कृष्ण प्रसाद हुमागाई, अध्यक्ष कुर्ले कृषि सहकारी संस्था मकवानपुरगढी-२

जिल्लाको मकवानपुरगढी गाउँपालिकाको २ नम्बर वडामा अवस्थित कुर्ले कृषि सहकारी संस्थाले आइतबारबाट हेटौंडा २ मा मकवानपुरगढी कृषि उपज बिक्री कक्ष सञ्चालन गरेको छ । तरकारी उत्पादनको राम्रो स्थान मानिने गढी गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको तरकारी हेटौंडा बजारसम्म ल्याएर बेच्न समस्या झेल्दै आउनुपरेको र कृषकले तरकारीको उचित मूल्यसमेत नपाउने समस्या अन्त्य गर्न बिक्री कक्ष सञ्चालन गरिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद हुमागाईंले जानकारी दिनुभयो । यसै सन्दर्भमा समृद्ध समाजका संवाददाता आरबी पौडेलले कुर्ले कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद हुमागाईंसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ः

समाजः कृषि उपज बिक्री कक्ष स्थापना गर्नुभएको छ, यसको मुख्य उद्देश्यहरु के–के हुन् ?
हुमागाईंः कृषकहरु र उपभोक्ताबीचको अन्तरलाई न्यूनीकरण गर्नका लागि कृषकहरुबाट उत्पादित कृषि उपजहरु सरल र सर्वसुलभरुपमा उपभोक्ताको बीचमा पुर्‍याउने नै हाम्रो मुख्य उद्देश्य हो ।

समाजः यसका लागि के–कस्तो कामहरु गरिरहनुभएको छ ?
हुमागाईंः पहिलो चरणमा उत्पादन गर्ने कृषकहरुबीच हामीले समन्वय गर्दैछौं । उत्पादन भएका तरकारीदेखि अनाजहरु कृषकसँग सिधै सम्पर्क गर्दै ती सामानहरु बजारको मूल्यअनुसार उनीहरुसँग किनेर उपभोक्तामाझ लग्दा उत्पादक र उपभोक्तालाई सरल पर्ने गरी पहल गरिरहेका छौं ।

समाजः गाउँपालिकाको २ नं. वडामा रहेको यस सहकारी संस्थाले पालिकालाई नै कसरी समेट्नु भएको छ ?
हुमागाईंः खास भन्नुपर्दा हामीले पालिकाको सबै ठाउँलाई समेट्न सकिरहेका छैनौं । सुरुवाती समय भएकाले आजको दिनमा कुर्ले क्षेत्र, धमिले क्षेत्र र मक्रान्चुली आसपासका उत्पादित वस्तुहरुलाई समेटेर हामीले पसल सञ्चालन गरेका छौं ।

समाजः कृषि क्षेत्रमा लागेर कृषि उपज उत्पादन गरिरहनु भएकाहरुलाई समेट्नका लागि प्रचारप्रसारहरु के–कस्ता योजना रहेका छन् ?
हुमागाईंः गाउँपालिकाका जनप्रतिनिधि, वडाका जनप्रतिनिधि तथा कृषि प्राविधकहरुसहितको छलफल तथा योजनाहरु बनाएर पालिकाका सबै वडामार्फत् हाम्रा सुविधाहरु कृषकलाई जानकारी गराउँदै सबैलाई यस कार्यक्रममा आबद्ध गराउने योजनामा छौं ।

समाजः यसबाट पालिकाका कति परिवारले लाभ प्राप्त गर्नुहुन्छ ?
हुमागाईंः तत्कालको अवस्थामा भन्ने हो भने हामी सुरुको चरणमा छौं । त्यसैले गर्दा हाल वडा नं. २, ३, ४ का सबै घरधुरीहरुलाई समेट्दै अगाडि बढ्ने योजना बनाइरहेका छौं । त्योसँगै वडा नं. ५ र ६ नजिकै भएकाले यो वडा हुँदै १, ७ र ८ लाई पनि समेट्ने योजना बनाइरहेका छौं ।

समाजः अन्य थप योजनाहरु के–के छन् ?
हुमागाईंः हामीलाई यस कार्यक्रमका लागि गाउँपालिकाबाट ५ लाख रुपैयाँ अनुदान सहयोग भएको छ । यस्तै पालिकामा उत्पादित तरकारी, अनाज, फलफूललगायतका वस्तुहरुलाई समेटेर कृषकहरुलाई राहत दिने उद्देश्यका साथ यो कार्यक्रम गर्न पालिकाले आह्वान गरेको अवस्थामा सो कार्यक्रम हामीले गर्न सफल भएका छौंं । हामीले कार्यक्रम गर्दा कृषकबाट खरिद गर्ने अनाजमा पालिकाले कृषकलाई र सहकारीलाई २÷२ रुपैयाँ प्रतिकिलो गरी ४ रुपैयाँ प्रतिकिलो अनुदान दिएको छ । सो कार्यक्रमलाई पनि समेटेर अगाडि बढिरहेका छौं ।

