दीपक गौतम (संरक्षक/परिकल्पनाकार, नवसर्जक साहित्य चौतारी नेपाल)

–दीपक गौतम

१. नयाँ पुस्ताप्रतिको पुरानो दृष्टिकोण :

हरेक बालक यो धर्तीमा कुनै न कुनै प्रतिभा लिएरै जन्मेको हुन्छ । बस्, हामीले ऊभित्र कस्तो प्रतिभा छ भन्ने कुरा बुझिदिएर सोहीअनुसारको वातावरण दिनमात्रै सक्नुपर्दछ । भन्न त जोकोही मानिस बालबालिका भविष्यका कर्णधार हुन् भन्छन् तर कुनै पनि बालबालिका भविष्यका जिम्मेवार कर्णधार बन्नका लागि वर्तमानका साझेदार पनि बन्नु आवश्यक छ भन्ने कुरा चाहिँ उनीहरू भुसुक्क बिर्सन्छन् । यही मनोविज्ञानबाट ग्रसित भएर आम मानिसहरू बालबालिकाको क्षमतामाथि नजरअन्दाज गर्दै बालबालिकालाई होच्याउने, घृणा गर्ने खालका गतिविधिहरू गरिरहेका छन् । परिणामस्वरूप बालबालिकाहरूमा समाजप्रति वितृष्णा पैदा हुने गरेको सोही वितृष्णाका कारण उनीहरू कुलतमा समेत फस्ने गरेका तथ्य हामी माझ छर्लङ्ग छ ।

२. बालप्रतिभा पहिचान : अभिभावक र शिक्षक मुख्य जिम्मेवार

बालबालिकालाई अघि बढाउनका उनीहरूको रुचि र चाहनालाई ख्याल गनुपर्ने हुन्छ । यदि बालबालिकाका रुचि र आवश्यकतालाई हामीले सही ढङ्गले बुझ्न सकियौं भने हामीले भोलिको पुस्तालाई असल र सफल पुस्ता बनाउन सक्छौं भन्ने तथ्यलाई हामी सबैले मनन् गर्नु आवश्यक छ । बालबालिकाहरू कसैमा गाउने कला हुन्छ भने कसैमा नाच्ने कला हुन्छ । कोहीमा बोल्ने कला हुन्छ भने कोहीमा अभिनय गर्ने कला । कोही खेलकुदमा रुचि राख्छन् भने कोही साहित्य सिर्जनामा । कोही विज्ञान प्रविधिमा रुचि राख्छन् भने कोही चित्रकलामा । यी र यस्तै प्रतिभालाई चिन्न सक्नु हामी सबैको दायित्व हो । बालप्रतिभा चिन्न सकियो भने र उनीहरूको प्रतिभा विकासका लागि उपयुक्त मलजल गराउन सकियो भने मात्र बालबालिका अध्ययनमा मन लगाउन सक्छन् र आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्छन् । यस क्रममा बालबालिका सबैभन्दा बढी समय आफ्ना शिक्षक र अभिभावकसँग रहने र उनीहरूसँगै रमाउने भएकाले बालप्रतिभा पहिचान गर्ने कार्यमा पनि सबैभन्दा बढी शिक्षक र अभिभावक जिम्मेवार बन्नु आवश्यक छ ।

३. विद्यालय : बालप्रतिभा विकासको केन्द्र

विद्यालय बालबालिकाले सिक्ने सबैखाले सिकाइको महत्वपूर्ण थलो हो । सफल जीवनयापनका लागि अब हरेक विद्यालयले कोरा किताबी ज्ञानमात्र नसिकाई जीवनोयोगी सीप सिकाउन आवश्यक छ । जीवनोपयोगी सीप भनेको गायन, नृत्य, चित्रकला, हस्तकला, अभिनय, साहित्य सिर्जना, खेलकुद आदि हुन् भन्ने कुरामा कुनै दुईमत छैन । अतः अबका प्रत्येक विद्यालय भनेका बालप्रतिभा विकासको केन्द्र बन्नु आवश्यक छ । किताबी ज्ञानमात्रै दिने र व्यावहारिक सीप नसिकाउने विद्यालयको अबको समयमा कुनै अर्थ छैन । त्यस्ता विद्यालयप्रति विद्यार्थी आकर्षित पनि हु“दैनन् भने यस किसिमका विद्यालयले बदलिँदो विश्वपरिवेशसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नसमेत सक्दैन ।

४. सिर्जनात्मक क्षमता विकासका लागि पठन संस्कृति :

बिना अध्ययन कुनै पनि मान्छेले कुनै ज्ञान, सीप र दक्षता हासिल गर्न सक्दैन । राम्रो चित्र कोर्न चाहने मान्छेले चित्रकलाकै क्षेत्रका आफ्ना अग्रज र समवयीहरुका चित्र हेर्न र तिनको गम्भीर अध्ययन गर्नु आवश्यक छ । कविता लेख्न चाहने मानिसले अरुका कविता, कथा लेख्न चाहने मानिसले अरुका कथा, गीत गाउन चाहनेले गायनकलाका बारेमा पर्याप्त अध्ययन गर्नु आवश्यक छ । चाहे डाक्टर होस् या इन्जिनियर, शिक्षक होस् या पत्रकार, गायक होस् या अभिनेता हरेकले आफ्नो विषयक्षेत्रका बारेमा गम्भीर र व्यापक अध्ययन गर्नु आवश्यक छ । यसका लागि हरेक व्यक्तिले अध्ययनलाई संस्कृतिका रूपमा ग्रहण गर्दै व्यवहारमा उतार्न आवश्यक छ ।

५. सफलताको एउटै सूत्र : साधना : एक उदाहरण

जुनसुकै क्षेत्रमा होस्, सफलता हासिल गर्नका लागि निरन्तर साधना गर्नु आवश्यक छ । बिनासाधना कसैले पनि सोचेजस्तो र खोजेजस्तो सफलता हासिल गरेको तथ्य फेला पार्न सक्दैन । यसकारण हरेक व्यक्तिले आफ्नो रुचिको क्षेत्रमा सफलता हासिल गर्नका लागि साधना गर्नु अत्यावश्यक छ ।

६. अन्त्यमा केही गन्थन…

यी सबै कुरा मैले आफ्ना व्यावहारिक अनुभवका आधारमा अभिव्यक्त गरेको हुँ । यसर्थ, बालबालिका केही होइनन् होइन, बालबालिका सबैथोक हुन् । बालबालिकालाई उपयुक्त वातावरण प्रदान गर्न सकियो भने उनीहरूको प्रतिभाले फक्रिने, फुल्ने र सुवास छर्ने अवसर प्राप्त गर्दछ भन्ने कुरा पछिल्लो समय नवसर्जक साहित्य चौतारी नेपालका भाइबहिनीले प्रमाणित गरेका छन् । उनीहरूलाई प्रदान गरिएको वातावरण र रुचिअनुसार निरन्तर अभ्यासकै परिणाम आज ती बालबालिकाले गरेका राष्ट्रियस्तरका सैयौं कार्यक्रम सञ्चालन, कृति प्रकाशन आदिका साथै स्थानीय, प्रदेश तथा केन्द्रीय स्तरबाट पटक–पटक प्राप्त गरेका आकर्षक पुरस्कार र सम्मानले माथिका सबै तथ्यलाई पुष्टि गर्दछन् ।

(बकैया–४, छतिवन) (गौतम नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक एवम् परिल्पनाकार तथा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष हुन् ।)