नेपालमा सबैभन्दा धेरै फस्टाएको पार्टी र कार्यकर्ता हुन् । अमेरिकामा चुनाव भयो । ठूलो फेरबदल भएन भने अबको ८ वर्ष राजनीति सुन्न पनि पाइँदैन । यो ८ वर्ष अमेरिकामा उत्पादन, प्रगति, वृद्धि र विकासका क्षेत्रबाहेक अन्य कहिँ कतै राजनीतिको नाममा प्रतिस्पर्धा हुँदैन । हाम्रो ओली दुईतिहाइको प्रधानमन्त्री भएको दिनदेखि आजसम्म खुरापाती, सरकार ढल्दैन–ढल्दैन, बिग्रह, भ्रष्टाचारबाहेक एक दिन राम्रो सुन्न पाइएको छैन । स्वार्थ र सत्ताको चरम महत्वाकांक्षाले पार्टी बिग्रहदेखि व्यथितिले इतिहासमा नाम दर्ज गरायो । प्रश्न हो– ह्वाट वाज द मिस्टेक इन ओली पपुलारिटी ?
छोटो आयु लिएर जन्मिएको नेकपा अवैध सन्तानको रूपमा चरितार्थ हुन पुग्यो । सम्मानित सर्वोच्च अदालतको स्वघोषित निर्णयले दुबै पार्टीलाई सिताङ्ग बनाइदियो । केहि छिट्पुट उतारचढावबाहेक सबै आ–आफ्नै थन्कामा बस्न बाध्य बनायो । पार्टीभित्रका गुट उपगुट हाइड्रोजन र अक्सिजनमा समेत विभाजन हुने सम्भावना रहेन । एकैपटक एउटा निर्णयले माओवादी पक्ष पानी र एमाले पक्ष पानीको रुप धारण गर्न पुगे ।
पार्टी विभाजन कम्युनिष्टहरुको लागि नारकीय घटना थियो । पार्टी एकता पवित्रमात्र थिएन, ऐतिहासिक पनि थियो । एकताले प्रधानमन्त्री निकटलाई अवसरको माला लगाउने अतिरिक्त नयाँ सन्देश दिन सकेन । पार्टी एकताले कम्युनिष्टहरुलाई दुईतिहाइ नजिक सत्तासिन बनाइदियो ।
एकपटक तथ्यांकमा फर्केर हेरौं । एमालेले ३३ लाख र माओवादीहरुले १३ लाख गरी ४६ लाख समानुपातिक मत प्राप्त गरे । हरेक निर्वाचन क्षेत्रमा माओवादीको औसत उपलब्धि ३० प्रतिशत र एमालेको ७० प्रतिशत थियो । पार्टी एकता सम्भव नभएको भए एमाले पहिलो, कांग्रेस दोश्रो र माओवादी तेस्रो हुने अड्कलबाजी गर्न सकिन्छ । एकल प्रतिस्पर्धाले एमालेको १२१ सिट घटेर ८०–९०, माओवादीको ५२ बाट घटेर ४० सिट प्राप्त हुन सक्थ्यो । पहिलो पार्टी एमाले र तेस्रो पार्टी माओवादीको गठजोडले दोश्रो पार्टी कांग्रेसलाई नमजाले पछारिदियो । यदि कांग्रेस र माओवादीबीचको एकता सम्भव भएको भए एमालेको वस्तुगत उपलब्धि कांग्रेसको अवस्था ६२ रहने कुरा नकार्न सकिँदैन । एकताले समेत एमालेलाई १२१ सिट प्राप्त भयो तर पूर्ण बहुमत दिन सकेन । पार्टी एकताको नायक अध्यक्ष आफैं पार्टी विभाजन र एकता सीसा झैं चकनाचुर हुँदा बालुवाटारमा दोहोरी साँझ प्रतियोगिता हुनु विवेकशील सोचाइ होइन भन्ने प्रमाणित गर्छ । दुई भीमकाय कम्युनिष्ट पार्टीहरुको एकतादेखि विघटन अवधि छिर्के दाउमा बिते ।
