मकवानपुरमा महिला साहित्यकारहरुले आँचल साहित्य कला पुञ्ज नामक संस्था स्थापना गरेका छन् । महिलालाई साहित्यमा क्रियाशील गराउने उद्देश्यले स्थापित आँचल साहित्य कला पुञ्जको असार अन्तिम साता सम्पन्न अधिवेशनबाट भावना सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो । पेशाले शिक्षक सापकोटाको पारिवारिक पृष्ठभूमि नै साहित्यिक छ । बकैया गाउँपालिकाको साहित्यिक वातावरणमा हुर्कनु भएकी सापकोटासँग नवसर्जक साहित्य चौतारीकी उषा किरण अधिकारी र आभास घिमिरेले समृद्ध समाज दैनिकका लागि आँचल साहित्य कला पुञ्जकी नवनिर्वाचित अध्यक्ष भावना सापकोटासँग गरेको कुराकानीः
आँचल साहित्य कला पुञ्ज स्थापनाको मुख्य उद्देश्य के हो ?
सापकोटाः आँचल साहित्य कला पुञ्ज साहित्य, कला तथा अन्य क्षेत्रमा महिलाहरुमा रहेको प्रतिभालाई अगाडि ल्याउने र आफ्नो पहिचान गर्ने एउटा संस्था हो । चुलो चौकोमा मात्र सीमित भइरहेका महिलाहरुलाई साहित्य लगायत विभिन्न क्षेत्रमा अग्रस्थानमा ल्याउने र समाजमा महिलाहरुको निर्णायक भूमिकालाई स्थापित गर्ने आँचल कला साहित्य पुञ्ज स्थापनाको मुख्य उद्देश्य हो । साथै विभिन्न कार्यक्रम तथा गतिविधिहरुमा महिलाहरुको सहभागिता बढाउने कार्यमा एकदम ठूलो भूमिका हाम्रो यस संस्थाले खेलेको जस्तो मलाई लाग्छ ।
आँचल साहित्य कला पुञ्जको भावी योजनाहरु के कस्तो रहेको छ ?
सापकोटाः आँचल साहित्य कला पुञ्जले स्थापनाकालदेखि नै महिलाहरुका लागि लेख्न र आफूसँग भएको प्रतिभा प्रस्फुटनका लागि विभिन्न प्रशिक्षण कार्यक्रम तथा तालिमहरु गर्दै आएको छ । अबको योजना पनि विगतमा नियमित रुपमा सञ्चालन गर्दै आएको नियमित सन्ध्यालाई निरन्तरता दिने, विधागत रुपमा साहित्यको प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गर्ने, वर्षमा ४ वटा विशेष कार्यक्रमहरु सञ्चालन गर्ने, लैंगिक हिंसा विरुद्ध कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ ।
तपाइँलाई लेख्न प्रेरणा दिइरहने तत्वहरु के–के हुन् ?
सापकोटाः मलाई लेख्नका लागि प्रेरणा दिने झरना साहित्यिक परिवार, मेरो आफ्नै घरायसी वातावरण र मलाई शिक्षा दिने शिक्षकहरु नै हो । शुरुवाती दिनहरुमा निकै करकापमा साहित्य रचना गर्ने भए तापनि अहिले चाहिँ त्यसैप्रति रमाइलो लाग्न थालेको छ ।
तपाईले साहित्य नै किन रोज्नुभयो ?
सापकोटाः पहिला मलाई साहित्य बाहेक खेलकुद, गायन लगायतका क्षेत्रहरुमा पनि रुचि थियो । मैले अन्य क्षेत्र छोडेर साहित्य क्षेत्र नै रोजेँ । कतिपय हामीले सिधै भन्न नसकेका कुराहरु साहित्यमार्फत व्यक्त गर्न पाउने भएकोले साहित्यले जीवनलाई अझ सजिलो बनाएको छ । आफ्नो मनमा लागेका कुरा स्पष्टसँग पोख्न, समयसापेक्ष आफूलाई समाजसँग जोडेर अगाडि बढाउन र आफ्नो भावना व्यक्त गर्न साहित्यमा सजिलो हुने भएकोले मैले साहित्य रोजेकी हुँ ।
तपाईले आफ्नो विद्यार्थीहरुलाई साहित्यमा जोड्न कस्तो भुमिका निर्वाह गर्दै आउनुभएको छ ?
सापकोटाः म नेपाली पढाउने शिक्षक भएको नाताले पाठगत रुपमा संलग्न विभिन्न विधाका रचनाहरु अध्यापन गराउने सिलसिलामा विद्यार्थीहरुलाई त्यस्तै विधाहरुको बारेमा जानकारी दिने, लेख्ने तरिका सिकाउने र विद्यालयको वातावरण अनुसार साहित्यिक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएकी छु । विद्यार्थाीहरुलाई आफू जुन विधामा रुचि राख्छ त्यसै विधामा कलम चलाउन प्रेरणा दिँदै पनि आएकी छु ।
साहित्य लेखनमा सामाजिक सञ्जालको भूमिका कस्तो रहन्छ ?
सापकोटाः सामाजिक सञ्जालले अहिले धेरै सर्जकहरुलाई सजिलो बनाएको छ । विभिन्न लेख तथा अध्ययनका लागि आवश्यक सामग्रीहरु सामाजिक सञ्जालमार्फत सजिलै प्राप्त गर्न सकिन्छ । जसले गर्दा सर्जकको बजारमा सामग्री खोज्न जाने समय बच्ने र सो समय अध्ययन तथा लेख्नका लागि उपयुक्त भएको छ । सर्जकहरुले आफूले सिर्जना गरेको रचनाहरु सामाजिक सञ्जालमा पोष्ट गर्ने, अरुको टिप्पणी पढेर आफ्नो रचनालाई थप सुधार्न मौका पाउने भएकोले यसको सकारात्मक भूमिका रहेको जस्तो मलाई लाग्छ । अर्काेतिर, सामाजिक सञ्जालमा आफ्नो रचना राख्दा अरुले त्यही रचनाको कपी गरी आफ्नो नाम जोड्ने जस्ता नकारात्मक प्रभाव पनि पर्ने देखिन्छ ।
साहित्य लेखेर जीविका चलाउन सकिएला त ?
सापकोटाः अलि अगाडिसम्म पनि हामीले विभिन्न साहित्यिक कार्यक्रमका निर्णायकहरुलाई पारिश्रमिक दिने र लिने व्यवस्था गरेका थिएनौं । कुनै श्रष्टाले पुस्तक माथि बोलिदिँदै पनि सहयोग वा स्वयम्सेवक कै रुपमा लिइन्थ्यो । साहित्यलाई बेचेर जिविकोपार्जन गर्छु भन्नु त झन् परको कुरा थियो । पछिल्ला दिनहरुमा केही विकास भने भएको देखिन्छ । अहिले कुनै कृतिमाथि राम्रो बोलेर, समिक्षा लेखेर पनि पारिश्रमिक लिइरहेको छ । राम्रो समिक्षा लेखे वापत पनि श्रष्टा आफैंले हौसलास्वरुप केही पैसा दिने चलन गरेको छ । केही हदसम्म परिवर्तन भएर पारिश्रमिक दिने व्यवस्था गरेको भए तापनि अझै साहित्य नै लेखेर जीविकोपार्जन गर्नसक्ने अवस्था भने छैन जस्तो मलाई लाग्छ ।