मोहनप्रसाद ढकाल ।

सामान्यतया आफ्नो हक नपुग्ने अर्काको सम्पत्ति ललाईफकाई वा जाल परिपञ्च गरी किर्ते काम गरी झुक्याई धोका दिई आफूले लिने खाने कार्य नै ठगी हो । ठगी झुक्याएर, फकाएर गरिने आर्थिक अपराध हो । जबसम्म हामी लोभ, मोहमा रहिरहन्छौँ, ठगिने सम्भावना पनि रहिरहन्छ । चोरी अपराधमा व्यक्तिलाई थाहा नदिइकन वा बलपूर्वक अनधिकृत व्यक्तिले सम्पत्ति लिने खाने कार्य हुन्छ भने ठगी अपराधमा व्यक्तिलाई प्रलोभनमा पारी झुक्याइन्छ, फसाइन्छ र पैसा लिने खाने कार्य हुन्छ । नेपालमा सञ्चालित डिजिटल वालेट, ई–सेवा, खल्ती र आइएमई–पेमा पहुँच बनाएर ठगी गर्ने गिरोहले एक पटक प्रयोग गर्न मिल्ने ओटीपी कोड लिएर ठग्ने गरेका छन् । सामाजिक सञ्जाल फेसबुक, इमो, भाइबर, ह्वाट्स एप र इन्स्टाग्राम आजभोलि ठगीको हतियार बन्ने गरेको छ । सामाजिक सञ्जालमार्फत व्यक्तिसँग चिनजान र सम्पर्क गरेर ठग्ने समूहले व्यक्तिको बैंक खाता, खल्ती एप्स, ई–सेवामा पहुँच बनाएर रकम ट्रान्सफर गर्ने गरेका छन् । ‘चिठ्ठा परेको छ भनेर भाइबर र ह्वाट्स एपमा फोन गरेर फोटो, नागरिकता, फोन नम्बर र बैंक खाता माग्ने तथा चिठ्ठा परेको नक्कली प्रमाणपत्र पठाएर पैसा पाउन ‘राजस्व लाग्छ र बैदेशिक रोजगारीका लागि राम्रो देश पठाइदिन्छु भनी ठग्ने प्रवृत्ति पनि आजभोलि बढेको छ ।

नेपालको प्रचलित कानुन मुलुकी फौजदारी संहिता, २०७४ को परिच्छेद २१ को ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गतको दफा २४९ सम्बन्धी ठगी अपराधमा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा काम गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पु¥याएमा वा आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ भनी परिभाषित गरेको छ । यसका साथै दफा २५० मा ठेक्का वा करारको काममा फरक पार्न नहुने भनी निर्माणसम्बन्धी काम वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्तिले वा निजको प्रतिनिधिले बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाण घटीबढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गर्न वा गराउन हुँदैन, बेइमानीका नियतले कमसल वा घटी परिमाणका माल, वस्तु वा सेवा आपूर्ति गर्न वा अन्य कुनै किसिमबाट तोकिएकोभन्दा फरक गुणको माल, वस्तु वा सेवा उपलब्ध गराउनु हुँदैन भनी यस्तो कार्यलाई समेत ठगीको रुपमा स्वीकारेको छ । त्यस्तै दफा २५१ मा सम्पत्तिको आपराधिक उपयोग गर्न नहुने भनी सम्पत्तिको अपराधिक उपयोग गरेको मानिने कार्यहरु उल्लेख गरिएको छ ।

जसअनुसार ः
(क) अर्काको सम्पत्ति बेइमानीको नियतले कब्जा गरी उपयोग गरेमा, हानी, नोक्सानी वा हिनामिना गरेमा वा सम्बन्धित व्यक्तिको मञ्जुरीबिना भाडामा लगाएमा वा बेचबिखन गरेमा,
(ख) बेवारिसी सम्पत्ति पाउने व्यक्तिले त्यस्तो सम्पत्तिको धनी थाहा भएर वा त्यस्तोे सम्पत्तिको धनी थाहा हुँदाहुँदै वा थाहा पाएपछि पनि मनासिव समयभित्र त्यस्तो धनीलाई त्यस्तो सम्पत्ति फिर्ता नगरी वा सम्पत्ति फिर्ता लिन सूचना नदिई वा त्यस्तो सम्पत्तिको धनीलाई उचित म्यादसम्म नपर्खी बेइमानीपूर्वक त्यस्तो सम्पत्ति आफ्नो निमित्त उपयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा ।

