सम्प्रास पौडेल (लेखक सिस्नुपानी मकवानपुर सदस्य हुनुहुन्छ)

शब्दको माध्यमबाट प्रस्तुत गरिने मानवीय अनुभूति वा रुचीको अर्थपूर्ण अभिव्यक्ति नै साहित्य हो । खासमा साहित्य लेखन कार्यको सिर्जनात्मक कला हो । सूर्ती, चुरोट, गाँजा, रक्सी खाएर मान्छे बिग्रन्छ तर साहित्यमा लागेर कोही बिग्रँदैन । यसैले धेरैभन्दा धेरै पढौं । अनी केही लेखौं । एकपटक लेखौं, पन्ध्र पटक पढौं । आपैंmलाई राम्रो लागेपछि छपाउने कष्ट गरौं । साहित्य सिर्जनाका लागि प्रौढ नै हुनुपर्छ भन्ने छैन, बालबालिकाले पनि आप्mना मनमा उब्जेका ज्वारभाटाहरुलाई रचनात्मक तवरले उतार्न सक्दछन् । अब विद्यालयमा विद्यार्थीहरुलाई साहित्य पठन तथा लेखनमा कसरी रुची जगाउने तथा यस्ता गतिविधिले शिक्षामा के कस्ता सकारात्मक प्रभावहरु पार्दछन् भन्ने चिन्ता गरौं ।

विद्यालयमा के–के पढाउने ? के कक्षागत किताब मात्रै पढाउने हो ?

विद्यार्थीलाई कक्षागत पुस्तक, प्राक्टिस बुक, गाइड, म्यानुअल, प्रश्नपत्र बैंक आदि पुस्तकहरु जम्मा गरेर सिकाइलाई जोड दिन लागिपरेका छौं । कक्षा बढ्दैजाँदा र खाँचोअनुसार त्यसको प्रयोग पनि गर्दै गरौंला तर विद्यालयले हप्ताको एउटा कक्षा मात्रै पुस्तकालय लैजाने र मन लागेको पढ्नका लागि प्रेरित गर्ने हो भने विद्यार्थीहरुले अर्काथरी किताब पढेर थकान मेटिएको महसुस गर्दछन् । बालबालिकाकै लागि लक्षित गरी बाल साहित्यका थुप्रै किताब छापिएका छन्, तिनले अहिले पढ्न नपाए कहिले पढ्ने ? त्यसमा शारीरिक व्यायामसँगसँगै अब मानसिक व्यायामबारे पनि आजै ध्यान दिऔं ।

पुस्तकालयमा के गर्ने ? बजेट अभावमा पुस्तक नै छैन भने के गर्ने ?

१. आफूले पढेको किताबको लेखक, प्रकाशक, पुस्तकको विधा तथा मन परेका कुराहरु टिपोट गर्न लगाउने र भोलिपल्ट कक्षामा एकल वा सामुहिक प्रस्तुती गराउने ।

२. दैनिक रुपमा कुनै न कुनै पत्रिका पढ्ने वातावरण बनाउने । जसका लागि दैनिक पुस्तकालय लैजान मिल्ने अवस्था छैन भने पनि कक्षाकोठाभित्र एउटा टेबलमा पत्रिका फाइलिङ गरी राख्ने व्यवस्था मिलाउने ।

३. पुस्तकालय, कक्षाकोठा तथा शिक्षकको कोठामा अतिरिक्त पुस्तकहरु छैनन् भने यसो गरौंः

– हरेक वर्ष भर्नाका क्रममा एउटा विद्यार्थीले एउटा पुस्तक किनेर विद्यालयलाई दिने व्यवस्था मिलाउने ।
– कुनै पनि विद्यार्थीको जन्मदिनमा शिक्षक र सोही कक्षाका विद्यार्थीहरु मिलेर पैसा संकलन गरी पुस्तक उपहार दिने । शिक्षकले शिक्षकलाई पुस्तक नै उपहार दिने ।
– अतिरिक्त क्रियाकलापका पुरस्कारमा पुस्तक तथा डायरी थप गर्ने ।
– पूर्व विद्यार्थीहरुको सञ्जाल नै बनाएर पुस्तक सहयोग माग गर्ने ।
– साना विद्यालयले ठूला विद्यालयहरुसँग पुस्तक माग गर्ने ।
– पढ्नेहरुले पनि एक पटक पढिसकेको पुस्तक विद्यालयमा दान गर्ने बानी गर्ने ।

झोलामा कस्ता पुस्तक बोक्ने ?

१. हरेक विद्यार्थीसँग महिनामा कम्तिमा एउटा अतिरिक्त पुस्तक हुनुपर्ने नियम बसाल्ने । त्यसलाई खाली घण्टी वा अतिरिक्त कक्षाको व्यवस्था गरी पठन तथा वाचनमा जोड दिने । झोलामा कक्षागत पुस्तकबाहेक अन्य पुस्तक पनि थपिउन् ।

२. कक्षामा खुला दराज बनाएर सबैले पढ्न मिल्नेगरी किताब राखिदिने । घर लैजाने र फिर्ता गर्ने व्यवस्था मिलाउने । त्यसको जिम्मा विद्यार्थीलाई नै दिने ।

लेख्न कसरी प्रेरित गर्ने ?

