हेटौंडा: हेटौंडा उपमहानगरपालिकाका सोम लामा बुटवल मेयरकप स्नुकर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको क्वार्टरफाइनल चरणको खेलमा जीत निकाल्दै लामाले सेमिफाइनलको यात्रा पूरा गर्नुभएको हो ।
बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा भएको क्वार्टरफाइनल चरणको खेलमा हेटौंडाको प्रतिनिधित्व गर्नुभएका लामाले काठमाडौं महानगरपालिकाका कुमार शाहीलाई ५–१ को सेटले पराजित गर्नुभएको थियो । हेटौंडाकै प्रतिनिधित्व गर्नुभएका अर्का खेलाडी नितेश खण्डेलवाल बुटवलका रेगन श्रेष्ठसँग ५–१ को सेटले पराजित हुनुभएको छ । यो हार व्यहोरेसँगै खण्डेलवाल क्वार्टरफाइनल चरणको खेलबाट बाहिरिनुपरेको छ ।
प्रतियोगिता अन्तर्गत आज बुधबार बिहान १० बजेबाट सेमिफाइनल चरणको खेलहरु सञ्चालन हुनेछ । पहिलो सेमिफाइनल खेलमा हेटौंडाका सोम लामाले वाङचुङ्ग लामासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । क्वार्टरफाइनल चरणसम्मका वेष्टअफ ९ मा खेलाइएको खेल सेमिफाइनल चरणमा वेष्टअफ ११ मा खेलाइने हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउसका सञ्चालक पूर्णभक्त लामाले जानकारी दिनुभएको छ ।
प्रतियोगिता आउँदो शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकासहित रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, इटहरी, बिर्तामोड, बनेपा, परासीलगायतका ठाउँबाट करिब २ सय ५० जनाको सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले एक लाख एक हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ तथा सेमिफाइनलिष्टले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, राइजिङ्ग स्टार र अनुशासनको पालना गर्ने खेलाडीले स्नुकर स्टिक प्राप्त गर्नेछन् ।