आँचल साहित्य कला पुञ्जले सम्मान गरेका व्यक्तिहरु ।

हेटौंडाः साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याउनुभएका १० जना स्रष्टाहरुलाई आँचल साहित्य कला पुञ्जले सम्मान गरेको छ । आँचल साहित्य कला पुञ्जको चौथो साधारणसभा तथा स्रष्टा सम्मान एवम् रचना वाचन कार्यक्रमको अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।

बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७८ बाट कवि तीर्थदेवी सिलवाललाई सम्मान गरिएको छ । सिलवाललाई १० हजार एक रुपैयाँसहित सम्मान गरिएको हो । प्रतिभा धिताल छन्द पुरस्कार–२०७८ बाट भुषिता वशिष्ठलाई सम्मान गरिएको छ । बशिष्ठलाई १० हजार एक सय रुपैयाँसहित सम्मान गरिएको हो । ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान–२०७८ बाट कृष्णराम परियारलाई सम्मान गरिएको छ । परियारलाई ७ हजार ७ सय ७७ रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।

यस्तै ११ हजार १ सय ११ राशीको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८ बाट कवि तथा निबन्धकार देवराज खरेललाई सम्मान गरिएको छ । अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ बाट कवि सरिता तिवारीलाई सम्मान गरिएको छ । तिवारीलाई १५ हजार एक सय राशीसहित सम्मान गरिएको हो ।

यसैगरी १० हजार राशीसहित सुन्तली माया श्रेष्ठ युवा प्रतिभा सम्मान–२०७८ बाट कवि छवि आनित्यलार्ई सम्मान गरिएको छ । मुक्ति तारा नवप्रतिभा सम्मान–२०७८ नवसर्जक साहित्य चौतारी नेपालकी केन्द्रिय अध्यक्ष प्रसन्ना चौलागाइँलाई सम्मान गरिएको छ । चौलागाइँलाई ५ हजार एक रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।

खड्ग वनस्खण्डी प्रतिभा सम्मान–२०७८ बाट साहित्यकार जनार्दन खनाललाई सम्मान गरिएको छ । खनाललाई ५ हजार एक रुपैयाँसहित सम्मान गरिएको हो । ३ हजार ५ सय राशीको मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान–२०७८ बाट चित्रकार ऋत्विक केबीलाई सम्मान गरिएको छ । ऋत्विकलाई ३ हजार ५ सय रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।

आँचल साहित्य/कला सम्मान–२०७८ बाट भलिबल खेलाडी चुडाकुमारी खड्कालाई सम्मान गरिएको छ । खड्कालाई ५ हजार १ रुपैयाँसहित सम्मान गरिएको हो । आँचल साहित्य कलापुञ्जकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । मेयर लामाले साहित्य क्षेत्रमा नयाँ पुस्तालाई जोड्न स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।