्य र परम्परा हाम्रा लागि धरोहर हुन्, तिनको संरक्षण जरुरी छ भने विकृतिको रुपमा रहेका कतिपय प्रथाहरु जस्तै बालविवाह, छाउपडी, लिङ्ग, जात, धर्म, पेसा, वर्णका आधारमा हुने विभेद, दाइजो आदिलाई निर्मूल पार्नु उत्तिकै आवश्यक छ ।

सामाजिक अध्ययन विषयले मानव र समाजको भौतिक तथा सामूहिक वातावरण बीचको पारस्परिक सम्बन्धको अध्ययन गर्ने हुनाले बालबालिकालाई विगतका परिवर्तनबाट सिक्दै वर्तमान र भविष्यमा हुने परिवर्तनको आङ्कलन गर्न सहयोग पुर्याउँछ । यसबाट उनीहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थासँग परिचित हुने अवसर पनि प्राप्त हुन्छ । यसका अतिरिक्त, सामाजिक अध्ययनको शिक्षणले बालबालिकामा लोकतान्त्रिक समाज अनुकूलका उत्तरदायी नागरिकका गुण र विशेषता विकास गर्नमा पनि सहयोग पुग्छ । त्यसैले भनिन्छ– सामाजिक अध्ययनको मुख्य उद्देश्य नै बालबालिकालाई लोकतान्त्रिक समाजमा रहन सक्ने असल नागरिक बन्न सघाउनु हो । छोटकरी रुपमा भन्दा असल नागरिक निर्माणको यही महत्वपूर्ण उद्देश्य प्राप्तिका निम्ति सामाजिक अध्ययन विषय सहायक हुने हुनाले यसको औचित्य बढेर गएको छ ।

सामाजिक विषय अध्ध्ययन गराउनुको औचित्यः

– असल नागरिक भावनाको विकास गर्न,
– विविधतायुक्त समाजलाई एकसूत्रमा बाँध्न,
– बालबालिकामा सामाजिक चरित्रको निर्माण गर्न, (जसबाट विभिन्न सामाजिक गुण जस्तै सहयोग, सहकारिता, सहिष्णुता र निष्पक्षताको विकास हुन सकोस् ।)
– समालोचनात्मक चिन्तन र सृजनात्मक कलाको विकास गर्न,
– बालबालिकामा सामाजिक र बौद्धिक सीपको विकास गर्न,
– सामाजिक अन्धविश्वास र विकृति हटाउन सहयोग गर्न,
– मानवअधिकार र महिलाको अधिकार प्रवद्र्धनमा सहयोग गर्न,
– सामाजिक न्यायको अवधारणालाई बल पुर्याउन,
– राष्ट्रिय र अन्तर्राष्ट्रिय

समझदारीको विकासमा सहयोग पुपुर्याउन,

– शिक्षण–सिकाइमा बालबालिकाको सक्रिय सहभागितामा अभिवृद्धि गरी शिक्षालाई बालउन्मुख बनाउन, र
– सिकारुलाई कक्षाकोठाभन्दा बाहिर शिक्षण–सिकाइका लागि स्वायत्तता प्रदान गर्न,
– हाम्रा इतिहासमाथि गर्व गरी इतिहासबाट सिक्ने ज्ञानहरुलाई आत्मासाथ गर्न ।

यसरी सिकाउन सकिन्छः

सामाजिक शिक्षा पढाउने हामी शिक्षकहरुले पाठ्यपुस्तक बाहेकको जानकारीलाई पनि शिक्षणमा सामेल गराउने गरेका छौं जस्तै समाचारपत्र पढ्न, चित्र कोर्न, पत्र लेख्न, संस्मरण लेख्न, चलचित्र जस्ता कुराहरुलाई आधार बनाएर शिक्षणलाई रुचिकर बनाउन, जुन व्यावहारिक जीवनमा धेरै काम लाग्छ । उनीहरुमा रट्ने प्रवृत्ति अन्त्य हुन्छ । शिक्षणमा स्थानीयताले प्रवेश पाउँछ । विद्यार्थीहरुमा साेंच्ने, बुझ्ने र निर्णय लिने क्षमता विकसित गर्न चाहान्छन् भने त्यसलाई हामी शिक्षकहरुले आफ्नो विचार सङ्क्षिप्तरुपमा प्रस्तुत गर्ने गर्नुपर्दछ । विद्यार्थीहरुले प्रश्न खडा गरेर हाम्रो विचार जान्न चाहन्छन् भने सटिक विचार प्रस्तुत गर्ने पनि गर्नु जायज हुन्छ । शिक्षकले आफ्नो विचार व्यक्त गरेर विद्यार्थीहरुको स्वतन्त्र अभिव्यक्तिको प्रक्रियालाई रोक्नुहुँदैन । यसरी हामी शिक्षकहरुले सामाजिक शिक्षा अध्ययन गराउँदा कक्षामा सबैलाई समानरुपले भयरहित भई आफ्नो विचार राख्ने मौका प्रदान गर्नुपर्दछ ।

त्यस्तै हामी शिक्षकहरुले विद्यार्थीहरुलाई कक्षा शिक्षणबाहेक विभिन्न अवसरहरु पनि उपलब्ध गराउनु पर्दछ । जसमा विद्यार्थीहरु स्वयम् कुनै संस्था, कार्यालय, कुनै ठाउँको भ्रमण गरेर त्यहाँको जानकारी हासिल गर्न सकून् । यसका लागि पहिले हामीले उनीहरुलाई प्रश्न गर्ने बानी विकास गराउनु पर्छ । त्यहाँ गएर उनीहरुले जति प्रश्न सोध्छन्, उनीहरुलाई त्यतिकै बढी जानकारी प्राप्त हुन्छ भनेर विभिन्न सामाजिक सङ्घ संस्थाहरुमा लगी प्रत्यक्ष त्यहाँका मुख्य व्यक्तिसँग अन्तरर्वाता तथा अवलोकन पनि गर्ने गर्नु पर्दछ ।

सामाजिक अध्यय्नको पाठ्यक्रममा विद्यार्थीलाई यो विषयसँग सम्बन्धित पाठ्यवस्तुको व्यावहारिक ज्ञान दिनका लागि कक्षाभित्र वा बाहिर; विद्यालय, परिवार, टोलछिमेक, विभिन्न समूह, समुदाय तथा स्थानीय सरकारसँग सम्बन्धित क्रियाकलाप गराउनु पर्दछ । विद्यार्थीलाई जस्ताको तस्तै पाठ्यपुस्तक कण्ठ गराउने परिपाटीलाई निरुत्साहित गरी “गर र सिक” को विधि अपनाउन विभिन्न क्रियाकलापहरु गराएर शिक्षण गर्ने गर्नु अहिलेको आवश्यकता भएको छ ।

यो विषयले कथा, नाटक, कविता, विभिन्न चित्र तथा रेखाचित्र, तस्वीर, नक्शा जस्ता सृजनशीलता विकास गराउने सामग्रीको प्रयोग गर्ने र यसका लागि प्रश्नोत्तर र प्रदर्शन विधि, छलफल तथा समस्या समाधान विधि, अवलोकन तथा सोधखोज विधि, अभिनय तथा परियोजना विधि, स्थलगत भ्रमण तथा घटना अध्ययन विधिको प्रयोग गर्न पनि हामी पछि पर्नु हुँदैन । यसका अतिरिक्त यस विषयको शिक्षणमा सूचना प्रविधिको पनि भरपुर रुपमा प्रयोग गर्नु समाजको माग रहेको छ ।