हेटौंंडाः हेटौंडामा शनिबार रैथाने ज्ञान तथा अभिलेखन सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)को आयोजनामा गोष्ठी भएको हो ।

सेरिडका कार्यकारी निर्देशक प्राध्यापक डा. सुरेन्द्र गिरीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यतामा गोष्ठी भएको हो । गोष्ठीलाई सम्बोधन गर्नुहुँदै सेरिडका अध्यक्ष गिरीले रैथाने ज्ञान कुनै भौगोलिक क्षेत्र वा कुनै समूह, जातजाति विशेषले आर्जन गरेको ज्ञान तथा अभ्यास भएको बताउनुभयो । आधुनिक विज्ञानमा नसमेटिएका वा कुनै धर्मग्रन्थमा आधारित नरहेका तर जीवन सहज बनाउने ज्ञान, सीप र धारणाहरुको लामो अभ्यास रैथाने ज्ञान भएको उहाँको भनाइ छ ।

हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख लामिछानेले अहिलेको पुस्ता प्रविधिमा अगाडि बढे पनि पुराना परम्परा प्रविधिको ज्ञान नभएको बताउनुभयो । अहिलेको पुस्तामा किताबी ज्ञानमात्र भएको तर परम्परागत ज्ञान र प्रविधिको ज्ञान नभएको उहाँको भनाइ छ ।

गोष्ठीमा पारिवार साक्षरता, रैथाने सिकाइ र दिगो विकासको सम्भावनाबारे अनुसन्धानकर्ता डा. कमलराज देवकोटाले सहजीकरण गर्नुभएको थियो । गोष्ठीमा रैथाने ज्ञान सहयोगी पुस्तिका कसका लागि ?, रैथाने ज्ञान तथा अभ्यास अभिलेखीकरण किन गर्ने ?, रैथाने ज्ञान पुस्तान्तरण गर्ने परम्परागत तरिका, अभिलेखीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा सामूहिक छलफल भएको छ ।

गोष्ठीमा सामुदायिक सिकाई केन्द्रका प्रतिनिधिहरु, क्याम्पस समूह, सामुदायिक विद्यालयका प्रधानाध्यपकहरु, शिक्षा विकास महाशाखा, महिला विकास महाशाखा प्रमुख, वनस्पति अनुसन्धान केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागी प्रतिनिधिहरुले रैथाने ज्ञान पुस्तिकामा जेष्ठ नागरिकको विचारलाई समावेश गनुपर्ने, स्थानीय सरकारले कक्षा १ देखि १२ कक्षासम्म स्थानीय पाठ्यक्रम सञ्चालन गरी त्यहाँका भाषा, जाति, भौगोलिक र सांस्कृतिक क्षेत्रको विकास हुने खालको कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन् ।