विश्वव्यापी कोभिड महामारी फेरि बढ्दै गएको छ । विशेषगरी छिमेकी मुलुक भारतमा फैलँदै गएको महमारीको रापबाट नेपाल पनि प्रभावित भएको छ । गतवर्ष पूर्वतयारी नहँुदा समस्या खेप्नु परेको वास्तविकतालाई सरकार र सम्बन्धित निकायले नबिर्सिनुपर्ने हो । तर व्यवहार र तयारी हेर्दा विगतबाट अलिकति पनि पाठ सिकेको देखिँदैन । नेपालमा दोस्रो लहर भर्खर सुरु हुँदैछ । तर गतवर्ष भन्दा तिव्र गतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै सरकार र सम्बन्धित निकायहरुबाट नियन्त्रण, रोकथाम र उपचारको व्यवस्थापन हुन आवश्यक छ । रोग लागेर उपचार गर्नु भन्दा रोगबाटै बच्ने उपाय अपनाउनेतर्फको सजगता पहिलो प्राथमिकता हो ।
कोभिडविरुद्धको अभियान यतिबेला प्रचारमुखी मात्रै देखिएको छ । सरकारले कोभिडविरुद्ध निकै निर्णय गरेको छ । रोग लाग्न नदिने र लागेमा उपचार गराउन आवश्यक तयारी गर्न बजेटको कुनै अभाव नहुने सरकारी दावी छ । तर अस्पतालहरुमा गतवर्ष भन्दा कुनै भिन्न अवस्था छैन । गतवर्ष तयारी गरेका वा सञ्चालन गरिएका आइसोलेसन तथा क्वारिन्टीनहरुको अवस्था उस्तै छ । संक्रमण केही कम भएको अवस्थामा ती संरचनाहरुलाई सुदृढ गर्ने, मर्मत वा व्यवस्थित गर्नतर्फ कसैको पनि ध्यान नगएकै हो । अब संक्रमण फेरि आउँछ भन्ने प्रकारले चिन्तन नै गरिएको थिएन । तर दोहोरिएपछि हस्याँङफस्याँङ गर्दै संरचनाहरुको अवलोकन गर्नेसम्मको काम सुरु भएका छन् । मर्मत र तयारी कहिले हो, तर बिरामीलाई उचारको खाँचो परेको छ ।
सरकारले जारी गरेका स्वास्थ्य मापदण्डहरु उल्लंघन गर्ने होड नै चलेको छ । यो दौडमा सबैभन्दा पहिला मन्त्रिपरिषद्का सदस्यहरु नै छन् । आम नागरिकलाई २५ जनाभन्दा बढीको भिड नगर्न निर्देशन जारी गर्ने प्रधानमन्त्रीबाटै आफ्नै निवासमा हजारौं मानिसलाई बोलाएर कार्यक्रम गर्ने र सवारीको ¥याली गराउने काम भएको छ । के संक्रमण सरकारी मन्छेहरुबाट परै रहने हो वा नीति र नियम बनाउनेले चाहिँ मान्नु नपर्ने हो भन्ने प्रश्न उठेको छ । दलहरुले पनि आफ्ना राजनीतिक गतिविधिहरु रोकेको अवस्था छैन । विरोध र समर्थनका भेला, आमसभा गोष्ठी, जो २५ जनाभन्दा बढीको सहभागी हुन्छ, रोकिएको देखिएको छैन । नियमहरु मजदुरी गर्ने, सानो व्यवसाय गर्ने वा सर्वसाधारणलाई मात्र हो कि ?
कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड सरकारका लागि मात्र हैन । तर निर्णयकर्ताले पहिला पालना गर्नै पर्दछ । त्यस्तै नागरिक पनि सचेत नहुने हो भने अघिल्लो वर्षको भन्दा संक्रमण दर तिव्र भएको र जोखिम पनि बढी भएको दोस्रो लहरबाट नेपालले ठूलो क्षति सहनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । यही चिन्ताका बीच बैशाख मसान्तसम्मका लागि देशका ४० शहरमा विद्यालय बन्द भए पनि यसको प्रभाव देशभर पर्ने स्पष्ट छ । त्यसैले कोरोनाबाट भाग्ने भन्दा पनि होशियारी अपनाउँदै सँगसँगै बाँच्ने कला र उपाय अपनाउन जरुरी छ । तसर्थ स्वास्थ्य प्रोटोकललाई उल्लंघनमा होडबाजी गर्ने भन्दा परिपालनामा प्रतिस्पर्धा गर्नुपर्दछ ।