अधिकांश सामुदायिक विद्यालयको शैक्षिक, भौतिक एवम् अन्य पक्षहरु कमजोर छन् । सामुदायिक विद्यालयको शैक्षिक एवम् भौतिक पक्षहरुको व्यवस्थापनको लागि प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालयको सबै पक्षको समन्वयकर्ता र व्यवस्थापकीय जिम्मेवारीसहित पठनपाठनमा पनि संलग्न हुनु पर्ने प्रधानाध्यापक कुशल र लगनशील भयो भने सामुदायिक विद्यालय पनि अब्बल बन्नसक्छ । सामुदायिक विद्यालयको शैक्षिक, भौतिक अवस्थाका साथै विद्यालय र समुदायको सम्बन्धको बारेमा जनज्याति माध्यामिक विद्यालय हेटौंडा १३ का प्रधानाध्यापक भोगेन्द्र लुईटेलसँग समेद्ध समाज दैनिकका लागि डीबी बर्तौलाले गर्नुभएको कुराकानीः

समाजः विद्यालयमा प्रधानाध्यापक हुँदा यहाँको कस्तो अनुभव रह्यो ?

लुईंटेलः खासगरी प्रधानाध्यापक भनेपछि विद्यालयको व्यवस्थापन पक्ष र शैक्षिक पक्षको समन्वय गर्ने, त्यसैगरी सम्बन्धित नियमनकारी निकायसँग समन्वय गर्ने मुख्य भूमिका हुन्छ । हाम्रोजस्तो सामुदायिक विद्यालयमा जहाँ विषयगत दरबन्दी कम छ, जहाँ पर्याप्त मात्रामा आधुनिक भौतिक सुविधाहरु कम छ त्यस्तो ठाउँमा चुनौतीपूर्ण अवस्था त छँदैछ, तथापि जुन स्रोतसाधन, त्यहाँको समुदायको अवस्था, शिक्षाको अवस्था आदिलाई समन्वय गरेर अगाडि बढ्नु नै हाम्रो यथार्थ अवस्था हो । र यसैलाई हामीले अगाडि बढाइरहेको स्थिति छ ।

समाजः ग्रामीण भेगको विद्यालयका विद्यार्थीहरुको अवस्था कस्तो पाउनुभएको छ ?

लुईंटेलः ग्रामीण क्षेत्रको आर्थिक आधार भनेको कृषि नै हो । त्यसैगरी त्यहाँ समुदायमा गरिबीले सताइरहेको अवस्था छ । त्यहाँको स्थानीय तह, त्यहाँको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था र विभिन्न किसिमका वर्षा, बाढी, खोलानाला आउने कारणले पनि विद्यालयमा नियमित आउन नपाउने र विद्यालयका विद्यार्थीहरुको कापी, कलम, पोशाक लगायतका कुराहरुमा पनि समस्या रहेको अवस्था छ । यस्तो अवस्था त शहरमा पनि होलान्, तर आफू ग्रामीण क्षेत्रमा क्रियाशील भएको हुनाले त्यहाँमात्र हो कि जस्तो पनि लाग्छ । तथापि ग्रामीण क्षेत्रको समस्या आफ्नै ठाउँमा छन् भने शहरी क्षेत्रको अवस्थाहरु पनि आफ्नै ठाउँमा छन् भन्ने मलाई लाग्छ ।

समाजः एउटा प्रधानाध्यापक कतिको जिम्मेवार भयो भने विद्यालय अझ सफल हुन्छजस्तो लाग्छ हजुरलाई ?

