हरिया पहाडहरुले घेरिएको सानो गाउँ हुम्ला । घाम डाँडामा आइनपुग्दै कमलाको दिनचर्चा सुरु हुन्थ्यो । कमला गाउँमा हुर्केकी एउटी सोझी केटी थिई । उसको दिन घर लिपपोत गर्दैमा, पँधेरोबाट पानी भर्दैमा, बूढी भएकी आमाको स्यारसुसार र गाईवस्तु गर्दैमा बित्थ्यो । उसको बुबा ऊ सानै हुँदा बितिसकेका थिए । भएको एउटा दाइ पनि हराएको ६ महिना भइसकेको थियो । उसको उमेर पनि डल्किँदै थियो ।
एकदिन कमला गाउँ घुम्न जाँदा दुई महिलाहरु कुरा गरिरहेका थिए । त्यतिकैमा एक महिलाले भनिन् –‘हेर न यो कमलालाई खाऊँ खाऊँ लाऊँ लाऊँ भन्ने उमेरमा त्यो मर्न लागेकी बूढीको स्यारसुसार गरेर बसेकी छे ।’ अर्की महिलाले थपी ‘हो त, खै यसको दाइ पनि फर्केर नआउने भयो । मर्यो कि बाच्यो ? अत्तो पत्तो छैन ।’ यो सब कुरा सुनेर कमलाको आँखाबाट तपतप आँसु चुहिन थाल्यो र ऊ रुँदै घर गई । उसकी आमा घाँस काट्दा भिरबाट लडेर अपाङ्ग भएकी थिइन् ।
गाउँमा माओवादीको आतङ्क फैलिरहेको थियो । पुलिस पनि आएर त्यहीँ गाउलेलाई कुट्पिट गर्थे । कमलाको दाइालाई पनि ६ महिना अगाडि आएर माओवादीले लगेका थिए । त्यसै कारण पुलिस कमलाको घरमा आइरहन्थे । एकरात कमला भान्सामा खाना पकाउँदै थिई । त्यतिबेलै बाहिरबाट एउटा चर्को स्वरमा ‘कमला बाहिर निक्ली उसको अगाडि चार पाँचजना पुलिसहरु थिए । कमला एकछिन मौन भएर सोच्न लागी ‘फेरि किन आएका होलान् ?’ तेरो त्यो दाइ घर आयो कि आएन ह ? भनेर एउटा पुलिसले सोध्यो । कमलाले सानो र नम्र स्वरमा ‘छैन हजुर’ भनी । त्यति सुनेर पुलिसहरु फर्किए । कमला भित्र पसेपछि आमाले सोधिन् – ‘को आएका थिए छोरी ?’कमलाले जवाफ दिई ‘को हुनु नि आमा, पुलिसहरु ।’‘खै कति दुःख दिन सकेका होलान् हामी गरिवलाई’ आमाले भनिन् ।
यता आमा र बहिनीको गति यस्तो थियो भने उता कमल (कमलाको दाइ) को माओवादीले गर्दा बिजोक भएको थियो । न त समयमा खान पाउथ्यो न त तिर्खा लाग्दा पानी नै । पुलिसबाट भागेर लुक्दै लुक्दै बाँच्नु परेको थियो । ठेगान नै थिएन कहिले कसको बन्दुकबाट निक्लेको गोलीले मरिन्छ भनेर ।
दशैँ नजिकिँदै थियो । सबै गाउँलेहरु आफ्नो घरमा रातो माटो र कमेरो छ्याप्ने काममा धमाधम थिए । कमलाले पनि सकिनसकी रातो माटो र कमेरो लगाएर आफ्नो घर रङ्ग्याउन थाली । यत्रो ठूलो चाडमा त दाइ पक्कै आउनुहोला भन्ने आशले उसको मन खुसी थियो र ओठमा पनि मुस्कान थियो । घरमा अरु कोही ठूलाबडा नभएको कारण उसले घटस्थापनाको दिन जमरा पनि आफैँ छरी । ती बूढी आमा र कमलालाई आफ्नो छोरो र दाइ नभएपछि के मासु खान मन लाग्थ्यो र ? उनीहरुले यो दशैँ मासु नखाने निर्णय गरे ।
टीकाको दिन दाइ आउनुहुन्छ कि भनेर आँगनको डिलमा बसेर दाइ आउनुहुन्छ कि भनेर बाटोमा हेरेर बसी । बाटो हेर्दै दाइको पर्खाइमा टीकाको साइतसमेत बित्यो तर कमलको आउने केही अत्तो पत्तो थिएन । आमाले भित्रबाट आवाज दिनुभयो ‘छोरी आजको दिन के खाली निदार बस्छस् आइज म जति सक्छु त्यति टीका लगाइदिन्छु ।’ ‘एकछिन रुक्नुस् न आमा के थाहा न दाइ आउनु पो हुन्छ कि ?’ कमलाले उत्तर दिई ।