१. आफ्ना, आफ्ना परिवार, समाज, देश, विद्यालय, शिक्षक, किताब, आमा आदि साझा विषयवस्तुका बारेमा विद्यालय तहमा सामान्य लेखपढ गर्न जानिसकेका सबै विद्यार्थीहरुले केही न केही वाक्यहरु लेख्न जानेका हुन्छन् । त्यसैलाई जोड दिएर लेख्न लगाउने गर्नुपर्छ । बालसाहित्य लेख्न लगाउने अनि पछि विषयान्तर गराउन सकिन्छ ।

२. शिक्षकले पनि केही न केही लेख्ने बानी बसाल्नुपर्छ । अभिभावकहरु पनि अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गर्नु आवश्यक छ । शिक्षक तथा अभिभावकले पुस्तक किन्न समस्या छ भने अनलाइनमा पाइएका लेखहरु पढ्न तथा सुनाउन लगाउने गर्दा बालबच्चाको पढ्ने बानीको विकास हुन्छ । सोपश्चात् आफ्ना लेख, रचना पत्रपत्रिकामा छपाउने, अनलाइनमा पोस्ट गराउने र त्यसमा विद्यार्थीको पहूँच बढाउनेतर्फ ध्यान दिनु वेश हुन्छ ।

३. हप्ताको अन्तिम दिन कुनै उपयुक्त पुस्तक पढ्न दिने र अर्को साता त्यसबाट सामान्यज्ञान वा अति छोटा उत्तरात्मक प्रश्न वा सारांश शैली वा समिक्षात्मक कार्यक्रम राख्ने र उत्कृष्ट केहीलाई पुरस्कृत गर्नु पर्दछ ।

४. साहित्य लेखन व्यक्तिको आफ्नै क्षमतामा आधारित हुन्छ भनिन्छ । तर प्रयास हदैसम्म गर्नु आवश्यक छ । एक हप्ता कविता, एक हप्ता कथा, अर्को हप्ता मुक्तक, अर्को हप्ता गजल यस्तैखालको तालिका बनाउने र सोहीअनुसारका पुस्तकहरु पढ्नका लागि प्रेरित गर्ने वा शिक्षकले केही नमुना रचनाहरु प्रत्येक कक्षाको सूचना पाटीमा टाँस्ने व्यवस्था गर्ने गर्नुपर्दछ ।

५. माथिका चरणहरु पूरा गरिसक्दा कक्षामा क्रमिक रुपमा धेरै सर्जकहरु बढ्दै जान्छन् । यसपछि विद्यार्थीका चासोका विधासम्बन्धी बेग्लाबेग्लै समूह निर्माण गरी लेखनमा अभिवृद्धि गराउन सकिन्छ ।

६. विभिन्न चरणमा कार्यशालाहरु चलाउने, लेखन क्रियाकलाप बढाउने, प्रतियोगिताहरु गरी उनीहरुलाई प्रोत्साहित गर्न सकिन्छ ।

७. शहरका ठूला ठूला हलहरुमा हुनेगरेका विभिन्न साहित्यिक कार्यक्रमलाई विद्यालयको चौरमा विद्यार्थीका अगाडि नै गराउने व्यवस्था मिलाउनुपर्दछ ।

८. जिल्लाभर हुने गरेका विभिन्न साहित्यिक गतिविधिमा कक्षागत समूहहरु सहभागी गराउनु आवश्यक छ । आफ्नो वा नभए अरुका भए पनि कुनै न कुनै रचना वाचनको अवसर दिलाउने गर्नुपर्दछ ।

यी कामहरु कसले गर्ने ?

यी कामहरु विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रशासक (प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, तहगत संयोजक), कक्षा शिक्षक, भाषा (नेपाली, अंग्रेजी) शिक्षक तथा अन्य शिक्षकले गर्ने । कतिपय अवस्थामा समितिका पदाधिकारीलाई एसइइको नतिजाबाहेक यस्ता कुरामा चासो हुँदैन । त्यस अवस्थामा प्रशासकहरुले ध्यान पुर्याउनुपर्छ । उनीहरुको पनि ध्यान नगए कक्षा शिक्षक र अन्य शिक्षकहरुले पहल गर्नुपर्छ । आफ्ना कक्षा कसरी रोमाञ्चक बनाउने र हप्ताको एक दिन आफ्ना विषयबाहेक अन्य विषय पढ्न लगाउने काममा कसैको अवरोध हुने अवस्था पक्कै आउँदैन । आआफ्ना ठाउँबाट सबैले पहल गरौं ।

अतिरिक्त पठन र लेखनले नियमित पढाईमा असर त गर्दैन ?
अतिरिक्त पठन र लेखनले गर्दा विद्यार्थीहरुमा पढाईप्रतिको जाँगर बढ्छ । अतिरिक्त पठन क्रियाले मोबाइल गेम, सामाजिक सञ्जालको अतिप्रयोगमा कमी आउँछ । कक्षामा छलफल हुँदा पनि किताबकै कथा, कविता, नाटक आदिमाथि छलफलको क्रियाकलाप बढ्छ ।

हामी के गरिरहेका छौं ?

