प्रत्येक बर्षको पुस १६ गते नेपाली कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आइरहेको छ । देशको सार्वभौम सत्ताको रक्षाका लागि राजा, अन्य दलहरु समेत मिल्नु पर्छ भनी भारत निर्वासनमा रहेको पार्टीका संस्थापक नेता विश्वेश्वर प्रसाद (बीपी) कोइराला लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा कांग्रेसले हरेक बर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ बर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ साल पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।
नेपाली कांग्रेसले मनाउन लागेको मेलमिलाप दिवस यो ४९ औं पटक हो । कांग्रेसको संस्थापक नेता बीपी कोइरालाले भारत निर्वासनमा रहँदा भोलि देशमा संकट आईलाग्यो भने ‘राजाको गर्धन मुनि मेरो माथि’ हुन्छ भनेर भन्ने गर्नु हुन्थ्यो । तिनै बीपीको भाइ स्व. गिरिजाप्रसाद कोईरालाले दाज्युको आदर्श वाक्यलाई लात हान्दै बिदेशीको इसारामा देश जोड्ने राजतन्त्रलाई हटाई गणतन्त्र लागु गरे ।
हिजो बीपी हुँदा एक ढिक्का भएको कांग्रेस पार्टी गिरिजाको हातमा पार्टीको नेतृत्व आउना साथ लौह पुरुष नामले परिचित स्व. गणेशमान सिंहदेखि सन्त नेता कृष्णप्रसाद भटराईले गिरिजाको उद्दण्ड स्वभावबाट वाक्क दिक्क भएर पार्टी छोड्नु परेको घटना पार्टीका कार्यकर्ताहरुले बिर्सिसकेका होलान् । कम्युनिस्टहरु राजतन्त्रको घोर बिरोधी हुन् । कम्युनिस्टले धर्म, संस्कृति मन पराउँदैनन् । देशलाई एक सुत्रमा बाँध्ने राजतन्त्र र धर्म संस्कृति हो भन्ने ज्ञान हुँदाहुँदै पनि हठी तथा उद्दण्ड स्वभावको नेता गिरिजाले देशमा हत्या र हिंसाको खेति गरेर अराजक मच्चाएका कम्युनिस्ट पार्टीहरुसँग लगन गाँठो कसेर देश जोड्ने राजतन्त्रलाई उखालेर फाले ।
हिजो पंचायती शासनमा एक ढिक्का भएको नेपाली कांग्रेस पार्टी २०४६ सालपछि गुट, उपगुटमा बाँडिदै एउटा गुटले अर्को गुटलाई सिध्याउन कम्मर कसेर लागेका छन् । देशमा अहिले पंचायतदेखि राजतन्त्र समेत छैन । नेपाली कांग्रेस पार्टीले अहिले गर्दै आएको मेलमिलाप कस्का लागि गर्न लागेको हो ? प्रश्न उठाउने कि नउठाउने ? यदि अन्तर्मनदेखि नै मेलमिलाप चाहेको हो भने पार्टीका संस्थापक नेताहरुले देखाएको बाटोमा हिँड्दै नेपाली कांग्रेस पार्टीले देश जोड्ने राजा र राजतन्त्रसँग मेलमिलाप गरेर २०४७ सालको संविधान लागु गराउन सक्नु पर्छ ।
छिमेकी देश भारतको कांग्रेसको प्रतिलिपि हो नेपाली कांग्रेस भनेर धेरैले भन्ने गर्छन् । अहिले छिमेकमा भारतीय कांग्रेसको कन्त बिजोग भएको पनि देखेका छन् । अब पनि मेरो गोरुको बाह्रै टक्का भन्दै हिँड्ने हो र आफ्नै पार्टीमा मेलमिलाप गराउन नसक्ने हो भने भविष्यमा नेपालमा पनि कांग्रेस पार्टी थियो र भन्ने दिन पनि नआउला भन्न सकिँदैन ।