आम मान्छेका जीवनका आ–आफ्ना भोगाई हुन्छन् । “एकछिन ल” स्तम्भको २६ औं अंकमा आज लेखकका आफ्नै कथाहरू लेखिएका छन् । यसअघिका श्रृंखला तपाईँहरूलाई कस्तो लागिरहेको छ कृपया प्रतिक्रिया जनाइदिनुहोला ।
यो स्तम्भकार मामाघरमा हुर्के बढेको हो । यसैले आजको हाँस्यव्यङ्ग्यका विषयवस्तुमध्ये हाँस्यप्रधान सामग्रीहरूलगायत वास्तविक रमाईला किस्साहरू उल्लेख हुनेछन् । त्यो पनि आफ्नै ।
हजुर्बाको रेडियोः
दिन दिनभर व्याट्री घाममा सुकाउने चलन थियो । रेडियोलाई काँधमा बोक्न मिल्नेगरी खोल लगाउने चलन पनि थियो । रात–रातभर अल इण्डिया, आकाशवाणि, खर्साङ रेडियो खुबै घन्कन्थ्यो घरमा । रेडियोले बेला–बेलामा सिग्नल पाउन सक्दैनथ्यो । अनी क्यार–क्यार ख्यार–ख्यार स्वार–स्वार आदि गथ्र्यो । अहिले नजिकै बस्ने कुकरले कराईलाई सिटी बजाएजस्तो त्यही माथि हजुर्बाको घुर्–घुर् घुर्ने आदतले सानातिना भूकम्प थाहै हुँदैनथ्यो । अब त हजुर्बा निदाउनु भयो भन्दै रेडियो बन्द गर्न जान्थेँ । कडा स्वभावका हजुरबा व्यूँझेर “ओइ कसले बन्द गर्यो” भन्दै कराउन पो थालिहाल्नु हुन्थ्यो । आफैं थिचिएछ नि हजुर्बा भन्दै फेरि आफैंले घन्काएर सुत्न जानुपथ्र्यो । उहिले रेडियोले बानी बिगारेका हजुर्बाहरूभन्दा बढी हामी मोबाइलमा अस्तव्यस्त ध्वस्त पो भएका छौं त ।
बिर्सने बानीले खुबै भयो हानीः
घटना १ः भकारीभरि धान हुँदा आधी किलो चामल किन्ने ।
घरमा खानलाई धानचामल पुग्दो नै हुन्थ्यो । खानलाउन सामान्य तरिकाले चलेकै थियो । घरबाट पसल अली टाढा थियो । एकदिन मात्र होइन, धेरै दिनको कुरा हो । हजुर्बा आधि-एक किलो चिनी किन्न पठाउनु हुन्थ्यो । म सधैं उत्तिकै मात्रामा चामल किनेर लगिदिन्थेँ ।
घटना २ः आसामी कति कति
ठूलो मामा साह्रै बिर्सने अर्थात् मभन्दा बढी । पैसा सापटी दिनुहुन्थ्यो र लिन बिर्सनुहुन्थ्यो । लिनेले पनि थाहा पाएरै हो कि फिर्ता गर्दैनथ्यो ।
घटना ३ः अरुको खुसी मेरो पनि शायद ।
कलेज पढ्ने समयमा बिर्सनेको नेप्से उच्च विन्दुमा पुगेको थियो । घरबाट ओसारेका घ्यू, बोराका बोरा तरकारी, चामल आदि गाडीमैं छोडिदिन्थेँ र लुखुर–लुखुर डेरातिर आउथेँ । बेलुका भात पकाउन कसौंडी लिएर बोरा खोज्दा मात्रै चिउराले चित्त बुझाउनुपर्नेमा आफ्नो बिर्सने बानीले खुबै धोका पाएको सम्झना हुन्थ्यो । गाउँको शुद्ध घ्यू, अर्गानिक तरकारी, लोकल मह पाउँदा ड्राइभर कति धेरै खुशी भयो होला ।
घटना ४ः २५ किमिको भाडा १ हजार ।
