स्थान: हेटौंडा -४ कमलडाँडा
समय: शनिबार दिउँसो १ बजे
पात्रहरु: सुष्मा, अश्मिता, गुरु,रवि
(सुष्मा र अश्मिता दुबै जना एउटै कक्षामा अध्ययन गर्छन्। कोरोना महामारिको बढ्दो प्रकोपले गर्दा उनीहरुको अनलाइन पठाइ सुरु भएको छ। अनलाइन पढ्न अल्छी लागेर सुष्मा अश्मिताको घर जान्छे।)
सुष्मा: (घरको घण्टी बजाउँदै)आश्मिता, ए अश्मिता…कता गइछे ? (मनमनै)
अश्मिता: (चकित हुँदै )ओहो सुष्मा, तिमी यहाँ कसरी ?हाम्रो अनलाइन कक्षा नै सकिएको छैन त ?
सुष्मा: मलाई त अत्ति नै अल्छी लाग्यो भन्या। ह्या कत्ति एकोहोरो मोबाइल मात्र हेरिरनु,मेरो त टाउको नै दुखी सक्यो।त्यही भएर तिमी कहाँ आएकी नि।
अश्मिता: अनि तिम्रो घरबाट आउन दिनु भयो त ?पढाइ छ भन्नी थाहा भएर पनि ।
सुष्मा: कहाँ दिनु नि, म त आमा बुबाको आँखा छलेर आको नि,आजलाई कक्षा सकियो भनेर।
अश्मिता: धत्! तिमीले यस्तो नगर्नु पर्ने, हाम्रा आमा बुबालाई हामी माथि कत्ति आशा छ,कत्ति भरोसा छ, नि हामी भने यसरी आमाबुबाको आँखामा छारो हाल्ने काम गर्ने,भोलिपर्सि दु:ख पाउने हामीले नै हो फेरि हैन र?
सुष्मा: हो त नि, है। मैले त ख्याल नै गरेकी रहिन छु । म किन पागल भएकी होला।आमा बुबालाई छलेर मैले आफ्नै खुट्टामा बन्चरो पो हानी रहेकी रहेछु । धन्न तिमीले मेरो आँखा बेलैमा खोलिदियौ।
अश्मिता: ल अब भित्रआऊ सँगै बसेर पढौँ ।
(दुबै सँगै बसेर पढ्न थाल्छन् ।)
सुष्मा: (दिक्क मान्दै) हेर न अश्मिता,मेरो नेट ढिलो चलेको हो कि गुरुको हो? अड्केको अड्क्यै छ त।
अश्मिता: अँ, मेरोमा नि त्यस्तै आइरहेको छ।सयद गुरुकै नेटमा समस्या होला।
सुष्मा: घरी पढाइको बिचमा लाइन जान्छ, घरी गुरुको नेटमा समस्या आउँछ,घरी हाम्रो नेटमा समस्याआउँछ,यसरी त हाम्रो पढाइ कसरी राम्रो हुन सक्छ र ?
अश्मिता: (गालामा हात लाउँदै) साथी अब त हाम्रो पढाइ डामाडोल हुने भयो है ।
(दुवै जना जसोतसो अनलाइन कक्षा पढिरहेको बेलामा एउटा विद्यार्थी अनौठो नाम राखेर कक्षामा प्रवेश गर्छ।)
सुष्मा: हा… हा … हेर न आश्मिता हाम्रो कक्षामा यो “पब्जी” नाम राखेर को पो आको रहेछ।
अश्मिता: एक त, नेटको कारणले पढाइ उस्तै, ढिलो भइ रहेको छ त्यसै माथि यस्तो उट्पट्याङ नाम राखेर कक्षा डिस्टर्ब गर्न को आको होला फेरि ?
सुष्मा: त्यही त, अस्ति पनि ” डन ” नाम राखेर को पो कक्षामा प्रवेश गर्या थियो।
अश्मिता: मलाई त किन हो किन यो रविको काम हो जस्तै लागि रहेको छ। किनकि रवि कहिले कक्षामा उपस्तिथि हुँदैन ।उपस्तिथि भै हल्यो भने पनि नानाभातिको कुरा गरेर कक्षामा डिस्टर्ब गर्छ।
सुष्मा:अँ है,हेर त अहिले पनि कक्षामा रहिन छ रवि।पक्कै यही नै हुनु पर्छ। अब त यसको बारेमा गुरुलाई उजुरी गर्नै पर्यो ।
(दुबैले गुरुलाई उजुरी गर्छन् )
गुरु: रवि, भिडियो अन गर त।
(यति भन्ना साथ रवि आफ्नो नाम राखेर कक्षामा आउँछ)
रवि: हजुर गुरु, म येतै छु त।
गुरु: तैले मलाई हैन आफैलाई ठग्दै छस्। तेरो आउने भविष्यलाई छल्दैछस् । आफ्नो आमाबाबुलाई छल्दैछस् । हेर् बाबु, त यति ठूलो भैसकिस् अब पनि नसुध्रिएर कहिले सुध्रिन्छस् हँ? अब पनि सुध्रिनस् भने तेरो भविष्य अन्धकार हुने छ । बेलैमा होस् गर् है ।
रवि: मलाई माफ गरिदिनु गुरु।अब म यस्तो काम कहिले गर्दिनँ । मैले ठूलो गल्ती गरेको रहेछु।मेरो आँखा खोलिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद।आजबाट म गेम पनि खेल्दिनँ अनि कक्षामा सधैं उपस्थित पनि हुन्छु।
अश्मिता: बल्ल यो रवि ठिक ठाउँमा आयो।अब हामी पनि आनन्दले पढ्न पाउछौँ ।
(सबै जना अब कक्षामा ज्ञानी भएर आफ्नो पढाइलाई निरन्तरता दिन थाल्छन् । तर केही बेरपछि झ्याप्प लाइन जान्छ । अब यो समस्य कस्ले समाधान गर्ने?)