मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनले हेटौंडा बजार तंरगित छ । व्यावसायिक स्थायित्व र संस्थागत विकासका लागि, व्यवसायीहरूको संस्था व्यवसायीहरूको नीति, व्यवसायीहरूको निर्णय भन्ने विभिन्न नारा र अपिलसहित ५८औं वार्षिक सभा यही पुस २४–२७ मा सम्पन्न हुँदैछ । यस वार्षिक सभाबाट आगामी नेतृत्वको समेत चयन हुनेछ। तसर्थ, आसन्न निर्वाचनले यहाँका व्यवसायी, उद्योगी, र राजनीतिक खेमाका मानिसहरू समेत कसलाई समर्थन गर्ने, कुन समूह बलियो छ भन्ने जोडघटाउमा लागेको देखिन्छ । अध्यक्षका उम्मेदवार प्रमोद सिंह रानाभाट र अर्का प्रत्यासी अनिल अग्रवाल आ–आफ्नो समूह बनाएर चुनावी प्रचार–प्रसार अभियानमा होमिसकेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पद अन्य संघसंस्थाको अध्यक्षभन्दा तुलनात्मक रूपमा अलि बढी चिनिने, अलि बढी महत्व पाइने, व्यवसायीहरूको छाता संगठन भएकाले पनि स्रोत साधन जुटाउन सक्ने हुँदा यस पदमा आकर्षण छ । अझ तत्कालिन अध्यक्ष राजकुमार न्यौपानेको कार्यकालमा सडक विभागले २५ मिटर सडक विस्तारको काम अघि बढाएको बखत तत्कालिन क्षेत्रीय प्रशासकले बल प्रयोग गरेर सडक विस्तार अभियान राप्तिरोडसम्म आई नपुग्दै न्यौपानेको अग्रसरतामा यो अभियान रोकियो । यससम्बन्धी मुद्दा पनि पर्यो, अदालतले पनि रोक्ने काम गर्यो । यहाँ नेताहरू पनि रोक्नमा लागे । यसमा जसरी लबिङ गरियो, त्यसमा मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षको भूमिका देखिन्थ्यो । २५ मिटर प्रकरणमा सडक विस्तार गर्दा १६ मिटर गर्नुपर्छ, नत्र भत्काउने भए मुआव्जा दिनुपर्छ । उद्योग वाणिज्य संघको धारणा यही हो, पूर्वअध्यक्ष कृष्ण कटुवाल भन्नुहुन्छ ।
बजारको संरचना भत्काउन हुँदैन भनेरै बाईपास सडक चौकीटोलदेखि कुष्माण्डसम्म बनाइयो । पछिल्लो समय यसको नेतृत्व डोरमणि सरले गर्नुभयो । यो सडक विस्तार गर्न तत्कालिन अध्यक्ष अरुणराज सुमार्गीले स्वर्गीय पिताजी माधवराज सुमार्गी ट्रष्टको नामबाट एक करोड छुट्याउने काम भयो । तत्कालिन समयमा यो रकमको आकार ठुलै हो । त्यसपछि नगरपालिका र सडक विभागले पनि उक्त सडक निर्माणमा योगदान पु¥याएको देखिन्छ । पछि डोरमणि सर मुख्यमन्त्री भएपछि यो बाईपासले महत्व पायो नै । प्रदेश सरकारले वार्षिक रूपमा बजेट विनियोजन ग¥यो, तर ठूलो योजना भएकाले केन्द्रिय कार्यक्रममै यसलाई समावेश गरिएको छ । तर आवश्यक बजेट परेको भने छैन । जे होस्, अहिले चौकीटोलदेखि कुष्माण्डसम्म बाईपास निर्माण भएको छ । तर यसैलाई राजमार्ग बनाउन कति सम्भव छ ? मिहिन ढंगले सोचौं, यसपालिको वर्षात्मा आएको दुई दिनको अविरल वर्षाले ठूलो जनधनको क्षति गरायो ।
कुलेखानी ड्यामको गेट खोल्ने परिस्थितिमा सिस्नेरी नै तहसनहस भो । एन्फा एकेडेमीका खेलाडी बालकहरूको अनाहकमा ज्यान गयो । काठमाडौँ डूब्यो । सिन्धुली–काठमाडौं बीपी राजमार्गमा पुगेको क्षतिले खोला छेउको बस्ती र सडक झन् असुरक्षित देखियो । यस्तो अवस्थामा खोला छेउकै यो बाईपास दिगो र स्थायी हुन सक्छ त ? प्रश्न यहाँ पनि छ । यसरी उद्योग वाणिज्य संघको नेतृत्व व्यवसायीहरू विस्थापित हुने डरले पनि यो मुद्दासँग जोडिन पुग्यो । सडक विस्तार गर्दा व्यवसायीहरू मारमा पर्छन् । तिनलाई व्यवस्थापन गर्नुपर्ने दायित्व र चिन्ता उद्योग वाणिज्य संघलाई हुन्छ नै ।