लुईंटेलः प्रधानाध्यापक त जिम्मेवार नै भइहाल्यो । किनभने विद्यालयमा एकजना त प्रधानाध्यापक नियुक्ति हुन्छ । कर्तव्य पालनाको सिलसिलामा विद्यालयमा भएका राम्रा नराम्रा सम्पूर्ण कुराको जिम्मेवारी प्रधानाध्यापकले लिनुपर्ने हुन्छ र उनले विद्यालयलाई सबैभन्दा बढी महत्वपूर्ण समय दिनुपर्ने हुन्छ । यदि प्रधानाध्यापकले विद्यालयलाई समय दिएन भने त्यो प्रभावकारी हुन सक्दैन । त्यसकारण विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक साथीहरु, सम्पूर्ण कर्मचारीलगायत विद्यार्थीहरुको समन्वयकारी भूमिका खेल्नुपर्छ । परीक्षा, समयतालिका निर्माणदेखि लिएर विषयगत दक्षता तथा अनुभवको आधारमा कार्यविभाजन गर्नेदेखि लिएर धेरै महत्वपूर्ण भूमिका हुन्छ । र त्यसलाई सम्पूर्ण शिक्षक, व्यवस्थापन समिति र अभिभावकको साथ भयो भने योजना बनाएर जान सकिन्छ भन्ने लाग्छ ।

समाजः ग्रामीण भेगमा रहेका विद्यालयप्रति अभिभावकको चासो कतिको पाउनुभएको छ ?

लुईंटेलः आजभन्दा १०÷१५ वर्ष अगाडिको तुलनामा अभिभावक तथा त्यहाँको समुदायले जति चासो राख्थ्यो, अहिले त्यति छैन । आधुनिकता वा विकास या समस्याको कारणले भनौं, अभिभावकले जति चासो दिनुपर्ने हो त्यति दिन सकिरहनुभएको छैन । उहाँहरुको आफ्नो समस्याले पनि होला । अथवा शिक्षकहरुप्रति विश्वास भएर हो, यता चासो दिनुभन्दा बढी आफ्नो जीविकोपार्जनमा बढी लाग्नुपर्ने कारणले पनि अभिभावकले जति चासो दिनुपर्ने हो त्यति चाहिँ दिइरहनुभएको छैन । तर पनि शहरका ठूला–ठूला विद्यालयमा भन्दा हामी अभिभावकसँग बढी अन्तरक्रियात्मकरुपमा अगाडि बढेको महसुुस हुन्छ ।

समाजः अभिभावक शिक्षा आवश्यक हुने कुरा यहाँलाई कस्तो लाग्छ ?

लुईंटेलः अभिभावक शिक्षा एकदम महत्वपूर्ण छ । उहाँहरुको स्वच्छ मन अनि राम्रो गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि विभिन्न कारणले अझ उहाँहरुलाई चाहिँ अभिभावक शिक्षा, अभिभावकको कर्तव्य, दायित्व, शिक्षकहरुप्रति हेर्ने दृष्टिकोणका बारेमा र विद्यमान बालबालिकाहरुको अवस्था र आधुनिक शैक्षिक विधि, प्रविधिको बारेमा स्वच्छरुपमा सफा मनबाट उहाँहरुसँग अन्तरक्रिया गर्न पाइयो भने उहाँहरुको शिक्षा, विद्यालय, बालबालिका र शिक्षकप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न सकिन्छ ।

समाजः विद्यालयमा एउटा प्रधानाध्यापक भइसकेपछि के कस्ता समस्याहरुले शैक्षिक तथा व्यवस्थापकीय कामहरु गर्न गाह्रो भएको अनुभव गर्नुभएको छ ?

लुईंटेलः विद्यालयमा पहिलो समस्या भनेको जनशक्ति व्यवस्थापन हो । विद्यार्थी संख्याको आधारमा ऐन कानुन र नियमलाई हेर्ने हो भने ४०/४५ जना बराबर १ जना शिक्षक भनिएको छ । साँच्चिकै ४०/४५ जना पूर्वप्राथमिक विद्यार्थीहरुलाई एउटा कक्षामा राखेर १ जना शिक्षकले शिक्षण गराउन निकै समस्या देखिन्छ । अर्कोतिर दरबन्दी तथा शैक्षिक व्यवस्थापनको पनि समस्या छ । व्यवस्थापकीय समस्याअन्तर्गत् भौतिक व्यवस्थापन, उपलब्ध भौतिक साधनको परिचालनका लागि जनशक्तिको अभाव, कर्मचारीको अभावजस्ता समस्याहरु देखिएका छन् ।

समाजः विद्यालयमा विद्यालय व्यवस्थापन समितिको भूमिका कस्तो पाउनुभएको छ ?

