पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु ।

हेटौंडाः नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले हेटौंडा उपमहानगरपालिकालार्ई विद्यार्थीको दिवा खाजाबापत रकम वृद्धि गर्न माग गरेको छ । शुक्रबार हेटौंडा–२ स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गरी दिवा खाजा बापतको रकम बढाउन माग गरेको हो ।

अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले दिवा खाजा बापत अहिले सरकारले सामुदायिक विद्यालयलाई प्रदान गरिरहेको १५ रुपैयाँलाई वृद्धि गरी २५ रुपैयाँ पुर्याउनु पर्ने बताउनुभयो । बजारमा अहिले महङ्गी बढेको भन्दै विद्यार्थीलाई सामान्य खाजा खान १५ रुपैयाँले नपुग्ने बताउनुहुँदै २५ रुपैयाँ पुर्याउनुपर्ने उहाँको भनाई छ । नेपाल सरकारले अहिले उपलब्ध गराएको १५ रुपैयाँमा उपमहानगरपालिकाले १० रुपैयाँ दिवा खाजाका लागि वृद्धि गर्न उहाँले आग्रह गर्नुभयो । उपमहानगरपालिकाले विद्युत, पानीमा छुट दिन र विद्यार्थीलाई पनि दिवा खाजा रकम वृृद्धि गर्न उहाँले आग्रह गर्नुभयो ।

अनेरास्ववियुले विभिन्न माग राख्दै विज्ञप्ती समेत निकालेको छ । विज्ञप्तीमा निजी शैक्षिक संस्थाहरुले गरेको शुल्क वृद्धि फिर्ता गर्नुपर्ने, शैक्षिक संस्थाहरुको वैज्ञानिक वर्गिकरण गर्नुपर्ने, वर्षपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने र ड्रेस खरिदमा एकाधिकार खारेज गर्नुपर्ने, सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिनुपर्ने माग राखेका छन् । यी मागहरु पुरा नगरेमा सशक्त आन्दोलन गर्ने अनेरास्ववियुले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज किशन घिसिङ, केन्द्रीय स्थायी कमिटी सदस्य सन्तोष पौडेल र जिल्ला उपाध्यक्ष भुवन मैनाली लगायतको उपस्थिति रहेको थियो ।