ठगी कसूरमा पर्ने कार्यहरु ः
– कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सोबमोजिम नगरेको ।
– कसैले कसैलाई फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा काम गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पु¥याएको ।
– कसैले फकाई, झुक्याई वा धोका दिई आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेको ।
– निर्माणसम्बन्धी काम वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्तिले वा निजको प्रतिनिधिले बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाण घटीबढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गरे गराएको ।
– कसैले बेइमानीका नियतले कमसल वा घटी परिमाणका माल, वस्तु वा सेवा आपूर्ति गर्न वा अन्य कुनै किसिमबाट तोकिएको भन्दा फरक गुणको माल, वस्तु वा सेवा उपलब्ध गराएको ।
– अर्काको सम्पत्ति बेइमानीको नियतले कब्जा गरी उपयोग गरेको, हानि, नोक्सानी वा हिनामिना गरेको वा सम्बन्धित व्यक्तिको मञ्जुरी विना भाडामा लगाएको वा बेचबिखन गरेको ।
– बेवारिसी सम्पत्ति पाउने व्यक्तिले त्यस्तो सम्पत्तिको धनी थाहा भएर वा त्यस्तोे सम्पत्तिको धनी थाहा हुँदा हुँदै वा थाहा पाएपछि पनि मनासिव समयभित्र त्यस्तो धनीलाई त्यस्तो सम्पत्ति फिर्ता नगरी वा सम्पत्ति फिर्ता लिन सूचना नदिई वा त्यस्तो सम्पत्तिको धनीलाई उचित म्यादसम्म नपर्खी बेइमानीपूर्वक त्यस्तो सम्पत्ति आप्mनो निमित्त उपयोग गरेको वा कुनै प्रकारले रुपान्तरण गरेको ।

मानिस कसरी ठगिन्छन् ?
– विभिन्न माध्यमबाट नजिकमा आउँछन्, विभिन्न जाल परिपञ्च गर्दछन् ।
– झुठ्ठा कुरालाई सद्दे कुरा हो भनी विश्वासमा पार्दछन्, भ्रममा पार्दछन् ।
– विभिन्न प्रलोभन देखाई विश्वासमा पार्दछन्, धोका दिन्छन् ।
– ललाईफकाई गर्दछन् र झुक्याउन सफल हुन्छन् ।
– ठगिने सम्भावनादेखि कुनै काम गर्न चाहेमा ठगी गर्ने व्यक्तिले त्यस्तो काम गर्नबाट रोक्छन् ।
– आफ्नो वा अरु कसैको फाइदाको लागि विश्वासमा पारी अर्काको सम्पत्ति लिन खान सफल हुन्छन् ।
– बेइमानीपूर्वक कसैको सम्पत्ति कुनै किसिमले हानी नोक्सानी पुर्याउँछन् ।
– आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटेर प्रभावमा पार्दछन् ।
– बालबालिका, होस ठेगानमा नरहेका व्यक्ति, असहाय, निरक्षर वा ७५ वर्ष नाघेका वृद्धलाई ठगी गर्ने कार्यमा प्रयोग गर्न सक्छन् ।
– बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी घटी बढी वा फरक पारी निर्माण कार्य वा अन्य काम गरी गराई फाइदा लिन्छन् ।
– बेइमानीका नियतले कमसल वा घटी परिमाणका माल, वस्तु वा सेवा आपूर्ति गर्दछन् वा अन्य कुनै किसिमबाट तोकिएको भन्दा फरक गुणको माल, वस्तु वा सेवा उपलब्ध गराई फाइदा लिन्छन् ।
– अर्काको सम्पत्ति बेइमानीको नियतले विश्वासमा पारी कब्जा गरी उपयोग गर्दछन् ।
– अर्काको सम्पत्ति हानी, नोक्सानी वा हिनामिना गर्दछन् वा सम्बन्धित व्यक्तिको मञ्जुरीविना भाडामा लगाउँछन् वा बेचबिखन गर्दछन् ।
– बेवारिसी सम्पत्ति प्राप्त गरेको अवस्थामा त्यस्तो सम्पत्तिको धनी थाहा भएर वा थाहा हुँदाहुँदै वा थाहा पाएपछि पनि मनासिव समयभित्र त्यस्तो धनीलाई त्यस्तो सम्पत्ति फिर्ता नगरी आफै राख्दछन् वा सम्पत्ति फिर्ता लिन सूचना नदिई वा त्यस्तो सम्पत्तिको धनीलाई उचित म्यादसम्म नपर्खी बेइमानीपूर्वक त्यस्तो सम्पत्ति आप्mनो निमित्त उपयोग गर्दछन् वा कुनै प्रकारले रुपान्तरण गर्दछन् ।