त्यो बाहेक करको झन्झट, कोरोना र युक्रेनको लडाइँले संसारभर निम्त्याएको आर्थिक मन्दीले नेपाल पनि प्रभावित छ । यहाँ उद्योगहरू बन्द छन् । नयाँ उद्योग आउने औद्योगिक वातावरण छैन । यहाँका व्यवसायीहरू र व्यवसाय नै धरापमा छ । अहिले यस्तो बेलामा व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाको जिम्मेवारीमा चुनौती र अवसर दुबै छ । हेटौँडा औद्योगिक नगर हो । अझ देशकै ठूलो औद्योगिक क्षेत्र यहाँ निर्माण हुँदैछ । यहाँ भएको हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्न चाहनेहरूलाई जग्गा उपलब्ध गराउन सकिएको छैन ।
औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन नगर्ने तर जग्गा कब्जा गरेर बस्ने प्रवृत्ति देखिन्छ । तिनलाई निरुत्साहित गर्न जरूरी छ । यस्ता विकृतिहरूमाथि पनि उद्योग वाणिज्य संघको नेतृत्वले ध्यान दिन जरूरी छ । हेटौँडाको विकासको विषयमा पनि उद्योग वाणिज्य संघको चासो देखिन्छ नै । सन्दर्भ हेटौँडालाई अस्थायी राजधानी बनाउने विषयमा तत्कालिन शेरबहादुर देउवाको सरकारको मन्त्रिपरिषद् बैठक बसिरहेको थियो । हाललाई अस्थायी राजधानी काठमाडौँमा राखौं भन्ने प्रमको इच्छा थियो । उक्त बैठकमा कमल थापा उपप्रधानमन्त्रीको हैसियतमा हुनुहुन्थ्यो ।
उहाँले हेटौंडामा अस्थायी राजधानी लैजान जोड गर्नुभयो । बैठक स्थगित भयो केही समयका लागि । त्यही मौकामा कमल थापाले तत्कालिन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललाई फोन गरेर सर्वदलीय बैठक राखेर हेटौँडालाई अस्थायी राजधानी बनाउन सर्वदलीय निर्णय गराउन दवाव सिर्जना गर्नुस् भन्नुभयो । अध्यक्ष कृष्ण कटुवालले सर्वदलीय बैठक आह्वान गर्नुभयो । त्यो बैठकले कति दवाव सिर्जना ग¥यो, गरेन त्यो एउटा पाटो छ । तर कमल थापाको जोडबलले अस्थायी राजधानी हेटौंडा भयो । पछि त्यसलाई स्थायी राजधानी डोरमणि सरको नेतृत्वमा बनाईयो ।
यसको श्रेय डोरमणि सरलाई जान्छ । हेटौंडाका विकासका धेरै विषयमा उद्योग वाणिज्य संघ पनि प्रत्यक्ष÷परोक्ष रूपमा जोडिँदै आएको छ । उपमहानगरपालिकाको थुप्रै अभियानमा उद्योग वाणिज्य संघ सहयोगी हुन सक्छ । संघले उपमहानगरपालिकासँग समन्वय गरेर अघि बढ्न जरूरी छ । करको कुरामा हिजो जसरी उपमहानगरसँग विवाद सिर्जना भयो त्यो बेठिक भयो । उपमहानगरसँग सम्झदारी बनाउँदा व्यापारीहरूको हितमा हुन्छ ।
जस्तो हेटौंडा बजारमा जथाभावी गाडी बनाउने अटो वर्कसप छन्, पशुवधशाला छ र अन्य कारखाना छ । तिनलाई एक ठाउँमा व्यवस्थित गर्न जरूरी छ । हेटौँडाको आर्थिक स्थिति चलायमान बनाउन यहाँको बजार व्यापारलाई पनि व्यवस्थित गर्नुपर्छ । रात्रिकालिन रेस्टुरेन्ट चलाउने वातावरण बनाउने, तरकारी, फलफूल, औषधि राति पनि सहज ढंगबाट उपलब्ध हुने परिस्थिति निर्माण गर्न संघ र उपमहानगर बीच साझेदारी हुन जरूरी छ ।
यस पृष्ठभूमिमा हुन लागेको संघको चुनाव आकर्षक छ । यद्यपि उद्योग वाणिज्य संघको विगतको चुनाव कम रोचक थिएन । पेशागत हितका लागि लड्नु पर्ने गैर–राजनीतिक समूह निर्वाचनमा दुई ध्रुवमा विभाजित हुने, राजनीतिक समूहको साथ र आशिर्वाद खोज्दै हिँड्ने परिस्थिति पक्कै राम्रो होइन । सहमति, सहकार्य, र एकताबद्ध भएर पालैपालो अध्यक्ष हुने समझदारी बनाएको भए व्यवसायीहरूको एकता र मुद्दा प्रखर रूपमा उठाउन सकिन्थ्यो ।
