हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षातर्फ ६६ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाले गत असार १२ गते आइतबार आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ७१ करोड ७९ लाखको आनुमानित बजेट विनियोजन गर्दा शिक्षातर्फ ६६ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
उपमहानगरपालिकाको सामाजिक विकास शीर्षकअन्तर्गत् शिक्षातर्फको सशर्त र आन्तरिक गरी ६६ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कुल विनियोजित बजेटको २४ दशमलब ३४ प्रतिशत हो । उपमहानगरपालिकाको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगरसभाबाट पारितसमेत भइसकेको छ । उपमहानगरपालिकाको शिक्षातर्फ आन्तरिक बजेट ४ करोड ९७ लाख ५० हजार रुपैयाँ र सशर्त बजेट ६१ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि शिक्षातर्फ झण्डै ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि २ अर्ब ६० करोड १५ लाखको बजेट विनियोजन गर्दा शिक्षा क्षेत्रका लागि ६३ करोड ९३ लाख बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिकाको ९ औं नगरसभामा तत्कालीन उपमेयर मीनाकुमारी लामाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । शिक्षातर्फको सशर्त र आन्तरिक बजेटतर्फका कार्यक्रम सञ्चालन गर्न कुल बजेटको झण्डै २४ दशमलब ५७ प्रतिशत बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रको बजेट शून्य दशमलब २३ प्रतिशत न्यून रहेको छ ।
उपमहानगरपालिकाले विनियोजन गरेको शिक्षातर्फको बजेटको अधिकांश हिस्सा शिक्षकको तलबमा खर्च हुने गरेको छ । उपमहानगरपालिकाको बजेटमा एमबीबीएस तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सहयोग गर्न मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत् २० लाख रुपैयाँ विनियोजन गरिएको छ । विद्यार्थीको दिवा खाजा कार्यक्रमका लागि विद्यालयलाई अनुदान दिनका लागि ३ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अन्य कार्यक्रम तथा अनुदानका आधारमा सबैभन्दा बढी दिवा खाजालाई उपमहानगरको बजेट विनियोजन भएको छ । यसैगरी आगामी आर्थिक वर्षका लागि प्रारम्भीक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको कार्य उत्प्रेरणा अभिवृद्वि गर्न थप तलब भत्ताका लागि आन्तरिक श्रोतबाट ३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी, सार्वजनिक विद्यालयका विद्यार्थीको लागि निःशुल्क पाठ्यपुस्तक अनुदानका लागि एक करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहनका लागि एक करोड ४६ लाख रुपैयाँ, छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्न ८० लाख रुपैयाँ, शिक्षण सिकाई सामग्री, कक्षा ८ को परीक्षा सञ्चालन एवम् विद्यार्थी मूल्याङ्कन र नतिजा विश्लेषण गर्न एक करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीका लागि छात्रवृत्ति अनुदान ७९ लाख रुपैयाँ, नमुना विद्यालय विशेष विद्यालयको क्रमागत भवनका लागि एक करोड एक लाख रुपैयाँ विनियोजन गरिएको छ ।