पृष्ठभूमि
मानिस सृजनात्मक प्राणी हो । सृजनशील हुनु सुरुदेखि नै मानिसको परिभाषित विशेषता हो । रचनात्मकताप्रति हाम्रो प्राकृतिक प्रवृत्ति प्रागैतिहासिक गुफा रेखाचित्रहरु, पुरातन कथाहरु र मिथकहरु मार्फत पत्ता लगाउन सकिन्छ । मानव जाति सधैं सृष्टि गर्न प्रेरित रहेको छ । चाहे त्यो गीत, कला, कथा कथन वा अन्य नवीनता मार्फत होस् । सभ्यता सामान्यतया रचनात्मकता विना सम्भव छैन । भवनहरुको डिजाइन, रङरोगन र संरचना देखि इनडोर प्लम्बिङसम्म रचनात्मक समाधान निर्माण नगरी कुनै पनि अस्तित्वमा हुँदैन । मानिस बाँच्नुको परिप्रेक्ष्यबाट हेर्ने हो भने पनि रचनात्मकता अत्यन्तैै आवश्यक छ । धेरै जनावरहरु छन् जुन लामो समयसम्म बाँचेका छन् । तिनीहरु मिलियन वर्षदेखि पृथ्वीमा बसोबास गरेको विश्वास गरिन्छ र तिनीहरु सबैमा मानिसमा जत्तिको रचनात्मकता देखिंदैन । यहाँ जिज्ञासा आउँछ किन मानिस रचनात्मक हिसाबले पहिलो स्थानमा छन् ? यसको कारण पनि स्पष्ट छ मानिसको दिमागको क्रेनियल क्षमता बराबर अन्य कुनै जीवको रहेको छैन ।
मकवानपुरको साहित्य
मकवानपुरको कला साहित्य आफैंमा आकर्षणयुक्त छ । यसको आफ्नै मौलिकता रहेको छ । काठमान्डौ नजिकका जिल्लाहरु मध्ये मकवानपुर यस्तो जिल्ला हो जहाँ धेरै साहित्यिक गोष्ठी, साहित्यिक छलफल र चर्चा भईरहन्छ । साहित्यप्रति बढी नै संवेदनशील छ मकवानपुर । मकवानपुरमा साहित्यिक संस्थाहरु पर्याप्त छन् । साहित्य सङ्गम मकवानपुर, श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, मातृभूमि साहित्य समाज, गजल मञ्च मकवानपुर, पालुङ साहित्य परिषद्, गजलमञ्च मकवानपुर, झरना साहित्यिक परिवार, आँचल साहित्य कला पुञ्ज, भीम विराग सङ्गीत साहित्यकला प्रतिष्ठान, मुक्तक मञ्च मकवानपुर, बुढ्यौली साहित्य समाज, प्रगतिशील लेखक सङ्घ, नेपाली लेखक सङ्घ, नवसर्जक साहित्य चौतारी लगायत साहित्यिक सङ्घ संस्थाहरु यो क्षेत्रको साहित्यिक उन्नयनका लागी लागिरहेका छन् । यी साहित्यिक संस्थाहरुबीच राम्रो समन्वय पनि छ । सबै साहित्यिक संघ संस्थाहरुलाई एकै ठाउँमा समेट्ने गरी सर्जक सञ्जाल मकवानपुरको अवधारणा अघि सारिएको छ ।
लेखनमा नयाँ पुस्ताको आकर्षण
