हेटौँडा : बागमती प्रदेशको सहकारी तथा गरिवी निवारण मन्त्रालयले विचौलियाको नियोजित र दुष्प्रवृत्तिका कारण मन्त्रीको स्वकीय सचिवको मृत्यु भएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सहकारीको गिरोह र विचौलियाको अपेक्षा अनुसार मन्त्रालय र कर्मचारीहरुलाई प्रभावित पार्न नसकेपछि उक्त अडियो सार्वजनिक गरेर मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको रवि थापाको मृत्यु भएको जनाएको हो ।
उक्त घटनामा संलग्नहरुको कुत्सित स्वार्थको मन्त्रालय घोर भत्सर्ना समेत गरेको प्रवक्ता कुमार तामाङले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा भनिएको छ । उहाँका अनुसार मन्त्रालयले गरेको निर्णयलाई कमजोर बनाउन विभिन्न माध्यमबाट समाचार र अडियो सार्वजनिक गरी मन्त्रालयका पदाधिकारीलाई आर्थिक प्रलोभन तथा प्रभाव पार्ने काम भएको छ ।
‘सुमेरु सहकारीका कारवाहीउपर भएका निर्णयलाई कमजोर बनाउन प्रकाशित समाचार तथा सार्वजनिक अडियो अनुसार सम्बन्धित पदाधिकारीहरुलाई आर्थिक प्रलोभन तथा प्रभावमा पार्न खोज्ने कार्य भएको देखिन्छ’, विज्ञप्तीमा उल्लेख छ, ‘त्यसउपर गिरोह तथा विचौलियाहरुले अपेक्षित रुपमा प्रभावित पार्न नसकेपछि प्रारम्भिक घटनाक्रम अनुसार माननीय मन्त्रीज्यूको सचिवालयको स्वकीय सचिव बिदामा बस्नु, लगत्तै अडियो प्रकरण सार्वजनिक हुनु र निज स्वकीय सचिव कार्यालयमा नफर्कदै सुसाइट नोटसहित मानवीय क्षति हुनुले यो घटना विचौलियाहरुको नियोजित र दुष्प्रवृत्तिको उपजको रुपमा देखिन्छ ।’
उक्त विषयमा थप अनुसन्धान र छानविन भइरहेकाले संलग्नहरु उपर नियमानुसार कानूनी कारवाही हुने र आर्थिक लेनदेनको कार्यमा मन्त्रालयबाट अन्य कुनै पदाधिकारी तथा कर्मचारी संलग्न नरहेको उहाँले बताउनुभयो । मन्त्रालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा (१) मा निहित अवस्थाहरु उक्त सहकारी संस्थामा विद्यमान रहेको देखिएको हुनाले सोही ऐनको उपदफा (२) बमोजिम सुमेरु बचत तथा ऋण सहकारी संस्था, ललितपुरलाई २०८१ पुस २८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार समस्याग्रस्त घोषणा गरेको उहाँको भनाई छ । मन्त्रालयको कारवाहीउपर चित्त नबुझी सो सहकारी संस्थाका सञ्चालकहरुले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हाल विचाराधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
उक्त सहकारीबाट ८४८ जना बचतकर्ताहरुको उजुरी तथा गुनासो मार्फत् २ अर्ब २५ करोड १४ लाख रुपैयाँ माग दावी रहेको प्रवक्ता तामाङले बताउनुभयो । बचतकर्ताहरुको निक्षेप फिर्ता गर्ने सम्बन्धमा उक्त संस्थासँग पटक–पटक पत्राचार, छलफल र ताकेता भएपनि बचतकर्ताको निक्षेप फिर्ता सम्बन्धी कार्ययोजना पेश हुन नसकेको उहाँको भनाई छ ।
बचतकर्ताहरुको बचत रकमको सुरक्षा प्रत्याभूतिका लागि मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । सो पश्चात सो सहकारीका केही गिरोह तथा विचौलियाहरुले मन्त्रालय तथा कर्मचारीहरुलाई विवादमा मुछ्न तथा घटनालाई अतिरञ्जित गर्नका लागि विभिन्न भ्रामक प्रचारबाजी गरेको उहाँले दावी गर्नुभएको छ ।