१) थोरै पछाडि फर्किंदा
कोभिड–१९ को कारणले गत शैक्षिक सत्र–२०७७ लथालिङ्ग भएकै हो । अनलाईन पढाउने प्रयत्न धेरै भए । विपदकालिन शिक्षाको कुनै तयारी थिएन । सरकारले ढिलै भए पनि वैकल्पिक सिकाई सहजीकरण निर्देशिका–२०७७ जारी गरी टिभि, रेडियोबाट नियमित शिक्षण प्रसारण गरी आफ्नो उपस्थिति देखाएको थियो । कोरोना कहरको महामारीमा देशव्यापी अनलाईन, अफलाईन, सम्पर्क कक्षा, होम भिजिट , टोल टोलमा कक्षा समेतका प्रयासहरु गरिएकै हुन् । कोर्स पूरा गर्ने अभिप्रायले २ महिना थप्ने सरकारी निर्णयले कुनै उपलब्धिमूलक काम गरेन ।
देशका धेरैजसो ठाउँमा मंसिरबाट शिक्षण संस्थाहरुमा भौतिक रुपमै कक्षाहरु सञ्चालन भए तापनि काठमाडौं उपत्यका भित्र भने माघ महिनाबाट मात्र भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएको जगजाहेर छ । २०७८ सालको वैशाखको आधा नबित्दै दोश्रो लहरको कोरोना भाईरसको महामारीले सबै शिक्षण संस्थाहरु हठात बन्द गर्नुपर्ने बाध्यता उत्पन्न भयो । शिक्षण सिकाई त अधुरै रह्यो नै, वार्षिक परीक्षा समेत पूरा हुन पाएन । यसै असहजताको बीचमा अर्धवार्षिक परीक्षा, त्रैमासिक परीक्षा, हाजिरी, कक्षाकार्य, गृहकार्य, अनुशासन जस्ता आधारमा नतिजा प्रकाशन गर्ने कार्य सकिएको छ ।
२) केहि अपेक्षा
शैक्षिक सत्रको निरन्तरतामा गत वर्ष झैं यस वर्ष पनि शंका र चर्चा शुरु भएको छ । सरकारले औपचारिक रुपमा घोषणा गरिसकेको सन्दर्भमा यो असारबाटै शैक्षिक सत्र शुरु गर्न उचित वा अनुचित तर्फको तर्क बितर्क तर्फ जाने यो आलेखको उद्देश्य होईन । तैपनि नीजि स्कूलहरुको स्वार्थसँग यो बढि जोडिएको कुरा भने छुटाउन नमिल्ला । बिगतको असहजता र विषमता अनि कोरोना कहरबाट शिक्षा लिएर सम्भाव्य महामारीको चुनौति सामना गर्न सरकारले विपदकालिन शैक्षिक योजना बनाउनै पथ्र्यो । प्रविधिसँग शिक्षालाई जोड्नै पथ्र्यो । अन्य कतिपय खर्च कटाएर पनि अनलाईन शिक्षालाई प्रभावकारी बनाउने तर्फ ईन्टरनेट सेवाको पहुँच र बिस्तार, बिजुलीको उपलब्धता, सिकाई पोर्टलको व्यवस्था, मोवाईल फोन, ल्यापटपसँगै प्राविधिक सीप विकासमा लगानीका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा यसतर्फ रत्तिपनि चासो र गम्भीरता देखिएन । यो हाम्रो शिक्षा प्रणालीकै दूर्भाग्यको निरन्तरता स्विकार्नै पर्छ ।
३) वर्तमानको यथार्थता
