झण्डै ६ दशक पुरानो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । करिब एक महिनासम्मको अनौपचारिक र औपचारिक चहलपहलपछि उद्योगी, व्यवसायीले आफ्नो पेसागत संस्थाको नेतृत्व चयन गरेका छन् । संघको विगतका नेतृत्वको कार्यशैली तथा कतिपय निर्णयले निर्वाचनअघि केही असन्तुष्टि र गुनासो व्यक्त भए पनि शान्तिपूर्ण र शौहार्दरुपमा निर्वाचन सम्पन्न भएको छ । व्यवसायीको हकहितको नारा र मुद्दा अघि सारेर नेतृत्व लिन आफ्नो प्यानल नै बनाएर दुई समूह निर्वाचनमा होमिएका थिए । व्यवसायीको हकहितका लागि आफूले मात्र काम गर्न सक्ने दावी गरेर नेतृत्व हासिल गरेपछि माखो नमार्ने परिपाटी व्यावसायिक क्षेत्रमा पनि उस्तै छ । निर्वाचनको करिब एक साताअघि संघको सदस्यता र मताधिकारसम्बन्धी केही विवादसमेत देखिएको थियो । पछिल्लो दुई वर्षमा ८ सयभन्दा बढी सदस्य गुमाएको संघको विगतका नेतृत्वले सबै प्रकारका उद्योगी, व्यवसायीको हकहितका लागि उल्लेख्य काम गर्न सकेन । व्यावसायिक हकहितभन्दा अन्य विषयमा संघ नेतृत्वको चासो र चिन्ता बढी हुँदा संघप्रति व्यवसायीको विश्वास र भरोसा कमजोर भएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारणसभाअन्तर्गत् शनिबार मतदान भएको थियो । निर्वाचनबाट प्रमोद सिंह रानाभाट अध्यक्षमा विजयी भएका छन् । एक हजार १४ मत ल्याएर रानाभाट अध्यक्षमा निर्वाचित हुँदा अध्यक्षका अर्का आकांक्षी अनिल अग्रवालले सात सय ६५ मत ल्याएका थिए । मतदानमा दुई हजार ४६ जना मतदाता व्यवसायीमध्ये एक हजार आठ सय १६ जना सहभागी भएका थिए । रानाभाट प्यानलबाटै संघको महासचिवमा प्रतिमा श्रेष्ठ, सहकोषाध्यक्षमा निलम वैद्य विजयी हुँदा कोषाध्यक्षमा अग्रवाल प्यानलबाट तेजराज अधिकारी विजयी भएका छन् ।
संघको उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाईं र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित ४ जनामध्ये दुबै प्यानलका दुई–दुई जना छन् । संघको अन्य पदहरुमा पनि दुबै प्यानलबाट मिश्रितरुपमा विजयी भएका छन् ।

निर्वाचनमा भाग लिए पनि हारजीत स्वभाविक प्रक्रिया हो । बहुमतीय प्रणालीलाई आत्मसात गर्ने निर्वाचन पद्दतिमा धेरै सदस्यले विश्वास गरेका व्यक्ति विजयी हुँदा सदस्यको विश्वास कम भएका व्यक्ति पराजित हुने हो । यसको अर्थ विजयी भएका व्यक्ति सर्वमान्य हुने होइन । पराजितले भन्दा उसले बढी सदस्यको विश्वास आर्जन गरेको मानिने मात्र हो । निर्वाचनमा विजयी हुनु भनेको झन् जिम्मेवारी बढ्नु हो । विजयी हुनेले आफ्नो कार्यकालभर सदस्य व्यवसायीको हकहितमा आफूलाई समर्पित गर्नुपर्ने हुन्छ । आफ्नो र आसेपासेको समस्यामा मात्र केन्द्रित नभएर आफूलाई निर्वाचनमा मत दिने र नदिने सबै सदस्य व्यवसायीको हकहितमा उत्तिकै ध्यान दिनुपर्छ । पराजित हुने व्यक्तिले यसलाई अन्त्य भएको नमानेर आगामी दिनमा निर्वाचित पदाधिकारीले गरेका राम्रा काममा सहयोग गर्ने र गलत कामलाई खबरदारी गर्नुपर्छ । नेतृत्वलाई सही बाटोमा हिँडाउन हरदम निगरानी गर्नुपर्छ ।

अहिले मुलुकको उद्योग, व्यापार, व्यवसाय सबैतिर आर्थिक मन्दीको प्रभाव देखिएको छ । उद्योगी, व्यवसायी चौतर्फी मारमा परेका छन् । राज्यका कानुनी र नीतिगत व्यवस्था र अर्थतन्त्रमा देखिएको मन्दीले व्यवसायी पलायन हुने सम्भावना देखिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमध्ये ८ सयभन्दा बढीले संघको सदस्यता नवीकरण नगर्नुले पनि कतिपय व्यवसायी पलायन भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । संघको नवनिर्वाचित पदाधिकारीले जिल्लाको व्यावसायिक क्षेत्रमा देखिएका र भविष्यमा आउनसक्ने सबै समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । व्यवसायमा टिक्नसक्ने वातावरण बनाउन संघको नेतृत्वले सबै व्यवसायीलाई विश्वास दिलाएर काम गर्नु आवश्यक छ । व्यवसायीको हकहितका साथै संघको गरिमा बढाउँदै कार्यकाल सफल बनाउन संघको नवनिर्वाचित पदाधिकारीलाई शुभकामना छ ।