उपाधि साथ हेटौँडा उपमहानगरपालिकाको टिम ।

हेटौँडा : मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको १५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हेटौँडा उपमहानगरपालिकाको टिमले जितेको छ । आइतबारबाट सुरु भएर मंगलबार सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हेटौंडाले चुमेको हो ।

हेटौँडाले १५ स्वर्ण, १० रजत र ९ कांस्य पदक प्राप्त गरेको छ । यस्तै १३ स्वर्ण, ५ रजत र १० कांस्य पदक प्राप्त गर्दै बकैया गाउँपालिका द्वितीय भएको छ भने तृतीय भएको थाहा नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ६ कांस्य पदक प्राप्त गरेको छ । बागमती गाउँपालिकाको टिमले ६ स्वर्ण, १७ रजत र १७ काँस्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय जना खेलाडीहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु सञ्चालन भएको थियो । इन्द्रसरोवर गाउँपालिका प्रतियोगितामा सहभागी भएको थिएन ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको छ । गत वर्ष सम्पन्न भएको १४ औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि हेटौँडा प्रथम भएको थियो । गत वर्ष हेटौँडाले २० स्वर्ण, ७ रजत र १९ कास्य पदक प्राप्त गर्दै उपाधि जितेको थियो भने मकवानपुरको बकैया गाउँपालिकाले १२ स्वर्ण, १० रजत र ८ कास्य पदक प्राप्त गर्दै द्वितीय भएको थियो । यस्तै, तृतीय हुने थाहा नगरपालिकाले ७ स्वर्ण, ८ रजत र १३ कांस्य पदक प्राप्त गरेको थियो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा मंगलबार पुरस्कार वितरण कार्यक्रम भएको हो । समापन समारोहमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य संगीत श्रेष्ठ, जिल्ला खेलकुद कार्यालय प्रमुख माधव कोइराला, सदस्य मदन उप्रेती, बागमती गाउँपालिका, बकैया गाउँपालिका खेलकुद अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।