हेटौंडाः हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिनलाई गुरु पूर्णिमाको रुपमा मनाइन्छ । यस वर्ष आज बुधबार गुरु पूर्णिमा परेको छ । जीवनका विभिन्न कालखण्डमा शिक्षा–दीक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट एवम् गुरुको स्मरण गरेर गुरु पूर्णिमा मनाइँदैछ ।
महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीलाई परम्परादेखि नै गुरु पूर्णिमाको रुपमा मनाउने गरिएको छ । महाभारतका साथै अठार पुराण, विभिन्न ग्रन्थ तथा उपनिषद् लेखेर हिन्दू धर्म संस्कृतिमा अतुलनीय योगदान पुर्याउने वेद व्यासको सम्झनामा व्यास जयन्ती अर्थात् गुरु पूर्णिमा मनाउने गरिएको छ ।
गायत्री मन्त्र, वेद मन्त्र तथा अन्य दीक्षा सुनाउने र औपचारिक शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । संस्कृत भाषामा “गु”को अर्थ अन्धकार र “रु” को अर्थ प्रकाश भन्ने बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको पाइन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिने गरेका कारण हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।
गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय, क्याम्पस एवम् शैक्षिक संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् । गुरु पूर्णिमाका अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा विद्यार्थीहरुले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गरी उपहारहरु प्रदान गर्ने गर्दछन् ।
आज बुधबार नै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती पनि मनाइँदैछ । देशभित्र मात्र नभई नेपाली भाषीको बसोबास रहेको विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रम गरी भानु जयन्ती मनाइन्छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनी “रामायण”लाई भावानुवाद गरेर सरल नेपाली भाषामा लेखेर भानुभक्तले नेपाली साहित्यमा ठूलो योगदान दिएका छन् । उनले लेखेको रामायण अहिले नेपालीमाझ निकै लोकप्रिय छ ।
वि.सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो । एक जना सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भन्ने भनाईबाट प्रेरित भएर भानुभक्तले साहित्य सिर्जना गरेर नाम कमाएका थिए । पृथ्वीनारायण शाहले भौगोलिकरुपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेको मानिन्छ ।