दिन ढल्यो । साँझ पर्यो । त्यो थालीमा मुसेर राखेका टीका ओसियो र काटेर राखेका ती हरिया जमरा मुर्ज्याए । दसैंको टीका सबैको निधारमा रातो टीका, शिरमा जमराका साथै ठूला सप्तरङ्गी टीका मखमली माला सबै तयार गरेर राखी । आमाले दाई आउँदैन भनेर सम्झाउँदा पनि कमला सम्झिन तयार नै थिइन् । दाइको बाटो कुरेर बसेकी बहिनीको निधार यो भाइटीकामा पनि रित्तै रह्यो । घाँटीमा मखमली मालाको बदलामा आँखाबाट झरेका आँसुमात्र पुगे ।
कमला आफ्नो दाइ कमललाई हरपल सम्झी रहन्थी । ऊ एक्लै आफ्नो दाइलाई सम्झेर रुन्थी । एकदिन रुँदा रुँदै दाइ हुँदाको भाइटीका सम्झी । ‘बहिनी ओई चाडो आइजो न ढिला भइसक्यो । टीकाको साइत पनि भइसक्यो’ कमल कमलालाई बोलाउँछ । कमलाले जवाफमा भित्र कोठाबाट तिखो स्वरमा भन्छे ‘ल, ल आइहाले’ कमलाले भाइटीकाको दिन कमललायइ सप्तरङ्गी टीका लगाइदिन्छे र कमलले कमलालाई उपहार स्वरुप पैसा दिन्छ र भन्छ ‘तँलाई कति नक्कल पार्नु पर्ने मलाई यहाँ साथीहरुसँग जान ढिलो भइसक्यो गएँ म ।’ कमला मुख बिगार्दै ‘अब त लगाइदिसमेपछि अब जहाँ जानु छ ’ भनी ।
कमला दिदी, ए कमला दिदी, कमला दिदी बाहिरबाट आवाज आउँछ । कमला झस्किन्छे । ‘को हो ?’ भनेर भन्छे । ‘म कर्म हो, बाहिर आउनु न । ’ ‘कर्म तँ के भयो ? किन चिच्याएको ?’, भन्दै बाहिर निस्किन्छे । ‘दिदी गाईवस्तु भोकाइसके कराकोकराइ छन् । चराउन चौरतिर जाऔँ न भनेर बोलाउन आएको’, कर्मले भन्यो ।
‘ए , ल ल तँ गाईवस्तु लिएर मूलबाटोमा आइज म पनि त्यहीँ आउँछु’ भनेर दुवै आ–आफ्नो गोठतिर जान्छन् । कमला आमालाई गाईवस्तु चराउन जान्छु भनेर चौरतिर जान्छे । मूलबाटोमा कर्मपनि पर्खेर बसेको हुन्छ । दिनभरि जङ्गलमा गाईवस्तु आफैँ चरेर बस्छन् । कमला र कर्म खेलिरहेका थिए । भुटेर ल्याएको गहुँ र भटमास थियो । दुवैले त्यहीँ खाए । बेलुकी पख घर फर्किन्छन् र सबै गाईवस्तु पनि दिनभरि चरेका थिए र जाडो पनि भएको कारण गाईवस्तु आ–आफ्नो ठाउँमा गएर बस्छन् ।
कमला घर फर्किने बित्तिकै खाना पकाउन लागि । घरमा कोही काम गर्ने व्यक्ति थिएनन् । उब्जाउ भएको अन्न कमला आफैँ सकिनसकी हाट बजारमा लगेर बेच्थी । त्यहीँ पैसाबाट घरमा चाहिने नुन, मसला, भुटुनका लागि तेल किनेर ल्याउँथी । त्यस रात घरमा नुन, तेल सबै सकिएछ । त्यहीँ भएर उसले कर्मको घरबाट पैँचो मागेर खाना पकाइ आमालाई दि अनि आफूले पनि खाई ।