कोरोना विरुद्धको खोपमा राज्यले बेवास्ता गरेकै परिणामस्वरुप लगभग २०० जना शिक्षक, प्राध्यापकहरुले जिवन गुमाउन बाध्य बनेको अवस्था छ । स्कूलमा ईन्टरनेट सुविधा सहज उपलब्ध गराउनेतर्फ सरकारले ध्यानै दिएन । उल्टो व्यापारीलाई लुटको अवसर दिएर रमिते बनेको छ । नीजि शिक्षण संस्थाका अधिकांश अभिभावकले आफ्ना बालबालिकाका लागि ल्यापटप तथा मोवाईल फोनको व्यवस्थासहित ईन्टरनेट सेवा र आफैँसँगै बसेर निगरानीपूर्ण शिक्षण सिकाईमा जोडिएको देखिन्छ । तर सरकारी शिक्षण संस्थाका अधिकांश अभिभावक यो क्षमता राख्दैनन् । नगरपालिकामा त बिजुली नियमित छैन । ईन्टरनेट सेवा सहज छैन । गाउँमा त झनै फोनको टावर भेट्न घर छाडेर एकाध घण्टा हिँडेर खोज्नुपर्ने अवस्था छ ।
अर्को समस्या विद्यार्थीमा मात्र हैन शिक्षकमा समेत प्रविधि प्रयोग गर्ने सीप पर्याप्त छैन । यसबेला अनलाईन कक्षाको चर्चा शिक्षामा व्यापक सुनिन्छ तर आवश्यक वातावरणको अभाव बारे ध्यान पुगेको छैन । शिक्षक–विद्यार्थीमा अनलाईन कक्षा अनुशासन ज्यादा फितलो देखिन्छ । बस्ने स्थान, बसेको तरिका, ड्रेस कोड, अडियो भिडियोको दुरुपयोग र विषयवस्तु भन्दा फाल्तु गफ गरेर समयको बर्बादीले दिक्क बनेको स्वयम् सहभागी शिक्षक–विद्यार्थीको अनुभव बाहिर आएको छ । तैपनि उपयुक्त विकल्पको अभावमा यो बाध्यता स्विकारेको सरोकारवालाहरुको भनाई सुनिन्छ ।
४) सम्भावनाहरु के के होलान ?
समग्र परिस्थिति प्रतिकूल छ । यसो भन्दैमा चुप बस्ने स्थिति पनि छैन । कम्तिमा शैक्षिक गतिविधि चलेको भन्ने बनाउनु छ । महामारीको बावजुद पनि यो अवधिमा विद्यार्थीले केहि न केहि सिक्ने स्थिति हुनुपर्छ । शिक्षकहरु कुनैपनि माध्यमबाट विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापसँग जोडिनै पर्दछ । कक्षाकोठामा भौतिक उपस्थितिमा हुने शिक्षणको अतिरिक्त सम्भाव्य विकल्पहरु के के होलान् ?
क) अनलाईन कक्षाः बिजुली पुगेको र ईन्टरनेट सेवा उपलब्ध भएसम्म अनलाईन कक्षा पहिलो प्राथमिकता बन्नै पर्दछ । बिजुली र ईन्टरनेटको पहुँच र बिस्तारमा स्थानीय सरकारले जिम्मेवारी लिनै पर्दछ । शिक्षण सिकाईमा शिक्षक–विद्यार्थीले अनलाईन शिक्षाको अनुशासन कडाईका साथ पालना गर्नै पर्दछ । अभिभावकको विशेष निगरानी जरुरी छ ।
ख) शैक्षिक टिभि च्यानलको संचालनः यो अर्को वैकल्पिक विधि हो । नगर तथा गाउँपालिकाको स्तरबाट पहल गरिनुपर्ने महत्वपूर्ण शैक्षिक काम नै टिभिमा शैक्षिक च्यानल हो । सम्बन्धित पालिकाकै विज्ञ शिक्षकहरुको संयोजनमा टिभिबाट कक्षासंचालनको प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न सकिन्छ । विद्यार्थी मूल्यांकनको काम सम्बन्धित शिक्षकहरुबाट गर्न गराउन पर्दछ ।
