हेटौंडाः माघे संक्रान्ति नजिकिएसँगै बजारमा विभिन्न प्रकारका कन्दमूल तथा परिकारको बिक्री वितरण बढेको छ । माघे संक्रान्तिमा अधिकांश मानिसले तरुल, पिँडालु र सख्खरखण्ड आदि कन्दमूलजन्य खाद्यसामग्री खाने गर्दछन् । माघे संक्रान्तिमा सख्खर, तील तथा अन्य सामग्री प्रयोग गरेर बनाइने चाकु तथा लड्डुको पनि व्यापक प्रयोग हुने गर्दछ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा पनि माघे संक्रान्तिलाई लक्षित गर्दै यसबेला बढी माग हुने वस्तुको बिक्री सुरु भइसकेको छ । तर, माघे संक्रान्तिमा बढी प्रयोग हुने तरुल, पिँडालु तथा सखरखण्डको मूल्यमा भने खुद्रा बिक्री गर्ने पसलमा मात्र नभई थोक बजारमै एकरुपता पाइँदैन । हेटौंडा–४ स्थित तरकारी बजारमा घरतरुल प्रतिकेजी १ सय ६० रुपैयाँमा बिक्रीका लागि राखिएको छ । यस्तै पिँडालु ८० रुपैयाँमा र सखरखण्ड ६० रुपैयाँमा बिक्री भइरहेको व्यापारी सागर तामाङले जानकारी दिनुभयो ।
यसैगरी हेटौंडा—१० स्थित तरकारी तथा फलफूलको थोक बजारमै प्रतिकेजी १ सय ५० रुपैयाँ मूल्यसम्मका तरुल बिक्रीका लागि राखिएका छन् । हेटौंडा–४, खोपेगल्लीको थोकसमेत बिक्री गर्ने पसलमा एक सय ६० रुपैयाँमा पाइने घरतरुल बसपार्कस्थित थोक तरकारी बजारमा भने एक सय ५० रुपैयाँमा बिक्री भइरहेको पाइएको छ ।
तरुल बिक्रीका लागि किसानहरुले हेटौंडाको थोक बजारमा ल्याउने गरेका छन् । मकवानपुरको भीमफेदी, सुकौरा, निबुवाटारलगायत क्षेत्रबाट किसानले तरुल बिक्रीका ल्याउने गर्दछन् । तरुल बिक्रीका लागि बजारमा किसानहरुले पर्याप्त मात्रामा ल्याउने गरेका छन् । तर बजारमा अहिले त्यति तरुल बिक्री नहुँदा किसानहरुले अत्यन्तै कम मूल्य पाउने गरेको व्यापारीहरुको भनाई छ ।
घरतरुलभन्दा वनतरुल बजारमा बढी बिक्री हुने गरेको छ । तरुलको मागअनुसार मूल्य घटबढ हुने गरेको तरकारी बिक्रेता तामाङले बताउनुभयो । गतवर्षको तुलनामा तरुल, पिँडालु र सखरखण्ड चाडपर्व नजिकिँदै गरेपनि कम बिक्री भएको उहाँले बताउनुभयो ।
जसरी दशैंमा मासु विशेष हुन्छ, त्यसरी माघे संक्रान्तिका लागि पनि तरुल विशेष छ । बजारमा घर तरुल, बन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, स्कुसको जरा आदि धेरै थरीका तरुल पाइन्छ । यस्तै, पिँडालु, सखरखण्ड आदि पनि खाने गरिन्छ । यस सिजनमा जे जति कन्दमूल उत्पादन हुन्छन्, ती माघे संक्रान्तिको विशेष परिकार बन्छ । साथै माघे संक्रान्तिको दिन चाकु, सख्खरबाट बनाइने परिकारलाई पनि प्राथमिकता दिइन्छ ।
कुनकुन परिकारको के महत्त्व छ ?
वास्तवमा यी सबै हाम्रो शरीरले मौसमअनुकूल माग गर्ने खाद्यपदार्थ हुन् । माघे संक्रान्तिलाई विशेष दिन बनाएर यी खाद्यपदार्थको महत्व दर्शाइएको हो । यद्यपि, एक दिनमात्र तरुल खाएर पुग्दैन । वास्तवमा जाडो महिनाभर वा जतिबेलासम्म उपलब्ध हुन्छ, हाम्रो खानामा यसलाई सामेल गर्नुपर्छ ।
माघे संक्रान्तिमा किन तरुल खाइन्छ ? घिउ, चाकु किन खाइन्छ ? तिलको लड्डु किन खाइन्छ ? यसको खास महत्व छ । माघे संक्रान्तिको अवसरमा खाइने घिउ, चाकु तथा सखरले शरीरलाई शक्ति प्रदान गर्नुुका साथै शरीरलाई भित्रबाटै न्यानो प्रदान गर्छ । साथै, यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ । त्यतिमात्र होइन, चाकु तथा सखर चिनीबाट बनेको नभई विभिन्न तत्वबाट बनाइने हुँदा यसले शरीरमा विभिन्न खनिज पदार्थको रुपमा समेत काम गर्दछ ।
त्यस्तै, घिउ आफैंमा अनस्याचुरेटेड फैटी एसिड भएकाले यसले शरीरमा बोसो जम्न दिँदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ । तिल पनि नजम्ने अनस्याचुरेटेड फैटी एसिड हो । यसले पाचन प्रक्रियालाई मजबुत बनाउनुका साथै शरीरमा प्रशस्त मात्रामा भिटामिन ‘ई’को प्रवाह गर्छ । तिलमा प्रशस्त मात्रामा खनिज पदार्थ हुने भएकाले यसले रोगसित लड्न शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
तरुल, पिँडालुजस्ता कन्दमूल रेशादार खानेकुरा हुन् । यसले शरीरमा क्यालोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ । साथै तरुल तथा पिँडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिँदैन । तरुल तथा पिँडालु रेशादार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिँदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर वा दिशालाई मलद्वारद्वारा सजिलै बाहिर निकाल्न मद्दत गर्छ ।