ठगीका प्रकारहरु ः
ठगीबाट असर पर्ने व्यक्ति वा पीडित तथा ठगिने प्रक्रियालाई आधार मान्दा ठगीलाई निम्नलिखित प्रकारमा विभाजन गर्न सकिन्छः
– व्यक्ति–ब्यक्तिबीच हुने ठगीहरु (मुलुकी अपराध संहिता ऐन २०७४ आकर्षित हुने)
– झुठो कुरालाई सद्दे हो भनेर झुक्यानमा पारी ठगी गर्दछन् । जस्तैः पित्तललाई सुन, कुनै ढुंगालाई अमूल्य पत्थर, कुनै चिजलाई स्यालको सिङ, गौलोचन, नागमणि आदि । कुनै चिजलाई अमूल्य चिज हो घरमा राख्दा लक्ष्मी, सरस्वतीले बास गर्दछन्, नित्य पूजा आराधना गर्दा यस्तो फलिफाप हुन्छ आदि ।
– मालवस्तु दिने अधिकार नभएको मानिसले माल वस्तु दिन्छु भनेर ठगी गर्दछन् ।
– विभिन्न अबसरहरुको उपयोग गराइदिन्छु भनेर ठगी गर्दछन् । जस्तैः जागिर लगाइदिन्छु, प्रेमी–प्रेमिका उपरको सम्बन्ध सुधार गराइदिन्छु, परीक्षामा पास गराइदिन्छु आदि ।
– विभिन्न सद्दे वा कीर्ते लिखतहरु देखाई त्यसको आधारमा ठगी गर्दछ्न् । जस्तैः विशिष्ट व्यक्तिहरुसँगको फोटो देखाइन्छ, प्रमाणपत्र, प्रशंसा तथा सम्मानपत्र आदि प्रदर्शन गरिन्छ र विश्वासमा पारी ठगी गरिन्छ ।

बैंकिङ ठगी (बैंकिङ कसुर तथा सजाय ऐन २०६४ आकर्षित हुने)
– आफ्नो पर्याप्त निक्षेप नहुँदा नहुँदै चेक काटेर दिई त्यसैको आधारमा ठगी गर्दछन् ।
– कमसल धितोको अत्यधिक मूल्यांकन गरी गराई मिलेमतोबाट ठूलो मात्रामा कर्जा लिई दिई ठगी गर्दछन्,
– विभिन्न नक्कली इलेक्ट्रोनिक कार्डहरुको माध्यमबाट रकम लिई ठगी गर्दछन् ।
– नक्कली कागजातहरु तयार पारी ठगी गर्दछन् आदि ।

बीमा ठगी (बीमा ऐन २०४९ आकर्षित हुने)
– अरुको नाममा बीमा गरी ठगी गर्दछन् ।
– वास्तविक स्थितिलाई लुकाई बनावटी वस्तुको बीमा गरी दावी भुक्तानी लिई ठगी गर्दछन् ।
– बीमित वस्तु वा चिजको वास्तविक क्षतिभन्दा ज्यादा क्षति भएको देखाई ज्यादा भुक्तानी लिई ठगी गर्दछन् ।
– घटना घटी सकेपछि बीमा गरी गराई नक्कली कागजातहरुको आधारमा भुक्तानी लिई ठगी गर्दछन् आदि ।