लुईंटेलः सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको भूमिका अहम् हुन्छ । विद्यालय व्यवस्थापन समितिसँग सहकार्य नगरेको खण्डमा विद्यालयको शैक्षिक अवस्थालाई अगाडि लान सकिँदैन । सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिसँग विद्यालयको भविष्य जोडिएको हुनाले यसको अति महत्वपूर्ण हुन्छ ।

समाजः सरकारले विद्यालयमा विद्यार्थी आकर्षणका निम्ति प्राथमिक तहका विद्यार्थीहरुलार्ई व्यवस्थापन गरेको १५ रुपैयाँ बराबरको खाजाले पुगिरहेको छ त ?

लुईंटेलः सरकारले खाजा दिने भनेपछि खाजाको मूल्य कति छ भनेर यथार्थरुपमा नबुझिकन दिएजस्तो मात्र गरिरहेको अवस्था छ । विद्यालयलाई खाजाको व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ । समयअनुसार हेर्दा खेरि १५ रुपैयाँ भनेको एकदम थोरै हो । सरकारले वा सम्बन्धित पक्षले समयानुसार खाजाको मूल्य मूल्यांकन गर्न नसकेको जस्तो मलाई लाग्छ । तथापि योचाहिँ दिएका छौं भनेजस्तो मात्र अथवा प्रचारात्मक गरेजस्तो मात्र देखिन्छ । यसकारण सुरुवातचाहिँ राम्रै छ, रकमचाहिँ अपुगजस्तो लाग्छ ।

समाजः स्थानीय तहले त्यस वडाका विद्यालयका प्रधानाध्यापकहरुसँग कतिको समन्वय गरेको अवस्था छ ?

लुईंटेलः हाम्रो वडामा चाहिँ अहिलेको निर्वाचनपश्चात् वडा अध्यक्षको संयोजकत्वमा प्रचलित विधान तथा नियमअनुसार नै वडा शिक्षा समिति गठन भएको छ । त्यसले वडाका शैक्षिक सवालमा समयसमयमा बैठक बसेर केही छलफल गरेर निष्कर्ष निकाल्ने गरेको छ ।

समाजः तपाईंको विद्यालयमा पछिल्लो समयमा प्रविधिमैत्री शैक्षिक गतिविधिहरु के कस्ता रहेका छन् ?

लुईंटेलः अहिलेको विज्ञान प्रविधिले विद्यालयमा ल्याएको भनेको चाहिँ आईसीटी हो । सूूचना प्रविधिको कुरा गर्दा सबै विद्यार्थीको पहुँच नपुगेता पनि एउटा कम्प्युटर ल्याबमा सबै कक्षालाई पालैपालो लाने प्रयास गर्छाैं । कोभिड–१९ को सन्दर्भमा हामीले सूचना प्रविधिको पहुँचमा रहेका विद्यार्थीहरुलाई अनलाइनमार्फत् कक्षा सञ्चालन ग¥यौं । त्यसैगरी हामीले रिजल्ट निकाल्ने क्रममा पुरानो तरिकाले टाँसेर सुनाउने भन्दा विगत ३ वर्ष अगाडिदेखि नै गुगलमार्फत् नतिजा प्रकाश्ँन, सामग्रीहरु डाउनलोड, सामग्रीहरु संकलन र पाठय्क्रमको खोज आदि कुरामा प्रविधिहरु प्रयोग गर्दै आएका छौं ।