भोलिपल्ट कहिल्यै कसैले नसोचेको घटना घट्यो । केही व्यक्तिहरु शिरमा रातो कपडा बेरेका लास बोकेर कमलाको आँगनमा पाइला टेके । गाउँलेहरु भेला भए । ल्याएको लासको मुखबाट कपडा झिके । कमला घ्वा घ्वा रुन थाली । खै के भयो त्यो दिन आमा छोरोको लास हेरेर स्वर्गे भइन् । कमलाको रोदन चर्किदै गयो । एकैपलमा अनाथ भएकी कमलाको जीवनमा आफ्नो भन्नु कोही बाँकी रहेनन् । बडाको आशीर्वाद लिएर गयो तर ती बुढी आमा र कमलाको दशैँ आँखाभरि आँसु र आफ्नो छोरा र आफ्नो दाइ आउनुहोला कि भनेर बाटो हेर्दैमा बित्यो । उनीहरुका न त आफन्त भन्ने कोही थिए । यसरी हिन्दूधर्मको महान् चाड दशैँ आँसु र आशामै सकियो ।
दिनचर्या फेरि पहिलाको जस्तै हुन थाल्यो । कमला फेरि घाँसपात, पधँेरो र आमाको स्यारसुसारमा नै व्यस्थ हुन थाली । एकदिन आमा खाटबाट लड्नुभयो र बेस्करी चिच्याउनु भयो । आमाको चित्याहट सुनेर दगुर्दै आई र आमालाई आफ्नो हातको साहाराले उठाएर खाटमा सुताई अनि भनी ‘ध्यान दिएर आमा केही चाहियो भने मलाई आवाज दिनुस् म आइहाल्छु ।’ ‘छोरी तँ पनि कति अभागी रहिछस् । सानुमै बाउको माया पाइनस् । बाउको जस्तै माया गर्ने दाइको अत्तोपत्तो छैन अनि बिहे गरेर जानुपर्ने उमेरमा म अपाहिच बूढीको स्यारसुसार गरेर बसिराखेकी छस्’ आमाले भन्नुभयो । कमलाले जवाफ दिइ ‘आमा के भन्नुभएको यस्तो हजुरको स्यारसुसार गर्न पाउनु भनेको त मेरो सौभाग्य हो ।’ ‘अब छोड्दे छोरी तँ आफ्नो बारेमा सोच तेरो दाइ फर्केर आउँला जस्तो छैन । म बूढीको पनि केही ठेगान छैन । आज हो कि भोलि अब तैले आफ्नो बिहे र नयाँ जीवनको बारेमा सोच्नुपर्छ ।’ आमाले सम्झाउँदै भन्नुभयो ।
‘आमा म यति स्वार्थी कसरी बन्न सक्छु हजुरको स्वास्थ्य पनि राम्रो छैन, जब सम्म दाई आउनु हुन्न तब सम्म म बिहे गर्ने त के त्यसको बारेमा सोच्न पनि सक्दिन,’ कमलाले एक असल छोरीको दायित्व बुझेर आमालाई जवाफ दिई ।
तिहार आयो सबैजनाको मुहारमा खुसीको बहार छाएको थियो । कमला पनि खुसी थिई । जम्मा पारेर राखेका पैसाले, मेलापात गर्दा कमाएको पैसाले चामलको १ किलो पिठो पिनेर ल्याई र आफ्नो दाइका लागि सेलरोटी पकाउन थाली । दाइ आउनुहुन्छ भन्ने आश मनमा राखेर रोटी पकाउँदै थिई । त्यतिकैमा तल्ला घरको कर्मले आएर भन्यो ‘दिदी, दिदी….. त्यहाँ तल बेसीमा कसैको लास फेला परेको छ रे’ । त्यो सुनेपछि आत्तिँदै सेल पकाउन छोडेर तल बेसीतिर दौडिई । बेसी झर्दा उसको मनमा एउटै डरले घर बनाएको थियो कतै त्यो लास उसकै दाइको त होइन । भगवान्सँग यही प्रार्थना गरिरहेकी थिई कि त्यो लास उसको दाइको नहोस् । उसको सोचसँगै हिँडाइको गति बढेको बढै थियो । ऊ बेसी पुगी । लास सेतो कपडाले छोपिएको थियो । कपडा हटाउँदा उसको मुटु नब्बेको गतिमा धड्किरहेको थियो । उसले त्यो लापता लासको अनुहार हेरेपछि ढुक्क भई किन कि त्यो लास उसको दाइ कमलको थिएन । त्यहाँ बेसीमा भेला हुने मानिस भनिरहेका थिए, ‘विचरा सायद हिजो भिडन्तमा मारियो होला ।’ कमला घर फर्की र सेल रोटी पकाउन थाली । भाइटीकाको दिन दाइ आउनुहुन्छ कि भनेर कुरेर बसी ।