वैदेशिक रोजगारसम्बन्धी ठगी (वैदेशिक रोजगार ऐन २०६४ आकर्षित हुने)
– वैदेशिक रोजगारीमा जाँदा लाग्ने दस्तुर र चार्जभन्दा ज्यादा रकम लिई ठगी गर्दछन् ।
– एउटा काममा भनेर अर्कै काममा लगाउने र सम्झौताभन्दा कम पारिश्रमिक दिई ठगी गर्दछन् ।
– इजाजत नै नभएको मुलुकमा रोजगारीका लागि लैजाने भनी रकम लिई ठगी गर्दछन् ।
– रोजगारीमा जाने मानिसले पाएको पारिश्रमिकबाट रकम कट्टा गरी कम रकम दिई ठगी गर्दछन् आदि ।

नेटवर्किङ व्यवसायसम्बन्धी ठगी (मुलुकी अपराध संहिता ऐन २०७४ आकर्षित हुने)
– पिरामिड बनावटमा रहेर रकम संकलन गरी ठगी गर्दछन् ।
– सर्वसाधारणलाई झुक्यानमा पार्ने योजनाहरु बनाई फकाउँछन् र ठगी गर्दछन् ।
– कुनै नेटवर्किङ व्यवसायमा सामानहरु अत्यधिक मूल्यमा बेची ठगी गर्दछन् ।
– कुनै कानूनी आधार बिना नै व्यवसाय सञ्चालन गरी ठगी गर्दछन् आदि ।

साईबर ठगी–विद्युतीय कारोबार ऐन २०६३ आकर्षित हुने)
–सामाजिक सञ्जालमार्फत साथी बन्ने, विश्वासमा पार्ने, च्याट गर्ने, फोटो र भिडियो सेयर गर्ने ।
– साथी बनाएर पैसा माग्ने, धोका दिने, फोटो र भिडियो शेयरपछि ब्लाकमेलिङ गर्ने ।
– धनी तथा ठूलो देशको नागरिक भएको, नेपालीहरु मनपर्ने, तपाईंको विवरण मन प¥यो, म तपाईंलाई माया गर्छु आदि भनी लोभ्याउने र साथी बनाउने, सबै वास्तविकता पत्ता लगाएपछि वा विदेशबाट धेरै पैसासहित नेपाल घुम्न आउँदा कतै पक्राउ परेको, सामानको भन्सार गर्न नेपाली पैसा चाहिने भनी लोभ्याउने ।
– धेरै पैसा वा उपहार तपाईंलाई हात लाग्यो, तपाईंलाई भिसा लाग्यो, बधाई छ भनी लोभ्याउने र प्रलोभनमा परेको थाहा पाएपछि सोको प्रक्रिया पूरा गर्न भनी विस्तारै–विस्तारै विश्वासमा लिदैं पैसा असुल्ने ।
– साथी बनेको व्यक्तिले उपहार पठाइदिन्छु भन्ने र केही दिनपछि अर्कोले तपाईंको उपहार आएको छ भनी विदेशबाट फोन गर्ने वा म्यासेज गर्ने र भन्सार राजस्वको लागि मात्र भनी पैसा माग्ने ।
– बैंकमा रहेको अर्काको खाताबाट अनलाईन पैसा ट्रान्सफर गर्ने, लोभ तथा विश्वासमा पारी अन्य व्यक्तिको खातामा ठगी गरेको पैसा हाल्न लगाउने र सम्बन्धितलाई समेत केही रकम दिई अरु पैसा लिने ।