संघीय संरचनामा देश गएपछि बागमती प्रदेशको राजधानी बनेको हेटौंडामा यति धेरै साहित्यिक संस्थाहरु क्रियाशील रहे पनि लेखनमा जिम्मेवार ढङ्गले नयाँ पुस्ताको आकर्षण बढ्न सकेको छैन । पछिल्लो समय स्थापित नवसर्जक साहित्य चौतारीले भने यो तर्कलाई चिर्ने यथासम्भव प्रयत्न गरेको छ । त्यस बाहेक स्थापनाकालदेखि नै झरना साहित्यिक परिवारको प्रयासलाई पनि महत्वपूर्ण सम्झिनु पर्छ । यसैले प्रशिक्षित गरेर सिर्जना क्षेत्रमा प्रवेश गरेका लेखकहरु मकवानपुरमा मात्र नरहेर देश विदेशमा नै लेखनका हिसाबले सुपरिचित छन् । यी भन्दा बाहेक अरू साहित्यिक संघ संस्थाहरु यो सन्दर्भमा उत्ती क्रियाशील देखिन्नन् । कोरोनाको प्रभाव स्वरुप देश लकडाउनमा गएपछि अनलाइनमार्फत साहित्यकार दीपक गौतमको परिकल्पनामा सुरु भएको नव सर्जक साहित्यिक चौतारीले विद्यार्थीहरुलाई साहित्यिक प्रशिक्षण दिने र रचना कर्ममा डो¥याउने काम गरेको छ । यसै गरी झरना साहित्यिक परिवार मकवानपुर पनि यस सन्दर्भमा बढी क्रियाशील देखिन्छ । यसले सिर्जनात्मक नयाँ पुस्ता निर्माणको अभियानलाई लिएर गाउँगाउँमा कार्यक्रम गर्ने यत्नहरुलाई निरन्तरता दिइरहेको छ ।
अपेक्षित कार्य
मानिस आफैंसँग क्षमता रहेको हुन्छ र त्यसलाई बाहिर ल्याइदिने कार्य भने अरुले गरिदिन सक्छन् । अहिलेको विश्वव्यापि शिक्षा नितिले पनि ज्ञानको हस्तान्तरणलाई मात्र शिक्षा मान्दैन । शिक्षकले सहजकर्ताको मात्र भूमिका निर्वाह गर्ने हो र विद्यार्थीमा रहेको क्षमता प्रस्फुरणमा सहयोग गर्ने हो भन्ने यसको अवधारणा रहेको छ । शिक्षा त्यो प्रक्रिया हो जसले व्यक्तिको सीपहरु बढाउँछ र व्यक्तिको सर्वाङ्गीण विकास गर्न मद्दत गर्दछ । हामीले विद्यालय तथा कलेजका कार्यक्रमहरु गर्दा वा त्यहाँ सहभागी हुँदा सङ्ख्यात्मक रुपमा धेरै सहभागी हुने गर्नुहुन्छ र नयाँ व्यक्तिका नयाँ किसिमका रचनाहरु पनि सुन्न पाइन्छ । त्यसो हुँदाहुँदै पनि रचनाको पाइरेसीमा भने शङ्का रहने गर्छ । तर साहित्यिक सङ्घ संस्थाका कार्यक्रमहरुमा भने एउटै किसिमकामा निसहरुको पुनरावृत्ति हुने र खासै नयाँपन नदेखिने हुन्छ ।
केही तल उल्लिखित कार्यहरु गरेर नयाँ पुस्तालाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने पङ्क्तिकारको धारणा रहेको छ ।
क) साहित्यिक संघ संस्थाहरुले विद्यालय तथा कलेजहरुसँग सहकार्य गरी आफ्ना मासिक कार्यक्रमका केही शृङ्खलाहरुलाई सञ्चालन गर्ने र शिक्षालयहरुले पनि त्यसलाई सकारात्मक दृष्टिले लिने ।
ख) विद्यालय तथा कलेजहरुमा गई साहित्यिक प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने ।
ग) साहित्यिक संघ संस्थाहरुले विद्यालयस्तरमा साहित्यिक एकाइहरु खडा गर्ने र त्यसलाई सक्रिय बनाउने ।