ग) फोन ईन कार्यक्रमः कम विद्यार्थी संख्यामा समूह बनाएर वा सिधै विद्यार्थीसँग जोडिन यो पनि केहि उपयोगी माध्यम बन्न सक्छ । यो विधिमा पनि विद्यार्थीले शिक्षकसँग समस्या राख्न सक्छन् । शिक्षकले पनि राम्रोसँग बुझाउन सक्छन् । पछिल्लो समयमा नेपाल टेलिकमले सियुजी (क्लोज्ड युजर ग्रुप) सिम यहि अवधिलाई लक्षित गरी ल्याइएको कार्यक्रम भनिएको छ । प्याकेजमा लिँदा सस्तो पर्ने विद्यार्थीका लागि भनिएको यो सिममा आकर्षण भने अत्यन्त न्यून देखिएको छ ।
घ) मेसेञ्जर ग्रुप निर्माणः यो अर्को विधि हो । यसमा विद्यार्थीको समुह बनाएर शिक्षकले सामग्री दिन सक्छन् । विद्यार्थीले पनि आफूले तयार गरेको उत्तर करेक्शन गराउने अवसर पाउ“छन् ।
ङ) सम्पर्क कक्षाः प्रविधिको सहजता नभएको अवस्थामा सम्पर्क कक्षा संचालन गर्न सकिन्छ । विद्यार्थी तथा शिक्षकसँग ईन्टरनेट सुविधा नहुँदा यो नै उत्तम विकल्प बन्न सक्छ । भौतिक रुपमा नै उपस्थित गर्ने गराउने भएकाले स्वास्थ्य सावधानीका उपायहरु कडाईका साथ पालना गर्नै पर्दछ । यसो गर्दा एक सातामा एकपटक एउटा मात्र कक्षाका विद्यार्थी बोलाएर अर्थात पालो प्रणाली लागू गरी मुल विषयको मात्र कक्षा लिन सकिन्छ । कम विद्यार्थी एकाध घण्टामात्र राख्दै प्रश्नोत्तर र समस्या समाधान विधिबाट शिक्षण गर्न सकिन्छ । विद्यार्थीको समस्या हल गर्ने र अर्को साताका लागि गृहकार्य दिने काम यस विधिमा गरिन्छ ।
अन्तमा, भौतिक उपस्थितिमा जस्तो कक्षाको प्रभावकारिता अन्य माध्यमबाट हुन नसक्ने तथ्य सावित भैसकेको छ । तै पनि शैक्षणिक गतिविधिको निरन्तरता सबैको चासो र सरोकारको विषय बनेको छ । हालका दिनहरुमा कोरोना भाईरस संक्रमण दर घटेको देखिन्छ । त्यस्तै मृत्यु संख्यामा पनि धेरै नियन्त्रण भएको देखिन्छ । तैपनि ढुक्क हुने अवस्था छैन । सबैले सावधानी अपनाउनै पर्दछ । परिक्षणको दायरा व्यापक गराउनु पर्ने आवाज उठेको छ । आम नागरिकलाई खोपको अनिवार्य व्यवस्थाको माग गरिएको छ । शिक्षकहरु त बिना खोप कक्षा नजाने भन्दै आएका छन् । कतिपय जिल्लामा शिक्षक प्राध्यापकलाई खोपको व्यवस्था भै सकेको समाचार पनि बाहिर आएको छ । बाँकीेमा पनि अबिलम्व खोप दिईयोस् भन्ने सशक्त आवाज बढिरहेको छ । खोप उपलब्ध भै सकेपछि शिक्षक प्राध्यापकहरु केहि निर्धक्क बनेर शिक्षण सिकाईमा वैकल्पिक वा भौतिक उपस्थितिमै पनि शिक्षण सिकाईमा जोडिन आतुर भएका छन् ।
(लेखक हेटौंडा–६, चौघडास्थित वंशगोपाल माविका प्रधानाध्यापक हुनुहुन्छ ।)