श्यामप्रसाद श्रेष्ठ

–श्याम श्रेष्ठ

एक पटक एउटा राजनीतिक दलको नेतालाई आफ्नो दलको कार्यकर्ताहरु दल र आफूप्रति कतिको निष्ठावान र सच्चा भक्त रहेछ भनी परीक्षा लिने चाहना भएछ । त्यहि अनुसार आफ्ना कार्यकर्ताहरुलाइ भेलामा उपस्थित हुन सूचना जारी गरेछ । कार्यकर्ताहरु आफ्नो दलको नेताले भेला हुन सूचना जारी गरेको थाहा पाउना साथ कार्यकर्ताहरु सबैलाई भ्याई नभ्याई भयो । कसैले पाकेको भात खाँदै नखाई, कसैले पस्केको भात छाडेर, कसैले खाँदै गरेको भात छाडेर सबै हतार–हतार दौडेर नेताको घर पुगे । नेता आँगनमा सोफामा बसी आफ्ना कार्यकर्ताहरुलाई पर्खिरहेका थिए । अगाडि टेबुल माथि कुकुर थियो । सबै कार्यकर्ताहरु स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै असिन–पसिन भै आएका कार्यकर्ताहरुलाई सोधे–के भो तिमीहरुलाई ? सबैले आफ्ना नेतालाई अभिवादन टक्र्याउँदै पसिना पुछ्दै बोले–अत्यन्तै गर्मी भयो नेताज्यू पंखा छैन ?

नेता अलि अलमलिँदैं जवाफ दिए–यसको केहि चिन्ता लिनु पर्दैन, केहि दिन पर्ख, हाम्रो पार्टीको ठूलो पहुँच छ, त्यो पानी पार्ने भगवान छ नि त्यो हाम्रै नेता हो, म भनी दिउँला, अनि पानी परे पछि त शितल भै हाल्छ नि । नेताको कुरा सुनेर कार्यकर्ताहरु खुशि हुँदै आफ्नो नेताको जयजयकार गरे । नेता खुसी हुँदै यति मात्र कँहा हो र हाम्रो नेताहरुले कति विकास गरेको छ त्यो विश्वको अग्लो हिमाल छ नि..हाम्रै पार्टीको नेता वीर शमशेरले बनाएको हो, अनि त्यो पोखराको मनमोहक फेवाताल छ नि त्यो पनि हाम्रो नेता चन्द्र शमशेरले बनाएको हो ।

एक कार्यकर्ता बीचबाट उठ्दै बोले–नेताज्यु हाम्रो पार्टी पनि विशाल, अनि नेता पनि महान रहेछ, अनि अब हामी जस्तो दुखी गरिबका लागि चाहि के कार्यक्रम छ नि ? नेताले अलि सोँच्दै बोले–त्यो योजना पनि छ, जुनदिन त्यो खोला उल्टो बग्छ नि । त्यो दिनपछि त तिमीहरुले केहि काम गर्नै पर्दैन । बसीबसी खाने हो । त्यसको व्यवस्था हाम्रो पार्टीले मिलाउँदैछ । सब कार्यकर्ताहरु नेताको कुरा सुनेर खुशी भए ।

आफूले चाहेको जस्तोआफ्नो कार्यकर्ताहरु देखेर खुसी हुँदै बोले–कार्यकर्ता हुनु त तिमीहरु जस्तो निष्ठावान र सच्चा भक्त हुनु, म तिमीहरुदेखि सार्है खुसी भएँ, तिमीहरु पनि यति धेरै कुरा बुझ्ने भएछौं यो सबै हाम्रो नेताले ल्याएको लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको उपज हो । अब आजको सभा पनि सकियो, जाने बेला अलिकति पञ्चामृत र प्रसाद खाएर जाउ । पञ्चामृत र प्रसादको नाम सुनेर सबै कार्यकर्ताको मुखमा पानी रसायो ।

अगाडि टेबुल माथि चुप लागि बसिरहेको कुकुर देखाउँदै बोले–यो देख्यौ यो गाई अर्थात गौ माता हो । एक कार्यकर्ताले अर्को कार्यकर्ताको कानमा कानेखुसी गर्दै भन्यो–ए साथि त्यो त कुकुर हैन र ? साथीको कुरा सुनेर रिसाउँदै अर्को साथी बोले, “चुप लाग मुर्ख । तेरो बाउ कुकुर होला, अनि तेरो सन्तान कुकुर होला । बडो जान्ने हुँदो रहेछ । हाम्रो नेताले जे भन्यो त्यसलाई शिरोपर गर्ने हाम्रो कर्तव्य हो ।”

कुकुरलाई उठाउँदै नेता बोले–मेरो कार्यकर्ताहरुलाई अलिकति पञ्चामृत तुर्काइ देउ त । कुकुर पनि मान्छे जस्तै भाषा बुझ्ने गरी तालिम दिएर राखेको रहेछ । कुकुरले पनि खुट्टा उचालेर तुर्काइ दिइ हाल्यो । नेताले भाँडा थापे । सबै कार्यकर्ताहरुलाई पञ्चामृतका लागि हात थाप्न भन्दै भाँडा बाट हात–हातमा राखिदिए । सबैले पञ्चामृत ठानी घुट्काइ दिए । नेताले फेरि कुकुरलाई भने–अब मेरो कार्यकर्ताहरुलाई अलिकति प्रसाद बिष्ट्याइदेउ । कुकुरले पनि भुइँमा बिष्ट्याइदियो । त्यहि बिष्ट्याएकोलाई थालमा राखेर नेताले कार्यकर्ताहरुलाई प्रसादको रुपमा ग्रहण गर्न भनियो । सबै कार्यकर्ताले जय गौ माताकी भनी आँ गर्दै ग्रहण गरी नेताको जयजयकार गर्दै बिदा मागी घर फर्किए ।

हेटौंडा–६, चौघडा