डा. सृष्टि श्रेष्ठ प्रमुख, नारायणी अञ्चल आयुर्वेद औषधालय, हेटौंडा

नारायणी अञ्चल आयुर्वेद औषधालय हेटौंडाले बिहीबार अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको छ । अर्धवार्षिक समीक्षाका क्रममा अञ्चल आयुर्वेद औषधालयका साथै मातहतका औषधालय तथा आरोग्य सेवा केन्द्रले गरेका कार्यहरु तथा आइपरेका समस्याका बारेमा छलफल गरिएको छ । आयुर्वेद औषधालयले दिने गरेको सेवा, औषधालयका समस्या तथा भावी योजनाबारे नारायणी अञ्चल आयुर्वेद औषधालयकी प्रमुख डा. श्रृष्टि श्रेष्ठसँग समृद्ध समाज दैनिकका तर्फबाट गरिएको कुराकानीको सम्पादित अंश ।

समाजः कोभिडको यो समय अझै चुनौतीपुर्ण बन्दै गइरहेको अवस्थामा नारायणी अञ्चल आयुर्वेद औषधालयको उपचार पद्दतिलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

श्रेष्ठः कोभिडको अहिलेको अवस्था दिन प्रतिदिन झन बढ्दै गइरहेको छ । अब हामीले आफूहरु पनि सावधानी अपनाएर सकेसम्म मास्क लगाउने, सेनिटाइजरको प्रयोग, हात धुने र सकेसम्म सामाजिक दुरी कायम गर्ने गरिरहेका छौं । साथै बिरामीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउने र बिरामीहरुलाई प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्दै आएका छौं ।

समाजः बिहीबार मात्र तपाईंहरुको अर्धबार्षिक समीक्षा भयो । यो समीक्षा कार्यक्रमको उपलब्धिचाहिँ के हो ?
श्रेष्ठः हामीले गरेका गतिविधिमा के–कस्ता समस्याहरु आए, कस्तो रह्यो र त्यसलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्ने बारेमा छलफल भयो । स्थानीय तहअन्तर्गतका आयुर्वेद संस्थाहरुर्का गतिविधि, समस्याहरुबारे छलफल गरियो । स्थानीय तहसँग हामीहरुले कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि समीक्षा गरिएको छ । साथै, आगामी आर्थिक वर्षमा आयुर्वेद उपचार पद्दतिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा छलफल गरिएको छ । यो छलफलबाट आगामी दिनमा आयुर्वेदिक उपचार सेवा अझ राम्ररी बढ्छ भन्ने विश्वास बढेको छ ।

समाजः सर्वसाधारणको आयुर्वेद उपचारप्रति कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

श्रेष्ठः आयुर्वेद उपचारप्रति जनमानसमा विस्तारै सकारात्मक सोच बढ्दै गएको छ । विशेषगरी कोभिड कालपश्चात् आयुर्वेदिक उपचार पद्दति र औषधिहरुको बारेमा जानकारी व्यापक भएको छ र यसप्रति विश्वास पनि बढेको पाइन्छ । मानिसहरु सबैले आयुुर्वेदले राम्रो गर्‍यो, आयुर्वेद पनि एउटा उपचार पद्दति रहेछ भन्ने प्रतिक्रिया पाइरहेका छौं । धेरै मानिसले यसलाई विस्तारै आफ्नो जीवनशैलीमा प्रयोग गर्दै आएका छन् ।

समाजः तपाईंहरुले जिल्लामा यो सेवा कसरी प्रदान गरिहनुभएको छ ?

श्रेष्ठः हाम्रो कार्यलयबाट हामीले बिरामी जाँच गर्ने र औषधि वितरण गर्ने गर्छौं । त्यस्तै हामीसँग ल्याव सेवा, फिजियोथेरापी सेवा छ । दैनिक बिहान योग गर्ने र पञ्चकर्म र पूर्वकर्म आयुर्वेद पद्दतिबाट उपचार गराउने गरेका छौं । क्षारसूत्र र स्तनपायी आमाहरुका लागि दूध गन्धक औषधि वितरण गरिरहेका छौं ।

समाजः आयुर्वेद औषधालयले गर्ने बिरामी जाँच र ल्याबको सेवाहरु निःशुल्क हो ?
श्रेष्ठः हाम्रा यी सबै उपचार सेवा, ल्याबको सेवा तथा थेरापी सेवाहरु अहिलेसम्म निःशुल्क नै छ ।

समाजः औषधालयको आगामी योजनाहरुचाहिँ के छ ?

श्रेष्ठः नारायणी आयुर्वेद औषधालयले आफ्नो सेवा बिस्तारसँगै सेवाहरुलाई गुणस्तरीय बनाउन प्रयास भइरहेको छ । बढी भन्दा बढी मानिसलाई सहजरुपमा सेवा प्रदान गर्न हामी अग्रसर बनेका छौं । सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो योजना रहको छ । साथै आयुर्वेदका बारेमा जनचेतनामूलक कार्यक्रमहरुलाई वार्षिक कार्ययोजनामा समावेश गरेर कार्यान्वयन गर्ने उद्देश्य राखेका छौं ।

समाजः कोरोनाको समयमा आयुर्वेद औषधि एकदमै लाभदायक र प्रभावकारी मानिएको थियो । अहिले फेरि कोरोनाको दोस्रो लहर चलिरहको स्थिति अझ भयानक बन्ने संकेत देखिइरहेको अवस्थामा रोगप्रतिरोधात्मक क्षमता वृद्वि गर्ने के–कस्ता औषधिहरु वितरण गर्ने योजना छन् ?

श्रेष्ठः जो बिरामीहरु हाम्रो सम्पर्कमा आउनुभएको छ, उहाँहरुलाई चेतनामूलक जानकारी दिने र रोगप्रतिरोधात्मक औषधिहरु वितरण गर्ने गर्छौं । जसले रोगसँग लड्ने क्षमता बढाउँछ, त्यस्ता औषधि वितरण गर्ने गर्छौं । आइसोलेसन सेन्टरमा नै गएर कोरोना पोजेटिभ भएकाहरुलाई त्यस्ता औषधि वितरण गर्दै आएका थियौं र फेरि त्यस्तो अवस्था आए वितरण गर्छौं । अहिलेचाहिँ हामीले औषधालयको ओपीडीबाट नै औषधिहरु वितरण गर्दै आएका छौं । आयुर्वेद विभागले अहिले कोभिडमा के गर्ने भन्ने प्रोटोकल निकालेको छ, जसअनुसार नै हामीले काम गरिरहका छौं ।