तर त्यो देखिँदैन । उद्योग वाणिज्य संघको इतिहास हेर्दा मोहनबहादुर सिंह हुँदै इन्द्रबहादुर श्रेष्ठ, प्रेमलाल श्रेष्ठ हिटलर, केशव श्रेष्ठ, माधव रिसाल, अरुणराज सुमार्गी, राजकुमार न्यौपाने, भुवनलाल श्रेष्ठ, कृष्ण कटुवाल, कृष्ण अग्रवाल नेतृत्व हुँदै यहाँसम्म आइपुगेको छ । विगतमा चुनावहरू रोचक ढंगबाट भएका उदाहरण छन् । कांग्रेस, एमाले, माओवादी सबैथरीका राजनीतिक दल प्रत्यक्ष÷परोक्ष चुनावमा संलग्न भएको देखिएकै हो ।
यसपालि एमाले–माओवादीका समर्थक, शुभचिन्तक, र भोटर कसरी प्रस्तुत हुन्छन् हेर्न बाँकी छ । जेहोस्, चुनावी माहोल तातिँदैछ । उम्मेदवारहरू व्यवसायीहरूकहाँ पुगिरहेका छन् । अध्यक्षका प्रत्यासी अनिल अग्रवालको पृष्ठभूमि व्यापार नै हो । तर, यिनका स्वर्गीय पिताजी कट्टर कांग्रेसी थिए । यिनी पनि आफूलाई कांग्रेस नै भन्छन् । यिनी लामो समय उद्योग वाणिज्य संघको उपाध्यक्षको रुपमा कार्यरत छन् । यिनको एउटा गज्जबको खुबी छ, यिनले हेटौंडाका प्रायः सबै मानिसलाई जन्मदिनको शुभकामना दिन भुल्दैनन् । यिनले जन्मदिन र वैवाहिक वर्षगाँठमा शुभकामना नदिएको कमै मानिस होला । सबैसँग मिल्न सक्ने यिनको स्वभाव छ । यिनी अध्यक्षका बलिया उम्मेदवार हुन् ।
प्रमोद सिंह रानाभाट यिनी पनि व्यापार व्यवसायको साथै कांग्रेसी हुन् । यिनी शालिन छन् । यिनी पनि उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । संघमा रहेर अनुभव बटुलेका छन् । यिनलाई संघ भित्रका पूर्वअध्यक्षहरूको साथ छ भन्ने हल्ला छ । यसरी हेर्दा सरसर्ती दुबैजना नेतृत्वका लागि काविल देखिन्छन् । दुबै जना तीव्र प्रतिस्पर्धामा छन् । दुबै आ–आफ्नो समूह बनाएर प्रचारमा छन् ।
हिजो कुनै बेला कम्युनिष्ट पृष्ठभूमिका व्यापारी भनेर चिनिने ज्योतिरत्न, राजकुमार, अरुण सुमार्गीहरू सतहमा देखिन्थे भने अहिले अनिल र प्रमोद दुबै कांग्रेस समर्थक हुन् । कांग्रेसले कसलाई समर्थन गर्छ त्यो चाहिँ अनिश्चित छ । कांग्रेस मकवानपुर आफैं गुटमा विभाजित छ । कांग्रेसले कांग्रेसलाई हराएको इतिहास मकवानपुर कांग्रेसको पहिचान हो । तर पनि कांग्रेस संगठनात्मक रूपमा बलियो छ मकवानपुरमा । त्यसमा पनि इन्द्र बानियाँ मकवानपुरे राजनीतिका कुशल खेलाडी हुन् । निर्वाचन कसरी लड्नुपर्छ भन्ने माहिर सेटिङका कुल देवता इन्द्र बानियाँले जसलाई बोक्यो उसैले चुनाव जित्छ ।
यिनलाई मन नपरेको मान्छे एउटै गठबन्धनमा भए पनि एउटै पार्टीका नेता भए पनि तिनले चुनाव जित्दैनन् । तसर्थ, इन्द्रको आशिर्वादले ठूलो प्रभाव पार्छ नै । उद्योग वाणिज्य संघको निर्वाचन भएको हुँदा यिनलाई त्यति रुचि नहोला । दुबै उम्मेदवार कांग्रेस निकट भएकाले यिनी निरपेक्ष रहन सक्छन् वा पछि के गर्छन् त्यो समयले नै बताउला ।
जेहोस्, निर्वाचन रोचक हुन्छ नै । अहिले नै नवीकरणको विवाद सुरु भइसकेको छ । व्यापारी विभाजित छन् । प्रतिस्पर्धा तगडा देखिन्छ । हेरौं, कसले व्यवसायीहरूको मन जित्न सफल हुन्छ । मकवानपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वमा कसले बाजी मार्ला ? अस्तु ।