व्याचलर पढ्दा मनहरीबाट हेटौंडा आउँदा खुद्रा पैसाको अभावमा १ हजारको नोट दिन्थेँ । कन्डक्टरले “एकछिनमा फिर्ता गर्छु है” भन्दाभन्दै हेटौंडामा ओर्लिएर खुरुखुरु हिँड्न थाल्थेँ । यसअर्थमा मभन्दा बढी बिर्सने मान्छे पनि देखियो । तर उसले भने बिर्सेर फाइदा पो गर्यो ।
घटना ५ः सुका माना घ्यू
हाम्रा हजुर्बा केही रुपैयाँका भैंसी किनेर सुका माना घ्यू खाएका कुरा गर्नुहुन्थ्यो । मेरो बिर्सने बानीले कहिलेकाहिँ त्यसकै झल्को गराउँछ । बसमा मनहरीबाट हेटौंडा आउनलाई १० रुपैयाँ भाडा तिरेको थिएँ । खाली सीट भेटेर निदाएको, बस त पथलैया पुगिसकेछ । एकछिन निदाइरहेको भए १० रुपैयाँले वीरगञ्ज नै पुगिने पो रहेछ । यो महंगो युगमा हजुर्बाका पालामाझैं सस्तै सस्तै सुविधा धेरै पटक पाइएको छ । तर फर्किँदा निकै महंगो यात्रा परेको छ ।
बुढेसकालमा बिर्सने रोग डिमेन्सिया, अल्जाइमर्स आदिले धेरैलाई सताएको पाइन्छ । मलाई युवा उमेरमैं बिर्सने यस समस्याप्रति अति माया लाग्छ । तनाव त तब हुन्छ, जब मलाई मात्रै समस्याले सताउँछ । आफू बराबरको वा त्योभन्दा बढी पीडा अर्कोले पाएपछि मान्छेले चित्त बुझाउन सक्छ । समाजबाट सिकेको सूत्र यही हो ।
बिर्सने रोग सामान्यतः ६० वर्ष उमेर पुगेकालाई मात्र हुने हुँदा म ढुक्क छु । आजकाल म जस्तै थुप्रै मानिसहरु बिर्सने बानीका शिकार भएका देखिन्छ । जस्तो २५ वर्षकी युवतीले उतिकै वर्षका युवालाई अंकल भनेका गुनासो हेलो सरकारमा नटिपाएको मात्रै हो । लगभग ४५ वर्षे महिलाले ३० वर्षे पुरुषलाई दाई भनेको कुरा वडामा विवादमा नल्याइएको हो । कतिपय त ५ वर्षअघि ३५ वर्ष हुनेहरु अर्को १० वर्षपछिसम्म उत्तिकै बताउने गर्दछन् । सरकारी कार्यालयमा नागरिकता पेश गर्दा कर्मचारीले मान गर्न थाल्यो भने “नागरिकतामा उमेर बढाइदिएछ” सम्म भन्न भ्याउँछन् । यस्ता लालाबालाहरुका अघि मलाई बिर्सने समस्याप्रति कुनै गुनासो छैन ।
उमेर ढाँटेर/बिर्सेर, कपाल रंगाएर, छाला तन्काएर बुढो हुन मन नभएकाहरू मभन्दा बढी बिर्सने बानीले सताइएका हुन् । दाह्री काट्न, आइरन गरेको धारिलो कपडा लगाउन, काला चश्मा लगाउन बिर्सिएका छैनन् तर अंकल भनाइ खानु परेकोमा गुनासो गर्दछन् । थुप्रै–थुप्रै भाई, भतिजा, बहिनी भतिजीहरू कमाइएको छ । जेजति बिर्से पनि उमेरचाहिँ सम्झेको छु है । जदौ ।
(लेखकको हाँस्यव्यङ्ग्य कृति प्रकाशोन्मुख रहेको छ । लेखक सिस्नुपानी मकवानपुरमा आवद्ध हुनुहुन्छ ।)