लडाइँ पूर्वमाओवादी र एमालेको बीचमा थिएन । सत्य र असत्यको बीच लडाइँ थियो । प्रचण्ड कमरेडलाई नेकपाबाट परास्त नगरुञ्जेल पूर्वएमाले र माओवादीबीचको द्वन्द्वको रूपमा चित्रण गरियो । लडाइँ त्यतिमै सिमित थिएन । कम्युनिष्ट पार्टी विधि, पद्धति र पार्टी निर्देशित हुनु न्यूनतम शर्त हो । प्रचण्ड–माधव कमरेडले अन्याय परास्त गर्ने अन्तिम श्रेणीमा सर्वोच्च अदालतको प्रयोग गरियो । बाध्यताबस प्रचण्ड पूर्वमाओवादी हुनुपर्यो । नेकपा हाम्रो हो भन्दै कुर्लने अध्यक्ष ओली एकाएक एमाले मेरो पैत्रिक सम्पत्ति हो भन्न थाले । माधव कमरेड आयातीत र ओली एमाले आदिवासी भएको सिद्ध गर्न खोजियो । खोजिँदैछ ।
लडाइँ सूर्य चिन्हमा पनि होइन । सूर्य चिन्हमा जनताले मत जाहेर गर्ने पनि होइन । सूर्य, रुख, हँसिया हथौडा, अमेरिकामा गधा, हात्ती, भारतमा कमलको फूल, पञ्जा एउटा संकेतमात्र हो । इतिहासमा कहिल्यै पर्याप्त भोट नपाएको सूर्य चिन्हले यो पटक नेपाली जनताले कुन अपेक्षा र आस्थाले मत दिए बुझ्नु जरुरी छ । अधिकांश समय रुख चिन्हको वर्चस्व थियो । कुनै कालखण्डमा हँसिया हथौडाले करिब–करिब बहुमत प्राप्त गर्यो । सूर्य चिन्हमा परेको मत कम्युनिष्टप्रतिको आस्था र विश्वास हो । हामीले जति अपराध गरेपनि, जति भ्रष्टाचार गरेपनि अथवा जति सर्वाङ्ग भए पनि सूर्यमा भोट दिन्छन् भन्ने सन्देश दिन खोजियो । सूर्य चिन्ह देख्नेवित्तिकै मोहित भएर मत दिने अवस्था सृजना भए पनि दुःखेसो छैन ।
लडाइँ नेकपाको पनि थिएन । नेकपाबिना बाँच्न सकिँदैन भन्ने सन्देश सम्प्रेषण गरियो । अन्ततोगत्वा नेकपा एउटा नाममात्र रहेछ भन्ने प्रमाणित भयो । नेकपा प्राप्त गर्न ओलीले अन्तिम अस्त्र प्रयोग गरे । सम्भव भएन । नेकपा भएको भए पनि हाम्रो चुरिफुरी उहीँ हुनेथियो । अदृश्य शक्तिको प्रलोभनमा परेर सर्वोच्चले तीन वर्षअगाडि जन्मिएको अवैध नेकपा खारेज गरिदियो । अपवित्र भएपनि कम्युनिष्ट एकता ब्रेक हुनु कम्युनिष्टहरुको ठूलो हार हो । दोश्रो पुनः जन्मिएको एमालेमा विभाजनको रेखा कोरिनु अझ ठूलो महाभूल हो । तेस्रो कम्युनिष्टहरुमा नैतिक स्खलन हुनु अर्को पराजय हो । कम्युनिष्टहरु जनतामारा, भ्रष्ट, बेइमान हुन् भन्ने सन्देश जानु शोभनीय होइन ।
धर्मग्रन्थमा ठूलाठूला दानवहरु विनाश नहुँदासम्म कसैको अर्ती उपदेश ग्रहण गर्दैनथे । हामी कम्युनिष्टहरुको चरित्र फरक देखिएन । हाम्रो ओलीको औषधि संसारमै छैन । पुरानै शैली र झुठो आश्वासनले बहुमत प्राप्त गरी सत्तामा आशिन हुने सपना हामीले देखेका छौं । छिटपुट जित सम्भव होला । एकपछि अर्को गल्ती पुनरावृत्ति हुनु कम्युनिष्टहरुको हार्दिक श्रद्धाञ्जली हो कम्रेड । हाम्रो दैनिकी, व्यवहार, शैली, दृष्टिकोणले भ्रष्टिकरण अथवा अपराधीकरणलाई संकेत गर्छ । मलजल गर्छ । पक्षपोषण गर्छ ।