समाजः ४ रुपैयाँ अनुदानको विषयमा प्रष्ट पारिदिनुस् न ।
हुमागाईंः कृषकले उत्पादन गरेको अनाजलाई सहकारीले खरिद गर्छ । र सहकारीले स्थानीयस्तरमा र बजारमा बिक्री गर्ने गर्छ । कृषकलाई उत्पादन गरी सहकारीमा नै बेचेबापत र सहकारीले खरिद गरेर अन्यत्र बिक्री गर्दा प्याकिङ, काँटालगायतमा आउने खर्चबापत सो अनुदान प्राप्त हुन्छ ।

समाजः यसको अर्थ कृषकसँगको खरिद मूल्य र उपभोक्ताको खरिद मूल्य बराबरजस्तै हुने भयो कि के हो ?
हुमागाईंः उपभोक्तालाई हामीले खरिद मूल्यमा नै प्रदान गर्न सक्छौं । तर धेरै उत्पादन भएर धेरै जम्मा भएको अवस्थामा खरिद गरेर धेरै समय राख्नुपर्ने हुन्छ । जसकारण तौल घट्ने, कहिलेकाहीँ किरा तथा मुसा लाग्ने हुँदा केही मूल्य बढ्न जान्छ ।

समाजः तरकारीहरु बिक्री गरिरहँदा कृषकसँगको खरिद मूल्य र बिक्री मूल्यमा कत्तिको अन्तर राख्नुभएको छ ?
हुमागाईंः खरिद मूल्य र बिक्री मूल्यमा हामीले खासै अन्तर राखेका छैनौं । चाँडै बिग्रने तरकारीमा भने १५ देखि २० प्रतिशत बढाएर राख्नुपर्ने हुन्छ । मुनाफा नभएपनि सेवा पुर्‍याउने उद्देश्यले अगाडि बढिरहेका छौं ।

समाजः कर्मचारी कतिजना राख्नुभएको छ ?
हुमागाईंः अहिले १ जना कर्मचारीबाट नै सञ्चालन गरेका छौं । आवश्यक परेको खण्डमा कर्मचारी थप गर्नेछौं । साथै तरकारीमात्र बिक्री गरेर कर्मचारीलाई सेवासुविधा दिन सम्भव छैन । तसर्थ हामीले किराना सामानको पसलसमेत सँगै सञ्चालन गरेका छौं ।

समाजः हेटौंडामा पसल सञ्चालन भइरहँदा हेटौंडाबासीले के–कस्ता सेवासुविधा प्राप्त गर्नसक्छन् ?
हुमागाईंः हेटौंडाबासीलाई नै बढी सुविधा हुने हामीले सोच बनाएका छौं । हाम्रो तरकारीहरु गाउँमा मात्र खपत नहुने हुँदा हेटौंडामा पसल सञ्चालन गर्नुपरेको हो । जसले गर्दा पनि गाउँमा उत्पादन भएका ताजा अनाज, तरकारीहरु हेटौंडाबासीले उपभोग गर्न पाउँछन् ।

समाजः कृषि क्षेत्रमा गाउँपालिकाले के–कस्ता कामहरु गरिरहेको छ ?
हुमागाईंः अहिलेका जनप्रतिनिधि आउनु भएपछि पालिकाले कृषि क्षेत्रमा उपलब्धिमूलक कार्य गरेको छ । छोटो समयमा सहकारीले पालिकामार्फत् विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । हामीलगायत अन्य कृषि क्षेत्रमा पनि पालिकाले सहयोग दिँदै आएको छ । साना सिचाईंअन्तर्गतका कुलो निर्माण, अनाज खरिद बिक्री अनुदान, अनुदानमै ठूलो ट्याक्टर तथा हरेक वर्ष साना ट्याक्टरहरु प्रदान गर्दै आएको छ । यस्तै पालिकाले फलफूल, तरकारी खेती गर्न टनेल बनाउन बजेट छुट्याउने गरेको छ ।

समाजः सहकारीले कृषि क्षेत्रको लागि गरिरहेको अन्य कामहरु बताइदिनुस् न ।
हुमागाईंः सहकारीले कृषकहरुलाई समेट्दै उनीहरुको समस्या पहिचान गर्दै समाधान गर्न सक्ने सहकारीले नै समाधान गर्दै आएको छ । हामीले नसक्ने समस्याहरु पालिका, जिल्ला, प्रदेश हुँदै संघीय तहसम्म पहल गर्ने गरेका छौं । तर हालसम्म प्रदेश तहसम्मको मात्र अनुदान प्राप्त गरेका छौं ।