सबै विद्यालयहरुले केही न केही गरी नै रहेका छन् । यहाँ केही थोरै लगानीमा विद्यार्थीहरुमा पठन र लेखन संस्कृतिको विकासका लागि गर्न सकिने रचनात्मक कार्यहरु मात्रै उल्लेख गरिएका छन्ः

जनप्रिय मावि, हेटौंडा १६ मा रहेको छ । हामीले गणित विषयका लागि गणित भित्तेपत्रिका र कृषि विषयका लागि हरित भित्तेपत्रिका तयार गरी विद्यार्थीहरुका हस्तलिखित रचनाहरु संकलन गर्ने गरेका छौं ।

यहाँ सबैको सहयोगले हामी “एक व्यक्ति एक पुस्तक अभियान” सञ्चालन गरिरहेका छौं । यस अभियानमा जोसुकै व्यक्तिले केवल एक पुस्तक विद्यालयलाई दान दिएर पठन संस्कृतिको बढावाका लागि योगदान गर्न सक्नुहुन्छ । अब पुस्तक कबाडी मूल्यमा बेच्ने होइन, विद्यालयलाई दान दिने बेला हो भन्ने बुझाउने हेतु नै हो ।

विद्यार्थीलाई खाली घण्टी तथा अन्य समयमा पुस्तकालय लगिरहेका छौं । माथिल्ला कक्षाहरुमा कक्षामै प्रत्येकले एक एकवटा पत्रिका पढ्ने अवसर मिलाएका छौं । विभिन्न प्रकाशन गृहका विषयवस्तुसँग सम्बन्धित विभिन्न सहयोगी पुस्तकहरुका साथ अतिरिक्त पुस्तकहरु कक्षाभित्रै उपलब्ध हुँदैछन् । लगातार २ वा ३ पाठ सकिएपछि एउटा घण्टीमा विद्यार्थीलाई केही पुस्तक दिने र शिक्षक पनि कक्षामै बसेर कुनै न कुनै पुस्तक पढ्ने वातावरण बनाउँदैछौं । यसबाट पुस्तक पढ्ने र पुस्तक लेख्ने भावी पुस्ता बन्छ भन्नेमा दृढ छौं ।

यस्तै तल्लो तहका विद्यार्थीहरुका कक्षामा गीत गाउँदै, कविता वाचन गर्दै प्रवेश गर्ने शिक्षक सबैभन्दा प्रिय हुन्छन् । बालबालिकालाई बालकविता, बालकथाहरु भन्ने र त्यसलाई पुनरावृत्ति गराउनेतर्पm ती कक्षाका शिक्षकहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ । यसैले माथिल्लो कक्षाहरुमा साहित्य लेखनमा बानीको विकास समेत हुने गर्दछ । यसतर्पm हामी सबैले जोड दिनु अत्यावश्यक छ ।

पठन संस्कृतिको विकासका लागि वडादेखि केन्द्र सरकारको मुख ताक्नु पर्दैन । प्रधानाध्यापकले व्यवस्थापन समितिलाई, अनि समितिले अन्यलाई दोषारोपण गर्नुपर्दैन । केवल आफू पढ्ने र विद्यार्थीलाई पढ्ने समय व्यवस्थापन गरिदिए पुग्छ । किताब त साटी–साटी पढ्न सकिन्छ । लगातार धेरै वर्षसम्म एउटै झारा टार्ने कुरा “गर्न त हुन्थ्यो तर ठूला बजेट नआएकोले/मैले मात्रै चाहेर नहुने/के गर्नु यो साल पनि पुस्तकालय बनाउन सकिएन” भन्न पनि पर्दैन । विविध उपाय लगाएर पनि पढ्ने बानीको विकास गरौं, गराऔं । पढ्ने मान्छेले लेख्न पनि सक्छ । ईच्छानुसारका पुस्तकहरु पढ्ने वातावरण बनेपछि साहित्यका विविध विधामा कलमहरु चल्दै जानेछन् । आजै बालकथाको एउटा पुस्तक किनेर घरमा लगी ठूलो स्वरले एक्लै पढ्न थाल्नोस् तपाईँका बालबच्चा रिमोट थन्क्याएर तपाईँकै काखमा बसेर सुन्न थाल्नेछन् । कलम र किताबको शक्ति भयङ्कर पो हुन्छ त ।

(लेखक हेटौंडा–१६, हटियास्थित जनप्रिय माविका शिक्षक हुनुहुन्छ ।)