आचार्य ॐकारेश्वरानन्द अवधुत

परिचयः यस आसनको नामाकरण भुजङ्ग अर्थात सर्पबाट भएको छ । यसलाई सर्पासन पनि भनिन्छ । यसमा जङ्घा अर्थात् तिघ्राहरु भुइँमा टाँसेका हुन्छन् । सर्पको अनाहत चक्र वा छातीको भाग बढी विकसित भएर साहस वृद्धि हुन्छ । त्यसैले नाभिमुनिको भाग जमिनलाई स्पर्श गर्नुपर्छ । अनिमात्र आसनको पूर्ण लाभ प्राप्त हुन्छ ।

भुजङ्गासन गर्ने विधिः घोप्टो परेर सुत्ने । हत्केलामा भार पर्ने गरी छातीसम्मको भागलाई माथि उठाउने । टाउकोलाई पछिल्तिर झुकाई माथि तिर हेर्ने । श्वास लिँदै उठ्ने र आसनको अवस्थामा ५ सेकेन्डसम्म श्वासलाई रोकेर बस्ने । त्यसपछि श्वासलाई छोड्दै पूर्वावस्थामा आउने । यस आसनको अभ्यास ८ पटकसम्म गर्नुपर्छ ।

एक्युयोग अनुसारः यस आसनमा एक्युपञ्चरका छातिमा रहेका सिभी (कन्सेप्शन भेसल÷ग्रहण नाडी) र जीभी (गभर्निङ भेसल÷नियन्त्रक नाडी) का १० देखि १२ नम्बरका विन्दुहरु थिचिन्छन् । यसकारण छातीमा रहेका सम्बन्धित स्नायू तन्तु, नसाहरु, मुटु, फोक्सा, थायमस ग्रन्थी, मुटुको आवरण र स्नायु केन्द्रमा असर परेर सम्बन्धित विकारहरु ठीक हुन्छन् । रक्तसञ्चार र रोगप्रतिरोध शक्तिमा बढोत्तरी हुन्छ ।

योगिक चिकित्सा अनुसारः श्री प्रभात रञ्जन सरकारको ग्रन्थ योगिक चिकित्सा र द्रव्यगुणमा भनेको छ, ‘यस आसनले मुटुरोग रक्तचाप, सेतो कुण्ठ (ल्युकोडर्मा) एक्जीमा, चर्मरोग, लकवा, छारेरोग, मधुमेह, अल्सर, क्यान्सर र स्त्रीरोगः प्रदर, बाधक, नपुंसकता, बाँझोपन, महिनावारीमा गडबडी, कमजोरी, दुब्लोपना र मोटापा निको पार्नमा मद्दत गर्छ ।

योग मनोविज्ञान अनुसारः यस आसनको मुख्यतः अनाहतचक्र र विशुद्ध चक्रमा प्रभाव पर्छ । यस चक्रहरुमा स्थित वृत्तिहरु, मानसिक संवेगहरु जस्तैः आशा चिन्ता, चेष्टा, ममता, दम्भ, विवेक, विकलता, अहंकार, लोलुपता, कपटता, वितर्क, अनुताप, र षड्रज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत, निषाद ओम, हुम, फट, वौषट, वष्ट, स्वाहा, नमः, विष, अमृत यिनीहरुको स्वाभाविक विकास हुन्छ । साथै छातीमा रहेका ग्रन्थी थाइमस र घाँटीमा रहेका थाइराइड, प्याराथाइरोइड, टन्सिल ग्रन्थीहरुका हार्मोन रसको स्वाभाविक श्राव निस्किन्छ र मानसिक तथा भावनात्मक विचलनहरु नियन्त्रित हुन्छन् ।

आसनकको सामान्य भावप्रकाशः माया, ममता, सन्तृष्टि स्वीकारभाव, समाधान, यसमा सकारात्मक त देखिन्छ । असन्तुलित भावनाहरु जस्तैः असंवेदनशिलता, संकुचितता, निष्क्रियता, निराशामा परिवर्तन आउँछ । घाँटीमा रहेका श्वास विन्दुहरु एसटी ९ र बी १० मा विशेष सिचाई हुनाले भाषा वा बोलीको अभिव्यक्ति रचनात्मकता र परस्पर सम्बन्ध सुध्रिन्छ । पूर्वाग्रह र दुराग्रहबाट मुक्ति पाइन्छ ।

विशेष जानकारीः यो आसन महिलाहरुको अत्यावश्यक आसन हो । योगमुद्रा आसनपछि यसको अभ्यास गर्ने र यसपछि दीर्घप्रणाम वा अर्धकुर्मकासनको अभ्यास गर्नुपर्छ । यसमा शारीरिक वा मानसिक रोग वा बिकार अनुसार मन एकाग्र गर्ने विन्दु विशुद्ध (घाँटी) अनाहत (छाती) वा स्वाधिष्ठान (सानोपेट) हुुन सक्छ । यसबाट पूर्णलाभ पाउनका लागि नाइटो (नाभी) जमीनलाई छुइनुपर्छ । जमिनमुनिको पुरै भाग पनि भुईमा टाँसेर छुनुपर्छ । मात्र नाथि माथिको शरीरको भाग उठाएर राख्नुपर्छ । मेरुदण्ड (ढाड) का रोगीहरुले यसका प्रकारहरुको अभ्यास गरे पर्याप्त लाभ पाइन्छ ।