ठगीबाट कसरी जोगिने ? सजगताको पाटो के हुनसक्छ ?
सामान्यतया ठगहरुले आफ्नो अपराध कार्यविधिलाई समय र आफ्नो सफलताअनुसार फेरबदल गर्दै पीडितले कुनै चाल नपाउने गरी चलाखीपूर्वक ठग्ने जाल बिछ्याउने गर्दछन् । सोझासाझा व्यक्तिहरु त्यस्तो जालमा पर्दछन् र ठगिने गर्दछन् । ठगीबाट बच्नका लागि पहिला त के–के कार्यहरु गरे गराएमा प्रचलित कानूनले ठगी अपराध मानेको छ भनी बुझ्न जरुरी हुन्छ, जुन कुराहरु हामीले माथि उल्लेख गरेका छौं । अर्को कुरा विभिन्न सञ्चारमाध्यममा आएका ठगीसम्बन्धी समाचारहरुलाई, नेपाल प्रहरीको वेबसाईटमा भएको ठगी अपराधबारेको प्रकाशन आदिलाई अध्ययन, विश्लेषण गरेर आफ्नो र समाजको सुरक्षा गर्नुपर्दछ । आफ्ना परिवारहरुमा समेत समाज तथा देशमा भएका ठगीका कुराहरु शेयर गर्ने बानी बसाल्नुपर्दछ ।

ठगीबाट जोगिन मूल मन्त्र भनेकै लोभ र अस्वाभाविक विश्वास नगर्नु हो । त्यसका अतिरिक्त,
– कोही मानिस कुनै कामको बहाना पारेर नजिकमा आउन खोज्दैछ भने शंका गर्नुपर्दछ ।
– सजिलै प्राप्त नहुने सेवा वा सुविधा सहजै प्राप्त भएमा शंका गर्नुपर्दछ ।
– बढी मोल पर्ने चिज कम मोलमा प्राप्त भयो भने शंका गर्नुपर्दछ ।
– आफूसँग आएको मान्छेले कुनै प्रलोभन देखाएमा शंका गर्नुपर्दछ ।
– कसैले अस्वाभाविक चालढाल, व्यवहार प्रदर्शन गरेमा शंका गर्नुपर्दछ ।
– कुनै चिज बस्तुमा आफूलाई एकिन छैन भने विश्वास गर्नु हुँदैन, एक्लै कारोबार गर्नु हुँदैन ।
– कुनै चिज लिनुपर्ने भएमा कानूनबमोजिमको दर्ता, बिल आदि खोज्नुपर्दछ ।
– तपाईंले इच्छा नराख्दा पनि बढी बल गरेमा वा फकाउन वा प्रलोभनमा पार्न खोजेमा शंका गर्नुपर्दछ ।
– तपाईं आफूले ठग हो कि भनी कुनै काम गर्न खोज्दा रोक्न चाह्यो भने शंका गर्नुपर्दछ ।
– आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटेर प्रभावमा पार्न सक्ने हुनाले त्यसको परीक्षण गर्नुपर्दछ ।
– बालबालिका, होश ठेगानमा नरहेका व्यक्ति, असहाय, निरक्षर वा ७५ वर्ष नाघेका वृद्धलाई ठगी गर्ने कार्यमा प्रयोग गर्न सक्छन् । त्यस्ता संरक्षित समूहलाई विशेष निगरानी राख्नुपर्दछ ।
– निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी घटी बढी वा फरक पारी निर्माण कार्य भएको नभएको एकिन गर्नुपर्दछ ।
– कमसल वा घटी परिमाणका माल, वस्तु वा सेवा आपूर्ति गर्न सक्ने हुँदा एकिन गर्नुपर्दछ ।
– तोकिएकोभन्दा फरक गुणको माल, वस्तु वा सेवा उपलब्ध गराई फाइदा लिन सक्ने हुँदा सजग भइरहनुपर्दछ आदि ।

तसर्थ माथि उल्लिखित सजगताका केही आधारहरुलाई हृदयंगम गरी ठगीका वर्तमान अवस्थाहरुबारे मनन् गर्दै आफ्नो सजगताको स्तरलाई अभिवृद्धि गर्नु नै ठगीबाट बच्ने उपाय हो । (ढकाल अधिवक्ता एवम् मेलमिलापकर्ता हुनुहुन्छ ।)