घ) साहित्यिक संघ संस्थाले विद्यालयले निर्माण गरेका अतिरिक्त क्रियाकलाप विभागसँग समन्वय गरी साहित्यिक कार्यक्रहरु आयोजना गर्ने ।
ङ) नयाँ पुस्तामा साहित्य भनेको कविता, गजल, गीत लेखन र वाचन मात्र होइन “हितेन सहित तस्य भावः साहित्यम्” अर्थात् हितले युक्त भाव नै साहित्य हो भन्ने कुरालाई मनन गर्दै जीवनका यावत पक्षमा यो सम्बन्धित छ भन्ने धारणा विकास गराउने ।
च) धेरैवटा साहित्यिक संस्था निर्माण गर्नुभन्दा साहित्यिक संघ संस्थाले नयाँ पुस्ता विभाग बनाएर त्यस मार्फत् कार्यक्रमहरु अघि बढाउने ।
माथि उल्लिखित लगायत अन्य आवश्यक पक्षमा ध्यान दिन सके नयाँ पुस्ता तथा विद्यार्थीहरुको अकर्षणको क्षेत्र साहित्यबन्न सक्छ । र साहित्यिक उन्नयनमा जोड पुग्न सक्छ ।
निष्कर्ष
लिखित होस् वा अलिखित रुपमा साहित्य त हाम्रो जीवनमा टाँसिएकै छ । भ्रुण अवस्थादेखि (मनोवैज्ञानिक दृष्टिले) मृत्युसम्म हामी भाषा साहित्यबाट अछुतो रहँदैनौं । बाल साहित्य, युवा साहित्य, प्रौढ साहित्य मात्र नभएर पछिल्लो समय नेपाली साहित्यमा वृद्धवृद्धा केन्द्रित साहित्य पनि अगाडि बढेको छ । विश्वमा एजिङ लिटरेचरको नाममा पहिलेदेखि नै अभ्यास भए पनि नेपालमा यसको उति साह्रो चर्चा भएको थिएन तर अहिले मकवानपुरमा “बुढ्यौली साहित्य समाज” नामक संस्था स्थापना भएर यसले अरु जिल्लामा पनि शाखाहरु गठन गरिरहेको छ ।
व्यङ्ग्यकार चट्याङ मास्टरको उत्प्रेरणा र आर. सी. रिजालको संयोजकत्वमा स्थापना भएको यो संस्थाले वृद्धवृद्धा केन्द्रित कार्यक्रमहरु गर्ने, रेडियो थाहा सञ्चार हेटौंडा र काठमान्डौ मार्फत् “बुढ्यौली साहित्य” नामक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । व्यङ्ग्यकार आर.सी. रिजालको संयोजनमा सुवास खनालले सञ्चालन गर्नु हुने यो कार्यक्रमको सञ्चालन समिति सदस्यका रुपमा कवि पुरुषोत्तम आचार्य पनि हुनुहुन्छ । साहित्यका अरु भाग सँगसँगै वृद्धवृद्धा केन्द्रित साहित्यिक संस्था निर्माण हुनुले जीवनप्रतिको आस्था वृद्धि गर्न र मृत्युको अघिसम्म पनि सृजनात्मक रहिरहन साहित्यले भूमिका खेल्छ भन्ने कुराको परावर्तन यहाँबाट पुष्टि हुन्छ ।
समाज सृजनशीलहुन सक्यो भने त्यसले विध्वंशका बाटाहरु त्याग्न सक्छ । समस्याको पहिचान सँगसँगै समाधानका बाटाहरु पहिल्याउन सक्छ । भोलिको उन्नत समाज सिर्जना हुनुमा आजको नव पुस्तालाई ध्यान दिन जरुरी छ र यो पुस्तालाई सिर्जनात्मक बनाउन सकेमा भोलिको भविष्य उज्ज्वल हुन सक्ने भएकाले मकवानपुरका साहित्यिक संघ संस्थाहरुले यसप्रति ध्यान दिनु जरुरी छ ।